२८ आश्विन २०८३, बुधबार

चर्का भाषण गर्ने गगनले नै गरे ६ हजारमा लोभ !

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa

काठमाडौं । नेपाली युवाहरुका ‘आइकन’ हुन, गगन थापा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य र सभासद् समेत रहेका गगन चर्का भाषण गर्न माहिर छन् ।

काठमाडौं ४ बाट अत्याधिक मतका साथ सभासद् निर्वाचित भएका गगनको काठमाडौंको रातोपुलमा भव्य महल छ । तर, अरुलाई आदर्शको पाठ सिकाउने गगन आफैले गैरकानुनी रुपमा राज्यको सुविधा लिएको बताइएको छ ।

काठमाडौंमा घर हुँदाहुँदै उनले राज्यलाई ढाँट्दै आवासका लागि घरभाडाको सुविधा लिएको संसद सचिवालय स्रोतले जनायो । आफूलाई निकै ‘स्मार्ट’ नेता ठान्ने गगनले मासिक जम्मा ६ हजार पाँच सय रुपैयाँ घरभाडामा र्‍याल काडेका हुन् । जबकि रातो पुलमा उनको चारतले बंगला छ ।

अघिल्लो संविधानसभामा धेरै सभासद्हरूले आवास सुविधा लिएका थिएनन् । गगनसँगै रामनाथ ढकाल लगायतका सभासद्ले अघिल्लोपटक यो सुविधा लिएका छैनन् । तर, गगन जस्ता ‘आशालाग्दा’ नेताहरुले समेत ढाँटेर यो सुविधा लिएको देख्दा संसद सचिवालयकै कर्मचारी दंग परेका छन् ।

गगनको सचिवालयले भने उक्त रकम निर्वाचन क्षेत्रमा कार्यालय संचालन गर्नका लागि खर्च गरेको दाबी गरेको छ । तर, संसद सचिवालयले कार्यालय संचालनका लागि भने यो रकम दिएको हैन ।

चुनाव भएको ६ महिना बित्दा पनि गगनजस्ता सभासद्हरूको ध्यान संविधानलेखन भन्दा बिदेश सयर र सुविधा लिनमै केन्द्रित छ । सुविधा लिनमा सभासद्हरूको कतिसम्म लालचा देखाएका छन् भने राजधानीमा करोडौंका महल भएकाहरूले समेत घरभाडा लिएर पदकै बेइज्जत गरिरहेका छन् ।

संसद सचिवालय स्रोतका अनुसार राप्रपाका अध्यक्ष सूर्यबहादुर थापा बाहेक सबै सभासद्हरूले घरभाडा बुझ्दै आएका छन् । जबकि एक सय भन्दा धेरै सभासद्हरूको काठमाडौंमा ठूला महल छन् । खासगरी घरभाडाका लागि भनेर संसद सचिवालयले सभासद्हरूलाई मासिक ६ हजार पाँच सय रुपैयाँ आवास खर्च दिने गरेको छ । तर घर भएकाहरूले पनि त्यो सुविधा लिइरहेका छन् ।

हुन त कानुनमा घर हुने सभासद्हरूले लिन नपाउने भन्ने व्यवस्था छैन । त्यसैको फाइदा उठाउँदै सभासद्हरूले नैतिकता बिर्सेर आफ्नै घरमा बसेर घरभाडा लिइरहेका छन् । ‘सुविधा कसैलाई दिने कसैलाई नदिने कुरो भएन,’ संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्मा भन्छन्, ‘त्यसकारण घर भएका कतिपय माननियहरूले लिनुहुन्छ, कसैले लिनुहुन्न ।’

संसदले सभासद्हरूलाई धारा, पानी तथा टेलिफोनको समेत खर्च बहोर्ने गर्दछ । त्यसकारण घर भएकाहरूलाई आवास खर्च भनेर छुट्टै दिइराख्नु आवश्यक नपर्ने संसद सचिवालयका लेखा शाखाका एक कर्मचारीको भनाइ छ । पीएको सुविधासहित सभासद्हरूले मासिक ७४ हजारसम्म तलब बुझ्ने गरेका छन् ।

कांग्रेस नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेलको ठूला ठूला घर छन् । तर ६५ सय घरभाडा छोडेका छैनन् । मन्त्री भएकाहरूले पनि मन्त्रीपरिषद् कार्यालयबाट तलब भत्ता लिने गर्दछन् । एमाले अध्यक्ष झलनान खनाल, नेता माधव नेपालले पनि घर भाडा लिँदै आएका छन् । पुरुष सभासद्ले सुत्केरी खर्च लिने घटनासमेत संसदमा भएका छन् । नक्कली बिलहरू पेश गरी भ्रमण भत्ता लिने प्रचलन त नौलो भएन । तर अझै पनि नेताहरूले पैसाका लागि राष्ट्रिय ढुकुटी लुट्न छाडेका छैनन् ।