काठमाडौं, २७ कात्तिक । कास्कीमा जातीय पहिचानको मुद्दा उठाउने उम्मेदवारको बाक्लो प्रचार थियो, २०७० सालको चुनावताका । चोक र सडकमा अन्य दलको भन्दा जातीय, क्षेत्रीय मुद्दा उठाउने दलका पोस्टर, ब्यानर र माइकिङ बढी देखिन्थे । ‘तमुवान’ र ‘अखण्ड पश्चिम’ भन्ने दुई छुट्टाछुट्टै नारासहित आन्दोलन चर्किएको मुख्य केन्द्र कास्कीको दृश्य यो चुनावमा भने बदलिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
यसपालि जातीय, क्षेत्रीय मुद्दा उठाउनेहरू मत्थर देखिएका छन् । कांग्रेस र वाम गठबन्धनमै उनीहरूको विलय भएको छ । ‘स्थानीय तह र यो निर्वाचनमा जातीय सवाल ओझेलमा परेको छ । त्यसैले जातीय मतको प्रभाव यो निर्वाचनमा पर्लाजस्तो मलाई लाग्दैन,’ पृथ्वी नारायण क्याम्पसकी उपप्राध्यापक शान्ताकुमारी खत्रीले भनिन्, ‘सबै क्षेत्र र वर्गका मतदाता आफ्नै मोर्चामा बाँधिइरहेका छन् । संगठित भइसकेका छन् ।’
बहालवाला मन्त्री यज्ञबहादुर थापा कांग्रेस र वाम गठबन्धनका युवा नेता रवीन्द्र अधिकारीसम्म यहाँ प्रतिस्पर्धामा छन् । कास्की १ मा मन्त्री थापासँग एमाले नेता पूर्वमन्त्री खगराज अधिकारी भिडदै छन् । २ मा दुई पटक लगातार सांसद जितेका एमालेका युवा नेता अधिकारीसँग पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् कांग्रेसका देवराज चालिसे । ३ मा एमालेका जगत विश्वकर्मासँग कांग्रेसका पुराना नेता शुक्रराज शर्मा प्रतिस्पर्धामा छन् ।
विगतमा मिश्रित परिणाम आउने गरेको कास्कीमा यस पटक पनि स्पष्ट तस्बिर देखिइसकेको छैन । ‘यस पटक जातीय मतले त्यति प्रभाव पार्दैन । ठूला पार्टीका आफ्ना भोट बैंक सुरक्षित नै हुन्छन्,’ राजनीतिकशास्त्रका प्राध्यापक पदमशरण रेग्मीले भने, ‘सहरी मत अस्थिर हुने गर्छ । त्यसैले नयाँ मतदातालाई आकर्षित गर्नेले परिणाम आफ्नो पक्षमा पार्न सक्छन् ।’
कास्कीमा सहरी मतदाता बढी रहेकाले उनीहरूलाई प्रभावित पार्न दुवै गठबन्धनको प्रचार बलियो छ । मत आफ्नो पक्षमा पार्न स्थानीयदेखि राष्ट्रिय राजनीतिका मुद्दासमेत उम्मेदवारहरूले प्रचार गरिरहेका छन् । ‘मुलुकलाई स्थिर सरकार दिएर कास्कीलाई प्रदेश ४ को केन्द्र र पर्यटकीय राजधानी बनाउन वामपन्थी गठबन्धनले मात्र सक्छ,’ एमाले युवा नेता अधिकारीले भने, ‘त्यसैले सबै क्षेत्रमा हामीलाई जनताले जिताउँछन् भन्ने विश्वास छ, विगतको परिणामका आधारमा पनि जित सुनिश्चित छ ।’












प्रतिक्रिया