–यज्ञप्रसाद सापकोटा
बर्दिया, १९ कात्तिक । कृष्णसार संरक्षण र पर्यटन पर्वधनका लागि बर्दिया जिल्लाका स्थानीय निकायहरुले चासो व्यक्त गरेका छन् । बर्दिया जिल्लाको चिनारीको रुपमा रहेको कृष्णसार संरक्षण क्षेत्रको विकासको लागि स्थानीय निकायले चासो व्यक्त गरेका हुन् ।
कृष्णसार संरक्षण क्षेत्र कार्यालयले आयोजना गरेको जैविक विविधता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय निकायका जनप्रतिनीधिले कृष्णसार संरक्षण र पर्यटन प्रर्वद्धनका लागि चासो व्यक्त गरेका छन् । अन्र्तक्रिया गोष्ठिका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका अध्यक्ष शंकर प्रसाद चौधरीले कृष्णसार बर्दिया जिल्लाको चिनारी भएको हुनाले यसको संरक्षणका लागि जिल्लाका सम्पुण स्थानीय निकायले साथ दिनु पर्ने बताए । बबई नदिका कारण कृष्णसार जोखिममा रहेको बताउँदै बबई नदि व्यवस्थापनका लागि बर्दियामा कार्यालय स्थापना भएकोले छिट्टै नदि व्यवस्थापन हुने उनले बताए । बर्दिया जिल्लाको पर्यटन सञ्जालमा कृष्णसार संरक्षण क्षेत्रलाई जोड्ने कोसिस भईरहेको उनको भनाइ थियो । उनले कृष्णसार संरक्षण क्षेत्रको बस्ती व्यवस्थापनका लागि पनि जिल्ला समन्वय समितिको तर्फबाट पहल गर्ने बताए ।
कार्यक्रमका गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले गुलरिया नगरपालिकाको गहना भनेकै कृष्णसार भएकोले गुलरिया नगरपालिकाले यसको संरक्षणका लागि सक्दो प्रयास गर्ने बताए । उनले गुलरिया नगरपालिकामा पर्यटक भित्र्याउनका लागि महत्वपुर्ण भुमिका कृष्णसार संरक्षण क्षेत्रले खेल्ने बताए ।
कृष्णसार संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष कृष्ण खनालले कृष्णसार संरक्षण क्षेत्रको विकासको लागि संरक्षण क्षेत्रको बस्ती बाधक भईरहेको हुँदा यसको व्यवस्थापनका लागि पहल गर्नु पर्ने बताए । उनले संरक्षण क्षेत्र भित्र रहेको बस्ती व्यवस्थापन नहुँदा कृष्णसार पीडितलाई झन् समस्या थपिएकाले संरक्षण क्षेत्रको विकासको लागि पनि समस्या भएको बताए ।
कार्यक्रममा कृष्णसार संरक्षण क्षेत्रको समस्या, चुनौती र सम्भावनाका बारेमा कृष्णसार संरक्षण क्षेत्रका प्रमुख पुरुषोतम शर्माले जानकारी गराएका थिए । उनले कृष्णसार संरक्षण क्षेत्रमा भएको हाल सम्मको गतिविधिको बारेमा जानकारी गराए ।












प्रतिक्रिया