
काठमाडौँ, २० कात्तिक । गृहसचिव मोहनकृष्ण सापकोटाले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुको साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गरेका छन् ।
सो अवसरमा गृहसचिव सापकोटाले प्रहरी प्रधान कार्यालयमा सलामी ग्रहण गरेका थिए । साथै सापकोटाले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण समेत गरेका थिए । गृहसचिव सापकोटालाई प्रहरी महानिरीक्षक प्रकाश अर्याल तथा वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।
उक्त अवसरमा निर्देशन सम्बोधन गर्दै गृहसचिव सापकोटाले नेपाल प्रहरीले हिमाल, पहाड, तराईका अप्ठेरा ठाउँहरुमा रहेर काम गर्दै राज्यकोतर्फबाट गरेको त्याग, तपस्या र कर्तव्यपालनाको प्रशंसा गरे । राज्यको आवश्यकता अनुसार नै नेपाल प्रहरीको विकास हुँदै आएको चर्चा गर्दै गृहसचिव सापकोटाले संघीयता लगायत बद्लिँदो परिस्थितिमा परिवर्तनलाई आत्मसात गर्दै नीतिगत सुधार, ऐन कानुन परिमार्जन, क्षमता विकास, साधनस्रोत व्यवस्थापन गर्दै सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
हरेक नागरिकको घरआँगनमा पुग्ने प्रहरी संख्यात्मक भन्दा पनि क्षमता विकास, विज्ञान प्रविधिको प्रयोग गरी नयाँ तरीकाले गुणस्तरीय काम गर्दै अगाडि बढेमा राम्रो उपलब्धी हासिल हुने उनले बताए । गृहसचिव सापकोटाले प्रहरी सेवालाई अझै बढी सशक्त बनाउन नेपाल प्रहरीका रचनात्मक सुझाव कार्यान्वयन गर्न संयन्त्र बनाई समस्या समाधान गरिने बताएका छन् । संघीयतालाई सुरक्षाको हिसावले कार्यान्वयन गर्ने क्रममा अन्य सुरक्षा निकायसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै संयन्त्र तयार भएको अवस्थामा सरकारको नीति अनुसार सुरक्षा प्रदान गर्ने कार्यमा लाग्न निर्देशन दिँदै गृहसचिव सापकोटाले अपराध नियन्त्रण, भयमुक्त समाजको निर्माण, नागरिकलाई सुरक्षाको अनुभूति दिलाउँदै प्रहरीको छविलाई अझै राम्रो बनाउनुपर्ने उल्लेख गरे । राम्रो काम गरेमा थप सुविधा र नराम्रो काम गरेमा दण्ड सजायको भागिदार हुनुपर्ने समेत उनले बताए ।
सोही अवसरमा प्रहरी प्रधान कार्यालयकोतर्फबाट नेपाल प्रहरीको प्रशासनिक एवं समसामयिक गतिविधिको प्रस्तुतीकरण गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरीको विकासक्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षाका बारेमा विस्तृत जानकारी दिएका थिए । प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको संरचना, मानवस्रोत व्यवस्थापन, प्रहरी इकाईगत सञ्जाल, कार्यगत समूह, प्रहरी तालिमको स्थिति तथा कार्ययोजनाबारे जानकारी दिए । अपराध अनुसन्धान सम्बन्धी महत्वपूर्ण तथ्यहरु, देशभरको त्रिवर्षीय अपराध तथ्याङक, अपराध अनुसन्धानका विशिष्टिकृत एकाईहरु, प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय अपराध अनुसन्धान, प्रहरी मेरो साथी, वस्तुगत तथा वैज्ञानिक अनुसन्धानका प्रयास र उपलब्धीहरु एवम् भावी योजनाका बारेमा समेत उनले विस्तृत चर्चा गरे ।
प्रहरी महानिरीक्षक अर्यालले प्रहरी कार्यका विशिष्टिकृत एकाईहरु, प्रहरी सवारी साधनको अवस्था, केन्द्रीय परिचालन कक्ष, विपद उद्धारमा नेपाल प्रहरी, सवारी दुर्घटनाको संख्यात्मक स्थिति, ट्राफिक कारवाही, सवारी व्यवस्थापन, भौतिक संरचना, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सदस्य निर्वाचन, संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागिता लगायतका बिषयमा समेत प्रस्तुतीकरण गरेका थिए । नेपाल प्रहरीमा स्वास्थ्य र कल्याण, संगठन सुधारमा बैदेशिक सहयोग, संघीयतामा प्रहरीको रुपान्तरण व्यवस्थापन, संगठन पुर्नसंरचना, थप दरबन्दी प्रस्ताव, साधन स्रोतको आवश्यकता, सुरक्षा अवधारणबारे चर्चा गर्दै प्रहरी संगठनले तालुक मन्त्रालयसँग राखेको अपेक्षा समेत प्रस्तुत गरे ।
प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालय सुरक्षा महाशाखाका प्रमुख, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको सो समारोहमा वरिष्ठ प्रहरी अधिकृतहरुले सुझाव एवम् सल्लाह समेत प्रस्तुत गरेका थिए ।












प्रतिक्रिया