२९ आश्विन २०८३, बिहिबार

भुवन केसीले यसरी खेलाए प्रहरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhuwan

महागनरीय प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा प्रहरीको व्यवहारबारे छलफल भइरहँदा एक प्रहरी टोली भने फिल्म हलमा गएका विद्यार्थी खोज्दै थिए । कलेज गएका विद्यार्थी फिल्म हल गएकोले सुधार्नका लागि प्रहरी हलमा गएको हो ।

महानगरीय प्रहरी वृत्त गौशलाले चाबहीलस्थित गोपिकृष्ण हलबाट १३ जना विद्यार्थीलाई अपराधीजस्तै गरी पक्राउ गर्‍यो र टेलिभिजनका पत्रकार बोलाएर भिडियो खिचायो । फिल्म हलबाट तीन सय विद्यार्थी पक्राउ गरिएको भन्दै टेलिभिजनहरूमा फ्लास न्यूज बजाइयो ।

नायक भुवन केसीले जेरी फिल्मको गलत तरिकाले प्रचार गर्नका लागि यसरी प्रहरी र मिडिया दुरुपयोग गरेका हुन् । गत शुक्रबारदेखि छोरा अनमोलले अभिनय गरेको फिल्म जेरी उक्त हलमा चलेको थियो । सोही फिल्म हेर्न विद्यार्थीहरू कलेज छाडेर हलमा गएको भन्दै प्रोपोगाण्डा मच्चाएर उक्त फिल्मको प्रचार गर्नका लागि केसीले प्रहरीलाई छापा हान्न लगाइएको थियो । फिल्मी पत्रकारहरूलाई पहिले नै हलमा बोलाइसकिएको थियो । पक्राउ परेका अधिकांश विद्यार्थी हिन्दी फिल्म हेर्न गए पनि जेरी हेर्न गएको भनेर प्रचार गरिएको थियो । ताकि जेरी फिल्मबारे मानिसमा जिज्ञासा उत्पन्न होस् ।

प्रहरीको यो कामको सामाजिक सञ्जालहरूमा धेरै आलोचना भयो । त्यसरी पक्राउ परेका सबै विद्यार्थी कलेज बंक गरेर फिल्म हेर्न गएका थिएनन् । फेरि कलेज ड्रेसमा फिल्म हेर्न जान नपाइने नियम पनि छैन । त्यसकारण प्रहरीले व्यक्तिगत स्वतन्त्रता हनन गरेको भन्दै यो कदमको व्यापक बिरोध भएको छ । त्यसरी व्यक्तिको स्वतन्त्रता हनन गरी चरित्र हत्या गरेवापत गौशलाका डिएसपी राकेश सिंहले फिल्म युनिटबाट लाभ लिएको बताइन्छ ।

भारतमा पनि फिल्मको प्रचार गर्नका लागि अनेक प्रोपोगाण्डा मच्चाइने गरिन्छ । त्यसकै सिको गर्दै नेपालमा पनि फिल्म चल्ने बेलामा कलाकारहरूबीचको झगडादेखि अनेक बनावटी स्क्यान्डल मिडियामा ल्याएर जनतालाई मुर्ख बनाएर फिल्मको प्रचार गरिने गरिन्छ । त्यसैको नक्कल गर्दै आफ्नो छोराको फिल्म हिट गराउन केसीले प्रहरीलाई दुरुपयोग गरेका हुन् ।