१५ कार्तिक २०८३, आइतबार

कांग्रेसलाई वाम गठबन्धनको डर, एमाले-माओवादीलाई अन्तर्घात

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, २१ कात्तिक ।  आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको सरगर्मी बढेसँगै डडेल्धुरा जिल्लाका हरेक चोकचोकमा चुनावी परिणामको जोडघटाउ शुरु भएको छ ।

प्रतिनिधिसभामा एक सिटमात्र भएको प्रदेश नं. ७ को केन्द्रविन्दु मानिने डडेल्धुरामा एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धन सित कांग्रेस डराइरहेको छ । वाम गठबन्धन भने कांग्रेससित होइन, आफूभित्र हुन सक्ने सम्भावित ‘आन्तरिक घात’ सित डराइरहेको नेताहरु बताउछन् ।

स्थानीय निर्वाचनका बेला तीन पार्टी छुट्टा छुट्टै चुनाव लडेकाले ७ मध्ये ४ स्थानीय तहमा चुनाव जितेको नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा निकै उत्साहित थियो । डडेल्धुरा जिल्ला २०१५ साल देखिनै नेपाली काँग्रेसको परम्परागत गढ मानिन्छ । राजधानी दैनिकले समाचार छापेको छ ।

२०५४ सालको स्थानीय निर्वाचनमा वहुमत ल्याएको एमाले सित तत्कालिन राप्रपा र एमाले बीच गठबन्धन हुँदा जिल्ला विकास समितिमा प्रभुत्व कायम गर्न नसकेको नेपाली कांग्रेस डडेल्धुराले गत असारमा सम्पन्न स्थानीय निर्वाचनमा आन्तरिक गुटबन्दी र टिकट वितरणमा भएको मनोमानीका कारण अपेक्षित विजय हासिल गर्न सकेन् ।

जब एमाले र माओवादी केन्द्रबीच आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा चुनावका लागि गठबन्धन बन्यो, नेपाली कांग्रेस डडेल्धुरा भित्र देखिएको मत मतान्तर एकाएक सेलायो । पार्टी एकतावद्ध भएपछि नेपाली काँग्रेस डडेल्धुराभित्र पुरानै उत्साह केहि सेलाएकोछ ।

जिल्लामा हालसम्मका हरेक चुनावमा बहुमत सहित पहिलो पार्टी बन्ने सोभाग्य पाएको कांग्रेसले पछिल्लो स्थानीय निर्वाचनका बेला ल्याएको कुल मत एमाले र माओवादी दुवैले ल्याएको भन्दा कम छ । डडेल्धुरामा नेपाली कांग्रेस पहिलो र दोस्रो संविधान सभा चुनावमा विजयी मात्र भएको छैन, २०४८ साल देखि हालसम्मका हरेक निर्वाचनमा विजय हासिल गर्दै आएको छ ।

लामो समय देखि जिल्लामा गुट उपगुट र मतभिन्नतामा रहेको नेपाली कांग्रेस डडेल्धुराले आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धन बनेपछि एकतावद्ध हुनुको कुनै विकल्प नरहेको नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिका सदस्य मानबहादुर बुढा बताउछन ।

“मिलेर निर्वाचनमा लडदै कथित वाम गठबन्धनलाई चुनौती दिने बाध्यता आसन्न निर्वाचनमा छ,” उनले भने,“तर अझैपनि पुरानै ढर्राबाट गुट उपगुटको राजनीति र एक अर्कालाई सिध्याउने खेल खेल्ने हो भने डडेल्धुरामा काँग्रेस पराजित मात्र हुनेछैन, पार्टी र संगठन पनि धरासायी हुने निश्चित छ ।”

नेपाली कांग्रेस डडेल्धुराले अगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा विजय हासिल गर्न एकतावद्ध भएर चुनावमा जानुको विकल्प नभएको राजनीतिक विश्लेषक हरिप्रसाद जोशी बताउछन् । “काँग्रेस मिल्नैपर्ने अबस्थाले उम्मेदवारीको टुंगो लगाउने सवालमा पनि दुबै गुटबाट प्रतिनिधित्व हुनेगरि उम्मेदवार बनाइएको छ ।” उनले भने ।

