१ कार्तिक २०८३, आइतबार

राम्रो नतिजा आउने खेललाई प्राथमिकता दिनु पर्छ : नेपाल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले राम्रो नतिजा आउने खेललाई प्राथमिकता दिनु पर्ने बताएका छन् ।

प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको खेलकुद महासंघले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपालले शनिबार उक्त धारणा राखेका हुन् ।

‘नेपालले राम्रो गर्न सक्ने खेललाई प्राथमिकता दिएर योजना अगाडि बढाउनु पर्छ । समग्रमा सबै खेललाई उत्तिकै प्राथमिकता दिए राम्रो नतिजा आउने खेललाई पनि असर पर्न सक्छ । अरु खेललाई बेवास्ता गर्ने भन्न खोजेको होइन ।’

नेकपा एमालेअन्तर्गतको नेपाल खेलकुद महासंघ र माओवादी केन्द्रअन्तर्गतको अखिल नेपाल खेलकुद महासंघले आयोजना गरेको संयुक्त चुनाव प्रचार प्रसार तथा परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने– ‘खेलकुदलाई विद्यालय तहदेखि नै प्राथमिकतामा राख्न पनि आवश्यक छ । त्यसो भएको खण्डमा राम्रा खेलाडी उत्पादन गर्नुका साथै प्रतिभाको पहिचान गर्न सकिन्छ ।

उनले कम्युनिस्ट जति अरु कुनै पार्टीले खेलकुदलाई माया नगरेको बताउदै हेटौंडाको गौरीटारमा करिब १० वर्षअघि आफैले शिलान्यास गरेको खेलकुद प्रतिष्ठानको निर्माण कार्य कछुवाको गतिमा अगाडि बढेकोमा गुनासो समेत व्यक्त गरे ।

नेपाल खेलकुद महासंघका अध्यक्ष एवं पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि प्रचार प्रसार र परिचालन समिति घोषणा गर्न भेला आयोजना गरिएको बताउदै नेपाली खेलकुदको अवस्था कमजोर भएपनि सम्भावना भने व्यापक भएको विचार व्यक्त गरे ।

उनले ६० वर्षको खेलकुद इतिहासमा कम्युनिस्ट खेलकुद मन्त्री हुँदा बल्ल राष्ट्रिय खेलकुद नीति बनेको बताउदै अरु पार्टी भन्दा नेकपा एमाले र माओवादी केन्द्र दुवैले खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै आएको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले नेपालको खेलकुदमा आमुल परिवर्तन गर्न एउटै उद्देश्य बोकेका दुई पार्टी एक हुन जरुरी भएको बताउदै दुईटै पार्टीको उद्देश्य खासै फरक नभएकोले पनि एकिकरण गर्न गाह्रो नहुने धारणा व्यक्त गरे ।

अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले दुई पार्टीको एकिकरण पछि खेलकुदको विकासमा थप टेवा पुग्ने बताए ।

कार्यक्रममा अध्यक्ष पौडेलले ५०१ सदस्यीय चुनाव प्रचार प्रसार तथा परिचालन समिति गठन गरिएको घोषणा गरिएको थिए ।