ललितपुर, २० कात्तिक । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा चर्चित अन्तर्राष्ट्रिय कराते खेलाडी तथा नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन अहिले दक्षिण ललितपुरका गाउँ वस्तीमा घुमिरहेका छन् ।
प्रदेश सभा सदस्यका लागि ललितपुर क्षेत्र नं. १ को ‘ख’ प्रदेश निर्वाचन क्षेत्रको उम्मेदवार भएपछि महर्जन ललितपुरका गाउँबस्तीमा घुम्दै स्थानीयहरूसंग भेटघाट गरेका हुन् । महर्जनलार्इ उम्मेदवार बनाउनका लागि ललितपुर १ को ‘ख’ प्रदेश सभाको निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहबाट पहिलो नम्वरमा सिफारिस भएको थियो ।
ललितपुर क्षेत्र नं. १ को ‘ख’ प्रदेश निर्वाचन क्षेत्रमा गोदावरी नगरपालिकाको ६ वटा, बागमती गाउँपालिकाको ७ वटै वडाहरू र कोञ्ज्योसोम गाउँपालिकाको २ वडाहरू गरी १५ वडा रहेका छन् ।
दक्षिण ललितपुरका स्थानीयहरूसंग भेट्ने क्रममा महर्जन आइतबार बागमती गाउँपालिकाको वडा नं. ३ भट्टेडाँडामा पुगेका हुन् । आफ्नो क्षेत्रमा महर्जनले अब एक महिनासम्म लगातार प्रचास प्रसार गर्ने छन् ।
२०४६ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीति सुरु गरेका महर्जन ललितपुरमा लोकप्रिय मानिन्छन् । आफ्नो दुई दशक लामो राजनीति यात्रामा महर्जन तरुण दलको केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य समेत भए सकेका छन ।
खेलकुद र राजनीतिलाई संगसंगै अगाडि बढाएका महर्जन ०६० सालमा तरुण दलको केन्द्रीय सदस्यमा निर्वाचित हुनुको साथै खेलकुद विभाग प्रमुख बनेका थिए । महर्जन कराँतेका पाँचौं डान तथा राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष समेत हुन् ।
खेलकुद क्षेत्रमा लागेर तीन दर्जनभन्दा बढी स्वर्ण पदक उनले जितेका छन् । महर्जनले देशको नाम राख्न सफल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका रुपमा चिनिन्छन् । उनी प्रशिक्षक पनि हुन् ।
२०६२–६३ को लोकतान्त्रिक आन्दोलनमा उपत्यकामा युवा परिचालन समितिको सदस्य बनेर महत्वपूर्ण भूमिका पनि महर्जनले निभाएका थिए ।
भूकम्पको समयमा पनि कांग्रेसका जिल्ला कार्यसमिति सदस्य समेत रहेका महर्जनले उद्धार, राहत वितरण, पुनस्थापना लगायतमा काम गरेका थिए ।
महर्जनले २०६४ र ०७० सालको निर्वाचनमा वर्तमान अर्थ राज्यमन्त्री उदयशम्शेर राणाको निर्वाचन कमाण्डर बनेर प्रचार–प्रसारको भूमिका निर्वाह गरेका थिए ।
ललितपुरको स्थानीयस्तरमा बाटो, मन्दिर, कुवा र पोखरी निर्माण लगायत समाजिक काममा महर्जनको सक्रियता उदाहरणीय काम गरेको ललितपुर कांग्रेसको भनाइ छ । महर्जनको क्षेत्रमा ३५ हजार मतदाता छन ।
‘म नेता बन्न उम्मेदवारी दिएको होइन’
ललितपुर निर्वाचन क्षेत्र १ ‘ख’ का कांग्रेस उम्मेदवार महर्जनले आफू नेता बन्नकै लागि मनोनयन दर्ता नगरेको बताएका छन् । ‘म नेता बन्नको लागि उम्मेदवार भएको हैन । ललितपुरको दक्षिणी भेगको विकास र समृद्धिका लागि उम्मेदवार भएको हुँ’, उनले भनेका छन् ।
‘मेरो आफ्नो लागि गर्नु पर्ने केही छैन, एउटा प्रदेश सभा सदस्यको हैसियतमा जे जति काम गर्न सक्छु, त्यो म दक्षिण ललितपुरमा बसोवास गर्नेहरूको हितमा हुनेछ’, महर्जनले भनेका छन् ।
उनले २०४८ सालदेखि निरन्तर जितेको एमाले र २०६४ मा जितेको माओवादीले २२ वर्षसम्म ललितपुरको विकास र समृद्धिलाइ रोकेको बताए । महर्जनले अब कम्युनिष्टहरूलार्इ भोट दिएर ललितपुरको भविश्य वर्वाद गर्न नहुने उल्लेख गरे ।













प्रतिक्रिया