१ कार्तिक २०८३, आइतबार

नागढुंगा सुरुङमार्गका लागि सरकारले थाल्यो जग्गा अधिग्रहण

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– पूर्णप्रसाद मिश्र 

काठमाडौँ, २२ कात्तिक । उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगा सुरुङको प्रवेश मार्ग निर्माणका लागि जग्गा प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले ३० दिने सार्वजनिक सूचना जारी गरेको छ ।

यो सुरुङ मार्ग निर्माण भएपछि उपत्यका भित्रिँदा घण्टौँ लामो जाम नहुने विश्वास गरिएको छ । आयोजनाअन्तर्गत पूर्वी सडकखण्ड निर्माण गर्न जग्गा प्राप्तिका लागि हक दाबी गर्न जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ अनुसार ३० दिने सूचना जारी गरिएको नागढुंगा सुरुङ निर्माण आयोजनाले जनाएको छ ।

मार्ग निर्माणका लागि ४३७ कित्ताका २६६ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया शुरु भएको आयोजना प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । मार्ग निर्माणका लागि काठमाडौँतिरको जग्गा अधिग्रहण गर्न लागिएको हो । हालको चन्द्रागिरि नगरपालिका साविकको महादेवस्थान, थानकोट, बलम्बु र दहचोक गाविसका सरकारी एवम् निजी जग्गा, घर, रूख, बिरुवा र बाली नालीको मुआब्जा दिई जग्गा अधिग्रहण गरिने छ ।

“बस्नेतछापमुनिको दहचोकदेखि नौबिसे नजिकको सिस्नेखोलासम्म दुई दशमलव सात किमी सुरुङ निर्माण हुन्छ, यो मार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सस्तो ब्याजदरको ऋण सहयोग गरेको छ, यसको लागत रु १७ अर्ब छ”, उहाँले भन्नुभयो ।

वार्षिक शून्य दशमलब ०१ प्रतिशत ब्याजको यो ऋण ४० वर्षमा तिरिसक्नुपर्ने आयोजनाले जनाएको छ । सुरुङ विसं २०७९ पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

सुरुङको पूर्वी खण्डको प्रवेश मार्ग राजमार्ग सरह केन्द्रबाट २५/२५ मिटर बन्ने आयोजनाका इञ्जिनियर छविलाल पौडेलले बताउनुभयो । सुरुङ पार गरेर धादिङको सिस्नेखोला पुगेपछि भने ५०० मिटर मात्र प्रवेश मार्ग बनाएपछि राजमार्गसँग जोडिन्छ । धादिङतिरको प्रवेश मार्ग निर्माणका लागि जग्गा प्राप्त गर्न सूचना जारी गर्ने तयारी भइरहेको पनि आयोजनाले जनाएको छ । रासस