कपिलवस्तु , २६ कात्तिक । कपिलवस्तु को क्षेत्र नं. १ का काँग्रेसको तर्फ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्याय विरुद्ध आचारसंहिता उलङ्घन गरेको भन्दै उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृतका कार्यालय कपिलवस्तुमा आइतबार उपाध्याय विरुद्ध उजुरी परेको हो ।
उपाध्यायले निर्वाचन आयोगको निर्देशन विपरित ठूला–ठूला होर्डिङ बोर्ड सार्वजनिक स्थलहरुमा झुण्डयाएको भन्दै उजुरी परेको छ । कपिलवस्तु नगरपालिका बस्ने विक्रम बढई तथा रामसुभग चाईले संयुक्त रुपमा आचारसंहिता विपरित कार्य गरेको भन्दै उजुरी दर्ता गराएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा २ नम्बरमा दर्ता गरिएको कार्यालयले जनाएको छ ।
यस्तै जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद खनाल विरुद्ध पनि आचारसंहिता उलङ्घन गरेको भन्दै उजुरी परेको छ । शनिबार बुद्धबाटिका नगरपालिका वडा नम्बर ८ स्थित पचिगवा गाँउमा नेपाली काँग्रेसको निर्वाचन प्रचार अभियान कार्यक्रममा सहभागी हुन लु १ झ ३४२ नम्बरको सरकारी गाडी दुरुपयोग गरेको भन्दै उजुरी परेको छ । स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा समेत यसबारे समाचार प्रकाशित भएको भन्दै कपिलवस्तु नगरपालिका ४ बस्ने मिलन उपाध्यायले उजुरी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले सार्वजनिक स्थलमा प्रचार सामाग्री राख्न नपाइने, १ रंगमा मात्र पर्चा पम्पलेट प्रकाशन तथा वितरण गर्न पाइने निर्वाचन आचारसंहिता जारी गरेको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख ज्ञानहरी घिमिरेले रंगिन पर्चा पम्पल्ेट सार्वजनिक स्थलमा राख्नु निर्वाचन आचारसंहिता विपरित भएकोले त्यसमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कारवाही प्रक्रिया अघि बढाउने बताए ।
त्यसका लागि स्थलगत रुपमा अनुगमन गर्ने, आचारसंहिता उलंघन भएको अवस्थामा होर्डिङ बोर्डहरु हटाउन निर्देशन दिने र अटेरी गरे कानूनी प्रावधान अनुसार १ लाख सम्म जरिवाना वा उम्मेदवारी बदर वा दुबै हुन सक्ने घिमिरेले बताए । सरकारी सवारी साधन निर्वाचन गतिविधीमा प्रयोग गर्नु नै आचारसंहिता विपरित भएको हुँदा यसबारे जिसस प्रमुख खनालसँग स्पष्टिकरण सोधिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार आचारसंहिता उलङ्घन विरुद्ध अहिले सम्म २ वटा उजुरी परेको छ ।











प्रतिक्रिया