
काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन बढीभन्दा बढी सहभागिता हुनेगरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयुक्तहरुलाई आग्रह गर्नुभएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवटारमा भएको निर्वाचन आयुक्तहरुसँगको भेटमा प्रधानमन्त्रीले मताधिकार लोकतान्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै अधिकतम मत खस्ने र न्युन बदर हुनेगरी व्यवस्थापन गर्न आग्रह गर्नुभएको हो । ‘मतदातालाई आफ्नो मताधिकारी स्वतन्त्र रुपमा प्रयोग गर्नेगरी वातावरण गर्नुहोस्’ बैठकमा प्रधानमन्त्रीले आयुक्तहरुलाई भन्नुभयो, ‘मतदाता भ्रममा नपर्नेगरी मतदाता शिक्षा प्रभावकारी बनाउदै मत बदरलाई न्युन बनाउनेगरी व्यवस्थापन गर्नुहोस् ।’
प्रधानमन्त्रीले निर्वाचनका लागि सरकारकोतर्फबाट आवश्यक सबै सहयोग २४सैं घण्टा गर्न आफू तयार रहेको पनि बताउनु भयो ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा प्रधानमन्त्रीको सुरुदेखिको प्रतिवद्धताकै कारण तोकिएको समयमा सम्पन्न हुने भएको भन्दै धन्यवाद दिनुभएको थियो । ‘प्रधानमन्त्रीज्युकै प्रतिवद्धताका कारण स्थानीय चुनाव सम्पन्न भयो र प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न हुने भएको हो’ डा.यादवले भन्नुभयो, ‘म निर्वाचन आयोगको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु ।’
आयोगका अन्य पदाधिकारीहरुले पनि प्रधानमन्त्रीले चुनावलाई अर्जुनदृष्टि बनाएकै कारण तोकिएको मितिमा चुनाव सम्पन्न हुने निश्चित भएको भन्दै सरकारको तर्फबाट पुर्ण सहयोग पाएको धारणा राख्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले बोलाएको उक्त बैठकमा प्रमुख आयुक्त यादव, आयुक्तहरु इश्वरी पौडेल, ईला शर्मा, सुधिरकुमार शाह र निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा सहभागि हुनुहुन्थ्यो ।












प्रतिक्रिया