गुलरिया (बर्दिया), २७ कात्तिक । नेपाल सरकारका सिँचाई मन्त्री एवं नेपाली काँग्रेस बर्दिया क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार संजय कुमार गौतमले मतादातालाई आकर्षित गर्न बारबर्दिया नगरपालिका वडा नंं. ८ मा झुल वितरण गरेका छन् ।
उनले वडा नं. ८ को थानफेना, दुध्धा, बकलभार र वडा नं. ९ को कतर्नियामा आईबार राति झुल वितरण गरेका हुन् । एमालेका वरिष्ठ उपाध्यक्ष तथा बाम गठबन्धनका तर्फबाट बर्दिया क्षेत्र नं. १ को प्रतिनीधि सभा सदस्यका उम्मेदवार बामदेव गौतमलाई हराउनका लागि सिँचाई मन्त्री गौतमले झुल वितरण गरेको स्थानीय गोबिन्द थारुले बताए ।
बाढी पीडितको राहतका लागि आएको उक्त झुल सिँचाई मन्त्री गौतमले वास्तविक बाढी पीडितलाई नदिई आफूतिर मतदाता आकर्षित गर्न झुल वितरण गरेको स्थानीयहरुको भनाई रहेको छ । केही दिन अघिमात्रै गुलरिया नगरपालिकाको वडा नं. ११ को मोहम्मदपुर क्षेत्रमा सिँचाई मन्त्री गौतमले मालबाहक दुई ट्रक भित्र्याएका थिए । सो ट्रकमा के छ भन्ने कुरा अहिलेसम्म कसैलाईपनि थाहा हुन सकेको छैन । संकास्पद सामान पनि मतदातालाई नै बाँड्नको लागि भित्र्याइएको त्यहाँका स्थानीय बताउँछन । नाम नखुलाउने सर्तमा एकजना स्थानीयले भने, ‘ट्रकमा के छ भन्ने हामीलाई नै थाहा छैन । तर चुनावमा नेता सञ्जयलाई जिताउनका लगि भनेर तपाइहरुलाई दिन भनि ल्याईएको केही सामान छ भनेर एक जना काँग्रेसकै बाबुले भन्नु भयो ।’ बर्दियामा सिँचाई मन्त्री गौतमले यसरी जनताको घरदैलोमा गई नगद र जिन्सी सामाग्री बाँडेर निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेका छन् ।











प्रतिक्रिया