रोल्पा, २ मंसिर । कात्तिक २६ गते बुधबार रोल्पाको पोखरा चौरबाट एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेविरुद्ध अर्को आन्दोलनको आवश्यकता रहेको धम्की दिए ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा दुईतिहाईभन्दा बढी सभासद्को समर्थनसहित कांग्रेस–एमालेले साझा अवधारणा पेश गरेपछि कहिले पाँचथर त कहिले धनुषा पुगेर बर्बराइरहेका प्रचण्डको अनण्यरोदन पोखराचौरमा पनि सुनियो । पोखराचौरबाट प्रचण्डले भने, ‘कांग्रेस–एमालेले जातीय पहिचानसहितको संघीयता नदिने भए, त्यसैले अर्को आन्दोलनको विकल्प छैन ।’ त्यसो भनिरहँदा प्रचण्डले यो भुले कि उनी जहाँ उभिएका थिए, त्यो दश वर्षे जनयुद्धको आधार भूमि थियो, जहाँबाट उनकै नेतृत्वमा वर्गीय मुक्तिको निम्ति भनेर राज्यसत्ताविरुद्ध सशस्त्र युद्धको थालनी भएको थियो । दश वर्षसम्म वर्गीय मुक्तिको निम्ति भन्दै युद्धको नेतृत्व गरेका प्रचण्ड आज कठोर जातिवादी नेता बनेका छन् ।
जनयुद्धको बलमा आफ्नो वर्ग उत्थान गरिसकेकाले प्रचण्डमा अब ‘वर्गीय मुक्तिको नारा’ बोक्ने ‘लेजिटिमेसी’ नभएको कुनै समय उनकै कमान्डको जनयुद्धका एक अगुवा मोहन वैद्य किरणले बारम्बार बताउने गरेका छन् । यसपटक प्रचण्डको चार दिने रोल्पा भ्रमणको दौरान पनि त्यस्तै देखियो । कुनै समय वर्गीय मुक्तिको लालकिल्ला भनिने रोल्पालाई उनी ‘जातीय विद्वेशको बीउ’ रोप्ने थलो बनाउन चाहन्थे । ‘मुलुकमा फेरि अर्को आन्दोलनको आवश्यकता छ, त्यो आन्दोलनले कांग्रेस–एमालेलाई बढार्नेछ र मुलुकमा जातीय राज्यसहितको संघीयता प्राप्त हुनेछ,’ प्रचण्डले थपे, ‘म जनयुद्धको केन्द्रबाट आन्दोलनको उद्घोष गर्न आएको हुँ, म रोल्पाबाटै देशभरका जनतालाई आन्दोलनको निम्ति तयार रहन अपील गर्दछु ।’
प्रचण्डले त्यसो भने पनि स्वयम् रोल्पालीहरू नै जातीय आन्दोलनको निम्ति तयार देखिँदैनन् । पोखराचौरको सभालाई सम्बोधन गरेको भोलिपल्ट माडीचौरमा त्यस्तै कार्यक्रम राखिएको थियो । वर्षमान पुन अनन्तको गाउँ माडीचौरको सभामा पनि प्रचण्डले त्यस्तै अभिव्यक्ति दिए । तर, त्यहाँ प्रचण्डको मुखबाट जातीय राज्यको कुरा सुनेपछि एक स्थानीयले चिटमा लेखि पठाए, ‘वर्गीय युद्धको नेतृत्व गरेको कमान्डरले जातीय राज्यको कुरा गर्न सुहाउँछ रु’ चिट प्रचण्डसम्म पुग्यो तर, प्रचण्डले त्यसको जवाफ दिने आँट गरेनन् ।
एकाबिहानै आयोजना गरिएको उक्त कार्यक्रमको दौरान अन्य सहभागीले पनि प्रचण्डसमक्ष त्यस्ता प्रश्न उठाए । प्रचण्डले तिनको जवाफ पनि दिएनन् । देशका विभिन्न स्थानमा पुगेर प्रचण्डले जातजातिलाई लडाउने गरी भड्किला भाषण दिएको धेरै भइसकेको छ । सञ्चारका माध्यममार्फत् रोल्पाली जनताले पनि प्रचण्डका अभिव्यक्ति सुनेका छन् । राङसीका एक स्थानीयले भने, ‘त्यसैले रोल्पालीको नजरमा प्रचण्ड अब वर्गीय मुक्तिको नेता नभई जातीय संकिर्णता बोकेको नेता बन्न पुगेका छन्, यहाँ उनको उचाइ घटिसकेको छ ।’ सायद त्यही कुराको आभाष भएर होला प्रचण्डले यसपटक रोल्पा भ्रमणमा पनि चलाखी गरेका थिए । उनी जहाँ जान्थे, त्यहाँ बाजागाजासहित झाँकीको पनि व्यवस्था गरिएको थियो ।
तै पनि प्रचण्डप्रति रोल्पालीको आकर्षण देखिएन । रोल्पाकै पृष्ठभूमि भएका नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दकिशोर पुनको साथ प्रचण्डलाई थियो । प्रचण्ड भ्रमणको तयारी गर्न भनेर नन्दकिशोर पुनलाई पहिले नै पठाइसकिएको थियो । राङसी पुग्दा प्रचण्डलाई स्वागत गर्न नन्दकिशोर आफैं पूmलमाला लिएर बसेको थिए । त्यहाँ उनले स्वागत गेट निर्माण गरेका थिए, स्वागतको सम्पूर्ण प्रपञ्च मिलाइएको थियो, तर प्रचण्डले जनताको न्यानो स्वागत भने पाएनन् ।
संविधान निर्माणको अभिभारबाट भागेर रोल्पा हिँडेका प्रचण्डको आलोचना भएपछि उनले ‘आफू संविधान निर्माणका निम्ति ऊर्जा लिन’ रोल्पा गएको बताएका थिए । तर चार दिन लगाएर रोल्पाका केही गाउँ घुम्दा पनि प्रचण्डलाई रोल्पाबाट जातीय विद्वेष छर्ने ऊर्जा मिलेको देखिएन । माडीचौरका एक स्थानीयले भने, ‘रोल्पाको माटोले थुप्रै पटक वर्गीय मुक्तिको लागि रगत बगाएको छ । तर, रोल्पालीहरू जातीय राज्यको गन्धसम्म पनि मन पराउँदैनन्, ऊर्जा दिने त परको कुरा हो ।’
















प्रतिक्रिया