रत्ननगर (चितवन), २० कात्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनमा बाल अस्पताल निर्माण गर्ने बताएका छन् ।
रत्ननगरको वकुल्लहरमा निर्वाचन केन्द्रीत पार्टी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले पूर्वी चितवन बाल अस्पताल निर्माण गरिने बताए । भरतपुर मेडिकल सिटीको रुपमा विकास भइसकेकाले अव चितवनका पूर्वी क्षेत्र र वरपरका जिल्लालाई समेत केन्द्रीत गर्ने उद्देश्यले एकसय शैया क्षमताको बाल अस्पताल निर्माणको कार्य अगाडि बढिसकेको बताए । यो क्षेत्रको विकासको लागि आफूले सक्दो प्रयास गरेको भन्दै बाल अस्पतालको लागि जग्गा हेर्ने काम सकिएकाले यसको प्रकृयागत काम अगाडि बढि सकेको जानकारी दिए ।
आउदो ५ वर्ष भित्रमा अस्पताललाई पूर्ण रुप दिनको लागि आफूले पहल कदमी गर्ने उनले जानकारी दिए । मंसिर २१ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनमा वामपन्थी गठवन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराए दिगो विकासका योजनाहरु पर्याप्त मात्रामा ल्याउने उनले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा १ को २ का उम्मेदवार कृष्ण खनालले प्राथमिकताको आधारमा आफ्नो क्षेत्रमा विकास निर्माणका कामहरु गरिने बताए । निष्ठा र इमान्दारिताबाट काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै पूर्वी चितवनको विकास निर्माणमा योजनावद्ध रुपमा लाग्ने उनले बताए ।
प्रदेश सभा उम्मेदवार दावा दोर्जे लामाले प्रदेश सभा क्षेत्रका जनताको मागअनुसार विकास निर्माणको काम गर्ने बताए । कार्यक्रममा क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटीका संयोजक जगन्नाथ थपलिया, माओवादी केन्द्रका नेता ईश्वरी भट्टराईलगयातले बामगठवन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी गराउन अपिल गरे ।












प्रतिक्रिया