नेपाली कांग्रेस डडेल्धुराका सभापति युवा नेता कर्णबहादुर मल्ललाई कारवाही हुने हल्लाका बीच नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिको बैठकले पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबाहेक अन्य उम्मेदवारको टुंगो लगाउन सकेको थिएन् ।

उम्मेदवार टुंगो लगाउन पार्टीको जिल्ला कार्यसमितिले बोलाएको बैठकमा असन्तुष्ट पक्षका नेता कार्यकर्ताहरु सहभागी भएका थिएनन् भने असन्तुष्ट पक्षका नेताहरुले छुट्टै बैठकको आयोजना गरेर उम्मेदवारहरुको नाम सिफारिस गरेको थिए । संस्थापन र असन्तुष्ट दुबै पक्षबाट नाम सिफारिस भएका उम्मेदवारहरुलाई नेपाली काँग्रेसले उम्मेदवार बनाएको छ ।

“पार्टी मिलाउने यो भन्दा अर्को विकल्प थिएन् ।” नेपाली कांग्रेस परशुराम नगरपालिका–७ का वार्ड सभापति युवा नेता बिरबहादुर थापा भन्छन,“स्थानीय निर्वाचनमा जसरी एउटै गुटका नेता कार्यकर्ताहरुले उम्मेदवार बन्ने र अर्को गुटलाई पाखा लगाउने परम्परालाई निरन्तरता दिएको भए आसन्न निर्वाचनमा पनि डडेल्धुरा कांग्रेसलाई बिरासत जोगाउन मुस्किल पर्ने थियो ।”

उनले वाम गठबन्धनका कारण पार्टी एकतावद्ध भएकोमा खुसी ब्यक्त गरे । “अब डडेल्धुरामा कांग्रेस हार्छ भन्ने दिवास्वप्ना कसैले नदेखे हुन्छ ।” सभापति थापाले भने,“तर पार्टीमा व्याप्त गुट उपगुटका कारण बिभक्त कार्यकर्ताहरुलाई एकतावद्ध बनाउने चुनौती नेताहरुमा थपिएको छ ।”

वाम गठबन्धनका नाममा दुई ठुला दलहरु एमाले र माओवादी केन्द्र मिलेपछि पार्टी एकता बिना डडेल्धुरा कांग्रेसका कुनैपनि उम्मेदवारको विजय सुनिश्चित नभएकाले एकताको विकल्प नभएको नेपाली कांग्रेस डडेल्धुराका कार्यकर्ताहरु बताउछन् । पार्टी एकजुट भइसकेकाले डडेल्धुरामा नेपाली काँग्रेसको विजय सुनिश्चित भएको अधिकांस कार्यकर्ताहरुको अनुमान छ ।

स्थानीय निर्वाचनको मत परिणाम हेर्ने हो भने वाम गठबन्धनका अगाडी अझै पनि नेपाली कांग्रेस डडेल्धुरा जिल्लामा कमजोर देखिएको छ । तर, वाम गठबन्धनभित्र भने अर्कै चिन्ता छ । जिल्लामा एमालेका प्रभावशाली नेता गजेन्द्र शाही पार्टीमा सबभन्दा बरिष्ठ भईकन पनि प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार हुन पाएका छैनन् भने माओवादी केन्द्रका जिल्ला संयोजक मानसिँह माल ‘क्रान्ती’ले निकै प्रयत्न गरेर पनि टिकट पाउन सकेनन् ।

यस्तै कारणले वाम गठबन्धन भनिएको एमाले र माओवादी केन्द्रको गठबन्धन भित्र आन्तरिक घात हुने खतरा बढेको छ । एमालेले ०७० मा संविधान सभामा पराजित अध्यक्ष डा. तारा जोशी र पुराना नेता पठानसिँह बोहरालाई प्रदेश सभामा उम्मेदवार बनाएकोछ भने पहिलो र दोस्रो संबिधान सभामा पराजित माओवादी केन्द्रका नेता खगराज भट्टलाई प्रतिनिधी सभाका लागि उम्मेदवार बनाएको छ ।

जिल्लामा कृयासिल राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा (प्रजातान्त्रिक) र नयाँ शक्ति पार्टीले प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गरोका आफ्ना उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गराउन लगाएर लोकतान्त्रिक गठबन्धनलाई सघाउने निर्णय गरेका छन् ।