१ कार्तिक २०८३, आइतबार

बैधानिक माध्यमबाट नै पैसा पठाउनुहोस्ः गर्भनर डा. नेपाल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सियोल (दक्षिण कोरिया), कात्तिक २१ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले कोरियाकै पहिलो मनी ट्रान्सफर कम्पनी जीएमईको डोङडमुनस्थित शाखाको अवलोकन भ्रमण गरेका छन् । जीएमईका प्रमुख कार्यकारी अधिकृत जोन सुङले उक्त अवसरमा गर्भनर डा. नेपाललाई स्वागत गरेका थिए ।

भ्रमणको क्रममा गर्भनर नेपालले नेपाल पैसा पठाउने प्रक्रियाको बारेमा समेत जानकारी लिएका थिए । अवलोकनका क्रममा शाखामा उपस्थित सेवाग्राहीहरूसँग अन्तरक्रिया गर्दै गर्भनर डा. नेपालले वैदेशिक रोजगारीको क्रममा कोरियामा रहेका नेपालीहरुको रेमिटेन्स औपचारिक माध्यमबाट नेपाल पठाउन जीएमईले गरेको प्रयासको उच्च प्रशंसा गर्दै कोरियामा रहेका हरेक नेपालीहरुलाई औपचारिक माध्यमबाट नै रेमिटेन्स पठाउन अनुरोध समेत गरे ।

यसै सन्दर्भमा कोरियास्थित नेपाली दूतावासमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर डा. नेपालले कोरियाबाट अबैधानिक च्यानलमार्फत नेपाल जाने पैसा रोक्नु नेपाल राष्ट्र बैंकको मुख्य प्राथमिकता रहेको जानकारी गराए । नेपाल सरकारले इपीएसमार्फत कोरिया सरकारसँग सम्झौता गरी वैदेशिक रोजगारीको राम्रो अवसर प्रदान गरेको भन्दै त्यसको कदरका लागि बैधानिक माध्यमबाट रेमिटेन्स पठाएर सहयोग गर्न आग्रह गरे । वैदेशिक रोजगारीको शिलशिलामा कोरियालगायत अन्य मुलुकमा रहेका नेपालीहरुले औपचारिक माध्यमबाट पैसा नपठाए अर्को पटक विदेश जानको लागि रोक लगाउनसम्म सक्ने उनले जानकारी गराए । अन्तरक्रिया कार्यक्रममा बोल्दै कोरियाका लागि नेपालका राजदूत अर्जुन जंगबहादुर सिंहले कोरियाबाट हुने हुण्डी कारोबारलाई निरुत्साहित गर्न दुतावास र नेपाल राष्ट्र बैंकले कडा कदम चाल्न त्यही अनुरुपको नियम ल्याउँदै गरेको जानकारी दिए ।

कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल सन् २०१३ देखि ग्लोबल आइएमई बैंक र कोरिया स्थित वाणिज्य बैंकहरुको सहकार्यमा रेमिटेन्स सेवा दिँदै आएको जानकारी गराए । शनिबार र आइतवार बैंकका सेवा बन्दहुने र अन्य प्रक्रियागत कारणले सोचँे जस्तो रेमिटेन्स भित्रिन नसकेको भन्दै अबदेखि जीएमईका सबै शाखाहरूबाट हप्ताका सातै दिन छिटो छरितो रेमिटेन्स सेवादिन सक्ने हुँदा जीएमईले कोरियाबाट नेपाल रेमिटेन्स भित्र्याउन उल्लेख्य योगदान पु-याउने विश्वास ब्यक्त गरे । एकपटक कोरिया बसेको व्यक्ति पुनः कोरिया फर्किन चाहेमा वैधानिक माध्यमबाट मात्र रेमिटेन्स पठाएको हो भन्ने प्रमाण स्वरूप जीएमईको स्टेटमेन्ट प्रिन्ट दिने व्यवस्था मिलाइएको जानकारी अन्तरक्रिया कार्यक्रममा गराईएको थियो ।

जीएमईको सेवा जीएमईका सबै शाखा सहित अनलाइनबाट समेत लिन सक्ने व्यवस्था मिलाईएको छ । यसरी पठाएको रकम नेपालस्थित ग्लोबल आइएमई बैंकका सबै शाखाहरुलगायत सात हजारभन्दा बढी एजेन्ट आउटलेटबाट छिटो, छरितो र सुरक्षित ढंगले भुक्तान लिन सकिनुका साथै जुनसुकै बैंकको खातामा पनि जम्मा गर्न सकिने कम्पनीले जनाएको छ ।

जीएमईलाई गत अगष्ट २३ मा कोरियन सरकारले पहिलोपटक रेमिटेन्स सेवा प्रदान गर्ने इजाजत प्रदान गरेको थियो । सोहि इजाजत अनुरुप जीएमईले आफ्नो सेवा सञ्चालन गरिसकेको छ । जीएमईको स्थापनापछि कोरियाबाट औपचारिक माध्यममार्फत रेमिटेन्स भित्र्याउन सहज हुने विश्वास गरिएको छ ।