काठमाडौं, २६ कात्तिक । नेपाल प्रहरी अस्पतालको सेवा बिस्तार योजना अनुरुप आइतबारबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा शुरु गरिएको छ ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरी अस्पतालमा आयोजित एक समारोहबीच उक्त सेवाको शुभारम्भ गर्नुभयो । नेपाल सरकार मन्त्रिपरिषद्को २०७४ जेठ ४ गतेको निर्णयानुसार नेपाल प्रहरी अस्पतालबाट सर्वसाधारण समेतका लागि सेवा प्रदान गर्ने निर्णय बमोजिम सेवा शुभारम्भ भएको हो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले बिस्तारित क्लिनीक, प्याथोलोजी ल्याव तथा इमरजेन्सी बिभागको अवलोकन गर्नुको साथै अस्पताललाई सहयोग गर्ने महानुभावहरुलाई प्रशंसापत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार बितरण समेत गर्नुभयो ।
प्रहरी महानिरीक्षक अर्यालले उक्त अवसरमा नागरिकका संविधान प्रदत्त हक अधिकारको सम्बर्धन र संरक्षणलाई नेपाल प्रहरीले प्राथमिकतामा राखेको बताउदै सर्वसाधारणका लागि समेत लाभ पुग्नेगरी भएको सेवा बिस्तारले नेपाल प्रहरीको प्रतिबद्धातालाई थप प्रष्ट पारेको उल्लेख गर्नुभयो ।
सुरक्षा र अपराध नियन्त्रणसंगै स्वास्थ्य क्षेत्र मार्फत नेपाल प्रहरीले आम जनसमुदायसंगको सम्बन्धलाई थप प्रगाढ बनाउने मौका प्राप्त भएको बताउदै उहाँले भन्नुभयो यो सम्बन्धलाई अझ विश्वासिलो र भरपर्दो बनाउने भन्ने गहन जिम्मेवारी अस्पतालका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरी कर्मचारीहरुको कार्यशैली र व्यवासायिकतामा निर्भर रहन्छ ।
प्रहरी महानिरीक्षक अर्यालले अस्पतालले दिने सेवा प्रभावकारी बनाउन हरेक स्वास्थ्यकर्मीको भूमिका पनि त्यतिकै महत्वपूर्ण हने हुदाँ बिरामीहरुको उपचार, हेरचाह र व्यवहारमा सबैबाट व्यावसायिक सेवाभावका साथ सेवा प्रवाह हुनेमा आफु विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक अर्यालले अस्पतालको सेवा विस्तारले समग्रमा प्रहरी र नागरिक बीचको सम्बन्ध थप प्रगाढ र आत्मिय बनाउने विश्वासका साथ योजनाको सफलताको शुभकामना समेत दिनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेश चन्द्र पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुहुदै सर्वसाधारणको लागि ओपिडि सेवा १ः३० बजेदेखि ३ः०० बजेसम्म हुने,न्यूरो र मुटुका अप्रेशन र अति जटिल केश बाहेक अन्य बिरामीको सेवाका लागि इमरजेन्सी बेड, वार्डमा २० वेड र पोष्ट अप्रेटिभ केशका लागि गरी ३२ बेड उपलव्ध हुने जानकारी दिनुभयो ।
कार्यक्रममा डेपुटी मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. दुर्गा थापा पुनले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मीहरु एवं पूर्व मेडिकल डाइरेक्टर लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।













प्रतिक्रिया