काठमाडौं, १९ कात्तिक । काठमाडौं क्षेत्र नं. ३ मा प्रतिनिधि सभामा उम्मेदवारी दिएका हरेराम तिमिल्सिना ‘विजय’ले नयाँ सोँच र भिजन भएका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका छन् ।
काठमाडौंको चाबहिलस्थित सरस्वतीनगर बसोबास गर्दै आएका तिमिल्सिनाले पुरानोपुस्तालाई कुनै पनि हालतमा यसपटक पराजित गर्नुपर्ने बताए ।
उनले आफूसँग नयाँ सोँच र भिजन रहेको दाबी गरे । उनले भने, ‘मलाई भोट हाल्न भन्दिन । तर, मभन्दा राम्रो भिजन कुनै उम्मेदवारले ल्याउँछ भने रोक्दैन ।’
‘सधैँ एउटै उम्मेदवारहरू भोट माग्न आउँछन्’, उनले भने, ‘जनताका आकांक्षा र विकासका कार्यक्रम ल्याउँदैनन् । थोरै काम गरेर धेरै प्रचार गर्ने नेता काठमाडौं ३ का मतदाताले चाहेका छैनन् ।’
आफूले नजिते पनि केही उम्मेदवारहरूलाई हराउने क्षमता आफूसँग रहेको तिमिल्सिनाले बताए । ‘मलाई जित्छु भन्ने अपेक्षा छ’, उनले भने, ‘मैले जित्न सकेन भने पनि केही उम्मेदवारहरूलाई हराउने भोट मलाई आउँछ ।’
स्वतन्त्र उम्मेदवारी दिनु अगाडि तपाई कुन पार्टीमा आबद्ध हुनुहुन्थ्यो भन्ने प्रश्नमा तिमिल्सिनाले भने, ‘म कुनै पार्टीको व्यक्ति होइन । सबै पार्टीसँग राम्रो सम्बन्ध छ । स्थानीय मतदाताहरूको आग्रहमा उम्मेदवारी दिएको हुँ ।’
‘पार्टीको झण्डा बोकेर । ब्राण्डेड कार्यकर्ता बनेर । चिया पसल र चौतारोतिर गफिदै उहि पुराना थोत्रा नेताको वकालत गर्ने कि नयाँ र साँच्चै देश बनाउछु भन्ने युवालाई प्रतिनिधि बनाउने ? जिम्मा तपाईं कै’, उनले भनेका छन् ।
काठमाडौं क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसबाट अम्बिका बस्नेत र एमालेबाट कृष्ण राईले उम्मेदवारी दिएका छन् । यी दुबै उम्मेदवारलाई तिमिल्सिनाको स्वतन्त्र उम्मेदवारीले टाउको दुखाइ भएको छ ।













प्रतिक्रिया