बाजुरा, १८ कात्तिक । तरकारी खेतीका लागि ग्रीन हाउस दिने आश्वासनसहित काँग्रेस प्रवेश गरेका गोत्रीका ४० परिवार पुनः एमालेमा फेर्केका छन् । राज्यले दिने सुविधालाई आफूले दिने भनि भ्रममा पारेर प्रवेश गराएको थाहा पाएपछि स्थानीय पुनः एमालेमा फर्केका हुन् ।
पाण्डवगुफा गाउँपालिका–४ का ४० परिवारलाई बार्षिक १ लाख रुपैयाँ, ग्रिन हाउस सहयोग गर्ने र अगुवा कृषक तालिम दिने आश्वासन दिएर काँग्रेसमा प्रवेश गराइएको स्थानीयको आरोप छ । गाउँमा काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार कविराज पण्डित, प्रदेश (क) का उम्मेदवार जनकराज गिरी र वडा अध्यक्ष पवन भण्डारीले बार्षिक रुपमा गाउँमा १ लाख दिने र हाललाई तरकारी खेतीका लागि ग्रीन हाउस र कृषक तालिम दिने आश्वासन दिएर जबरजस्त पार्टी प्रवेश गराएको स्थानीय छप्पी भण्डारीले बताए ।
एक गाउँ चार अगुवा कृषक नीति गाउँपालिकाले लिएको छ । पाण्डवगुफा गाउँपालिका एमालेले जितेको हो । धम्कीसहितको आश्वासन दिएर प्रवेश गराएको गुनासो आएपछि एमाले नेताहरु गाउँ पुगेका थिए । ‘एमालेले लिएको नीतिलाई आफ्नो र बजेट समेत नदिने धम्की दिएका रहेछन्, वडा अध्यक्ष पवन भण्डारीको चलाखी रैछ, कुरा बुझाउँदा उहाँहरु एमालेमा फर्कनुभएको छ’, गाउँपालिका अध्यक्ष समेत रहेका एमाले जिल्ला अध्यक्ष कालीबहादुर शाहीले बताए ।
काँग्रेसले स्थानीय छप्पी भण्डारी, धर्म डँडाल, सुरेन्द्र भण्डारी, लोक भण्डारी, प्रकाश भण्डारीसहित ४० परिवारलाई जबरजस्ती पार्टी प्रवेश गराएको थियो । काँग्रेस प्रवेश भएका ४० परिवार बाम गठबन्धनका नेताहरुलाई सँगै राखेर फिर्ता भएका हुन् । कार्यक्रममा एमाले नेता कर्णबहादुर थापा, माओवादी नेता सहदेब बोगटी, कर्ण विक, प्रतिनिधि सभा उम्मेदवार एमाले नेता लालबहादुर थापा, प्रदेश सभा उम्मेदवार बल्देव रेग्मीले कसैको आश्वासनको पछि नलाग्न सुझाव दिएका छन् ।
यता काँग्रेसले भने कुनै आश्वासन नदिएको बताएको छ । चुनावी प्रचारमा गाउँ गएको बेला हामीलाई एमाले माओवादीबाट कुनै सुविधा र सहयोग मिलेन भन्दै काँग्रेस प्रवेश हुने बताएपछि पार्टीमा स्वागत गरेको काँग्रेस नेताको भनाई छ ।












प्रतिक्रिया