
प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीबाट टिकट नपाएपछि असन्तुष्टि जनाउँदै गायिका कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र दिएकी थिइन् । तर पार्टीका नेताहरुसँगको छलफलपछि वलीले उम्मेदवारी फिर्ता लिएकी छन् । उनले बामगठबन्धनलाई चुनावमा सघाउने बताएकी छन् । उनी केही समयअघिमात्रै राप्रपाबाट नेकपा एमालेमा प्रवेश गरेकी थिइन् । यस्तो छ कोमल वलीसँग गरिएको कुराकानीः
१. उम्मेदवारी फिर्ता लिनु भएछ नि ?
देश नयाँ चरणमा प्रवेश गरेको छ । म पार्टी (एमाले) प्रवेश गरेको पनि देशमा केही न केही रुपमा राजनीति परिवर्तनलाई संस्थागत गरेर जनताको सेवा गर्न सकुँला कि भन्ने हिसावले हो । पार्टीबाट टिकटको आश्वासन पाएको थिएँ । त्यो प्राप्त गर्न नसकेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको थिएँ । पहिला त प्रत्यक्षमा नै दिने कुरा थियो तर पछि समानुपातिक भएपनि ठिकै छ भन्ने हिसावले चुनावको तयारी थालेको थिएँ । तर मनोनयन दर्ता गर्ने समय भन्दा केही समयअघि मात्रै पार्टीबाट टिकट नपाउने कुरा आएपछि साथीभाईकै सल्लाहमा स्वतन्त्रमा भने पनि उम्मेदवारी दिने कुरा भयो । समय कम छ, त्यसैले अन्य विकल्पको बारेमा पछि सोँच्दै गरौँला भनेर उम्मेदवारी दिएको हो । तर पार्टीबाट उठ्नु र स्वतन्त्रमा उठ्नु धेरै फरक छ । पछि पार्टीका साथीहरुसँग छलफल भयो । नेता शंकर पोखरेललगायतका केन्द्रीय स्तरका नेताहरुको अनुरोधपछि उम्मेदवारी फिर्ता लिएको हुँ ।
२. त्यसो भए नेताहरुले पो फकाए ?
अब म उम्मेदवार उठेपछि पक्कै पनि कडा प्रतिष्पर्धा हुन्छ भन्ने थियो । किनकी मैले धेरैको साथ पाएको थिएँ । मलाई चुनाव लड्न सजिलै थियो तर खाली एउटा पार्टीको सहयोग सद्भाव चाहिएको थियो । पार्टीले गरेको निर्णयमा त्यति धेरै विरोध गर्न मन लागेन । नेताहरु त्यस्तो केही भनेर फकाउनु भएन । तर भविष्यमा तपाईंलाई सम्झन्छौँ, तपाईंको प्रतिभाको कदर गछौँ भन्नुभो त्यसैले मैले केही पनि बार्गेनिङ गरिन यो चोटि । कुनै शर्त राखिन । किनकी पहिले पहिलेको कुराकानी र वचनबद्धताहरुको बारेमा अनुभव छ मलाई, त्यसैले केही पनि भनिन ।
३. त्यसो भए अब बाम गठबन्धन जिताउने अभियानमा ?
यसपटक चाँहि दाङमा सबै सिटमा गठबन्धनको जित सुनिश्चित छ । गठबन्धनको पक्षमा आदरणीय नेतागण र जिम्मेवार कार्यकर्ताहरुसँग काँधमा काँध मिलाएर आफ्नो हैसियत अनुसारको भूमिका पूरा गर्नेछु ।
४. अब तपाईको कलाकारिताको भविष्य चाँही के हो ?
त्यो त मैले गीतमा भनेकै छु, ‘कहिलै बेमानी गर्ने छैन नेता भएपनि, गीत गाउन नि छोड्ने छैन जता गएपनि ।’ शिर्जनशील संगीतकर्मी, गायिका, स्वरकी धनी गुण जुन चाँहि मेरा आमाले मलाई दिनुभयो यसलाई म अझ अघि बढाउनेछु ।
५. अनि दुईटा डुंगामा खुट्टा राखेर कहाँ पुगिन्छ जस्तो लाग्छ?
अरु त के काम छ र मेरो? अरु त कहाँ ध्यान दिनु छ र? एक्लो जिन्दगी हो । गीत संगीत समय मिलेको बेलामा गर्छु नै । विहान–विहान मर्निङवाकमा जान्छु नै । फर्केर आएर रियाज गर्छु नै । अनि योगा गर्छु । त्यसपछि फेरि रियाज गरुँला । त्यसपछि मन लागेको गीत गाउँला । गीत संगीत भनेको मेरो दैनिक कार्य नै हो । यो मेरो जीवनशैलीभित्र नै पर्छ । गीत संगीततर्फ म मरो स्वास्थ्यमा जत्तिकै ध्यान दिन्छु । त्यसलै यसले मलाई कुनै फरक पार्छ जस्तो लाग्दैन । गीत संगीत मेरो जीवननै भएकाले मैले घुट्टा चाँहि राजनीतिमा मात्रै राखेको छु । त्यस्तो दुईटा डुंगामा खुट्टा राखेजस्तो मलाई लाग्दैन ।













प्रतिक्रिया