बाग्लुङ, २० कात्तिक । विगतका निर्वाचनमा एक अर्कालाई आरोप प्रत्यारोप मात्रै होइन, एकले अर्कोलाई सिध्याउने गरी प्रचार अभियानमा लाग्ने बाग्लुङका बामपन्थी थलहरु यतिबेला संयुक्त चुनावी प्रचारमा लागेका छन् । एउटै झण्डा, एउटै लक्ष्य, एउटै उदेश्य लिएर राजनीतिक यात्रामा रहेका बामपन्थीहरुबीचको बेमेल अन्त्य भई एकतावद्ध भएर गाउँमा आएको देखेर स्थानीयवासी उत्साहित देखिएका छन् ।
गाउँ गाउँमा पुगेका राजनीतिक दलका नेताहरु, उमेदवार र कार्यकर्तालाई स्थानीयले अबीर, फूलमाला लगाएर स्वागत गरेका छन् । गाउँ गाउँमा पुगेका ३ वटै दलका नेताहरुको एउटै अनुरोध छ, ‘हिजो हामी फुट्दा देश बिग्रियो, अब हामी जुटेका छौ, यस पटक स्थिर सरकारका लागि बाम गठबन्धनका उमेदवारलाई मतदान गर्नुहोस् ।’
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको प्रचारका क्रममा बागलुङको काठेखोला गाउँपालिकामा पुगेका बाम गठबन्धनका नेता, कार्यकर्ता र उमेदवारहरुले मत माग्ने क्रममा यस्तै अनुरोध गरिरहेका छन् । उनीहरुले ठुला सभा भन्दा पनि टोल टोलमा पुगेर स्थानीयलाई समृद्धि निर्माणका लागि राजनीतिक स्थिरता आवश्यक रहेको र यतिबेला बामपन्थी गठबन्धनले त्यो रिक्तता पुरा गर्ने भन्दै सम्झाइ बुझाइ गरिरहेका छन् ।
समाज रुपान्तरण गरौ भनेर नयाँ लक्ष्य, योजना र कार्यक्रम ल्याउने दललाई ९ महिना भन्दा बढी सरकार सञ्चालन गर्न नदिने अवस्थाको अन्त्यका लागि बाम गठबन्धनलाई स्पष्ट बहुमत आवश्यक परेको भन्दै उनीहरुले जनतालाई मत दिन आग्रह गरेका छन् । बामपन्थीहरु विभाजित हुदाँ देशमा अस्थिरता निम्तिएको उनीहरुको ठम्याई छ । निर्वाचन पछि एउटै दल बनाउँने गठबन्धनको चुनावी सभामा बोल्ने वक्ताहरुको भनाइ छ ।
नेताहरु मात्रै नभई गाउँ गाउँका कार्यकर्ताहरु पनि अत्यन्तै उत्साहित देखिन्छन् । गाउँमा कामको चटारो तथा अन्न भित्र्याउन किसानहरु आतुर भएपनि टोल टोलमा जम्मा भएर बामपन्थी गठबन्धनका नेताहरु र उमेदवारहरुलाई स्वागत गरिरहेका छन् ।
‘हामीलाई अत्यन्तै खुशी लागेको छ’ काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाका स्थानीय बाबुराम भण्डारीले भने, ‘बामपन्थीहरु मिलेर संगै मत माग्न आएको देख्दा हामी सबै खुशी भएका छौ । अब यिनले केही गर्छन् भन्ने हामीलाई लागेको छ ।’
काठेखोला गाउँपालिकामा ८ वटा वडा रहेका छन् । गत स्थानीय निर्वाचनमा त्यो गाउँपालिकामा बापमन्थीहरु मिलेर चुनाव जितेका हुन् । १५ सयको अन्तरमा अध्यक्ष र उपाध्यक्ष जितेका बामपन्थीहरु यस पटक त्यो भन्दा बढी मतान्तरले विजयी हुने लक्ष्यका साथ क्रियाशील छन् । स्थानीय निर्वाचनमा १३/१३ मतले वडा नं. १ र ४ तथा ४१ मतले वडा नं. ५ मा हार ब्यहोरेका बामपन्थीहरुले ५ वटामा विजय प्राप्त गरेका थिए । बामपन्थीहरुले जितेका वडामा २ सय देखि १४ सय मतान्तरले विजयी बनेका थिए । हारेका वडामा प्रत्येकमा २ सय भन्दा बढी बामपन्थीका मत विग्रिएका थिए । यस पटक मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने योजना रहेको गठबन्धनका नेताहरुले बताएका छन् ।
बामपन्थी उमेदवारहरुलाई विजयी बनाउन स्थानीय निर्वाचनमा भन्दा यस पटक अझै जोडतोडका साथ नेता कार्यकर्ता खटिएको नेकपा एमाले काठेखोला गाउँपालिकाका सह–संयोजक तथा जिल्ला सचिवालय सदस्य हुमाकुमारी जिसी (अञ्जु)ले बताइन् । नेकपा एमालेको नेतृत्वमा बामपन्थी दलहरुको सरकारले गरेका लोकप्रिय कार्यक्रमहरु, राष्ट्रियताका सन्दर्भमा लिएको अडान, केपी ओली नेतृत्वको सरकारले नाकाबन्दीका विरुद्ध लिएको अडान, बामपन्थी दलहरुबीच भएको चुनावी सहकार्य र स्थानीय निर्वाचनबाट निर्वाचित भएका बामपन्थी दलका जनप्रतिनिधिहरुले छोटै समयमा गरेका प्रभावकारी कामका कारण काठेखोलाका जनता बामपन्थी गठबन्धनलाई जिताउन आतुर रहेको एमाले सह–संयोजक जिसीले दावी गरिन् ।
स्थिर सरकार निर्माण गरी समृद्ध नेपाल बनाउने लक्ष्यका साथ चुनावी सहकार्य गरेका बामपन्थी दलहरुलाई जनताले विश्वास गरेको र स्थानीय तहको निर्वाचनमा भन्दा बढी मत जनताले दिने नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य टिकाबहादुर थापाले बताए । देशभर नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीच तालमेल छ, बागलुङ र प्युठानमा राष्ट्रिय जनमोर्चा समेत सहभागी छ ।












प्रतिक्रिया