काठमाडौं, १४ कात्तिक । जापान सरकारले नेपालको पूर्वमा मेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने रेलमार्ग बनाइदिने भएको छ । तर, त्यसका लागि नेपाल सरकारको औपचारिक प्रस्ताव मागेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बीरबहादुर बलायरले जानकारी दिए ।
आगामी मंसिरमा हुने निर्वाचनको प्रत्यक्षतर्फ मनोनयनका लागि गृहजिल्ला डोटी जानुअघि मंगलबार मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बलायरले भर्खरै आफ्नो जापान भ्रमणमा मेची–काली रेल मार्ग बनाइदिन आफूले आग्रह गरेको जानकारी दिए ।
‘मेची–काली रेल बनाउन मैले गरेको आग्रहमा जापान सरकार सकारात्मक देखियो । उहाँहरुले औपचारिक रुपमा प्रस्ताव ल्याउनुस्, हामीलाई स्वीकार्य छ भन्नुभयो,’ उनले भने– ‘नेपाल फर्केलगत्तै मैले मन्त्रिपरिषदमा यो कुरा प्रधानमन्त्रीसमक्ष पेश गरे । उहाँबाट पनि सकारात्मक जवाफ पाएको छु । जापानका महामहिम राजदूतसँग पनि कुरा भइरहेको छ । छिट्टै क्याविनेटले निर्णय गरी प्रस्ताव पठाउँछ ।’
मन्त्री बलायरले चीनको ताक्लाकोटसम्म सडक निर्माणका लागि आफूले पहल गरिरहेको समेत बताए । ‘धनगढी, दिपायल हुँदै ताक्लाकोटसम्म २९६ किमी सडक खोल्न मैले पहल गरिरहेको छु । यो बीचमा चीनमा उपप्रधानमन्त्री, मन्त्री र महामहिम राजदूतसँग मेरो कुरा भइ प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने– ‘यो सडक योजना आयोगबाट स्वीकृत भई अर्थ मन्त्रालयमा पुगिसकेको छ । अहिले आचारसंहिताका कारण निर्वाचन आयोगले रोकेको छ । निर्वाचनपछि द्रुत गतिमा अघि बढाउँछु ।’
मन्त्री बलायरले प्रदेश नम्बर ७ का जनताले अहिले केरुङबाट भित्रिएको चिनियाँ सामान महंगोमा उपभोग गर्नुपरेको बाध्यता सुनाउँदै खासाको माल ताक्लाकोटबाट सिधै ल्याएर प्रयोग गर्न सकिने बताए ।
काठमाडौं उपत्यकाको नागढुंगा टनेलको काम २०१९ भित्रै सुरु हुने र ४ वर्षभित्र सञ्चालनमा आउने योजना पनि मन्त्री बलायरले सुनाए । ‘अबको ४ वर्षमा सुरुङबाट नौबिसे पुगिन्छ’ उनले भने ।
मन्त्री बलायरले आफ्नो जिल्लाका लागि गरेका विकास निर्माणका कामहरु पनि पत्रकारमाझ राखेका थिए । ‘म सांसद र मन्त्री भएपछि डोटीमा ३७ करोडमा सिटी हल निर्माण, सहजपुर–बोक्टान सडक टेण्डर भइसकेको छ, सिचाई नपुगेको कुनै बाँकी छैन्,’ उनले भने- ‘महाभारत रहेको जंगलको दोहनले म चिन्तित छु । सेनालाई संरक्षणको जिम्मा दिने विषयमा सोचिरहेको छु । यसका लागि प्रधानसेनापति र रक्षामन्त्रीसँग मेरो कुरा भइसकेको छ । यो (जंगल) भएन भने त्यहाँ जनमानस रहँदैन् ।’
उनले आफूले भौतिक मन्त्रालयमा आएर नीतिगत परिवर्तन गरेको बताए ।
‘कम्युनिष्टहरुको कृत्रिम धुव्रीकरण मुलुकको हितमा छैन्’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री बलायरले कम्युनिष्टहरुको कृत्रिम धुव्रीकरण मुलुकको हितमा नरहेको टिप्पणी समेत गरे । ‘धुव्रीकरण राज्यका लागि सुखद भएपनि कृत्रिम धुव्रीकरण सुखद छैन् । लोकतन्त्र र कांग्रेसलाई घेराबन्दीको संकेत देखियो,’ उनले भने– ‘निर्वाचनको पूर्वको अवस्थामा कांग्रेस सचेत छ ।’
उनले ध्रवीकरणको मक्सद बाहिर आइसकेको टिप्पणी गर्दै अगाडि भने– ‘दुई तिहाईको आश गठबन्धनले राखेको छ । यसकै बलमा राष्ट्रपति शासन लगाएर नौलो जनवाद र साम्यवाद लाद्ने खोजिनेछ ।’
मन्त्री बलायरले अब लोकतन्त्रवादीले सोच्नुपर्ने अवस्था आइसकेको भन्दै कांग्रेस निश्चित रुपमा परिमार्जन, जिम्मेवार भएको र सचेत भइसकेको स्पष्ट पारे । उनले भने– ‘लोकतन्त्रमा कांग्रेसले कसैसँग सम्झौता गर्दैन् । कांग्रेसलाई, देशको लोकतन्त्रलाई वाम एकताले कुनै असर गर्नेछैन् ।’















प्रतिक्रिया