दमक, २४ कात्तिक । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राप्रपाको चर्को आलोचना गरेका छन् । सिटौला भद्रपुरमा आयोजित अन्तरक्रियामा राप्रपा प्रति आक्रमक रुपमा प्रस्तुत भएका हुन् । राप्रपालाई उनले संघीयता र लोकतन्त्रको विरोधी भएको आरोप लगाए ।
वाम गठबन्धनले संघीयता र लोकतन्त्र विरोधी राप्रपालाई झापा क्षेत्र नम्बर ३ मा उम्मेद्वार बनाएकोमा आफू आश्चर्यमा परेको सिटौलाको भनाइ छ। सिटौलाले २०४६ सालको जनआन्दोलमा नेपालकै पहिलो सहिदका रुपमा मण्डले पार्टी द्वारा मारिएका राम थापाको रगत आलै रहेको सम्झना गरे । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
उनले बहुदलीय प्रजातन्त्रका सिपाही सफायमा लागेका तथा २०६२/०६३ को लोकतान्त्रिक गणतन्त्रको परिवर्तन रोक्न सुरज विश्वास र राजन गिरीलाई गोली हान्ने झापाली जनताका प्रतिनिधि कसरी हुन सक्छन् भन्दै प्रश्न गरे।
झापा क्षेत्र नम्बर ३ नेपालको राजनीतिक परिवर्तनको बाहक भएको भन्दै सिटौलाले प्रगतिशील विचारधारामा रहेका जनता अग्रगमनका पक्षधर हुनु पर्ने प्रष्ट पारे । उनले गणतन्त्रलाई राजतन्त्रमा फर्काएर परिवर्तन रोक्न चाहने जनभावना विरोधीलाई मतदान नगर्न समेत आग्रह गरे ।
समयमै सोचेर मतदान गर्न क्षेत्र नम्बर ३ का जनतालाई उनको अपिल थियो । वाम गठबन्धनले उम्मेद्वार नदिएकाले विकल्पका रुपमा नेपाली कांग्रेसलाई मतदान गर्न सबै सित सिटौलाले अनुरोध गरेका छन् ।
झापा ३ का उम्मेद्वार सिटौलाले शान्ति र संविधानको जिम्मेवारी लिएर दोश्रो संविधान सभा निर्वाचनमा जनताको विश्वास जितेको चार वर्षे कार्यकालमा १ अर्ब बढीका विकास योजना ल्याउन सफल भएको बताए ।
सिटौलाले आफू परिवर्तनको लडाईंमा अबिचलित भएर निरन्तर लागेको स्पष्ट पार्दै अहिलेको निर्वाचनमा शान्ति र समृद्धिको सपना पुरा गर्न क्षेत्र ३ का जनताले मतदान गरेर पठाउनु पर्ने जिकिर गरे ।
उनको क्षेत्र बाट झापामा राप्रपाका राजेन्द्र लिङ्देन उठेका छन्। लिङदेनलाई वाम गठबन्धनको सहयोग रहेकोले चुनाव जित्नका लागि आफ्नो क्षेत्रमा सिटौलाको दौडधुप बढाएका छन् ।












प्रतिक्रिया