काठमाडौं । तामाङ जातिको कला, संस्कृति, भेषभुषा, बाजा, रीतिरवाज र धर्मलार्इ युवा जमातमार्फत् अन्य जाति तथा आफ्नै समुदायमा सामाजिकिकरण गर्ने उद्देश्यले आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता मिस तामाङको एघारौं संस्करण शुरु भएको छ ।
सोमबार पुतलीसडकस्थित साधना कला केन्द्रमा आयोजित पत्रकार भेटघाटमा अयोजकले जानकारी गराएको हो ।
नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रूपमा ल्होछारको उपलक्ष्यमा आयोजना गर्न लागिएको हो । उक्त प्रतियोगितामा तामाङ चेलीहरूको क्षमता प्रस्तुत गर्नुका साथै नयाँ पुस्तामाझ मौलिक सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने प्लेटफार्म हुने संयोजक मिलन मोक्तानले दावी गरेको छ ।
सोमबारदेखि नै आवेदन खुल्ला गरिएको यो सौन्दर्य प्रतियोगिता अन्र्तगत एक महिना क्रियटिभ क्लोज क्याम्प, मौलिक भाषा, साहित्य र संस्कृति सम्बन्धी विशेष कार्यशाला, सांस्कृतिक एवं सम्पदा क्षेत्रको भ्रमण, ट्यालेन्ट शो लगायतको विशेषता रहेको तामाङ कला–संस्कृति केन्द्रका अध्यक्ष एवं संगीतकार मिलन मोक्तानले जनाए । यसैगरी पाठ्यपुस्तकमा पढ्न र सिक्न नपाइने तर आफ्नो जीवनमा अति आवश्यक पर्ने ब्यवहारिक ज्ञानको विशेष अध्ययन गर्न पाइने पनि मोक्तानले बताए ।
‘नयाँ पुस्तालाई पुरानो ढंगले अघि बढाउन खोज्नु हुँदैन’, उनले भने, ‘उनीहरुले चाहेको सिर्जनात्मक बाटोबाटै हामीले मौलिकता प्रबद्र्धन गर्नुपर्छ ।’
पत्रकार सम्मेलनमा मिस तामाङ २०१६ की विजेता उर्मिला योञ्जन, २०१७ की विजेता पिंकी घिसिङले पनि आ–आफ्ना् अनुभव सेयर गरेका थिए । सन् २००६ बाट शुरु भएको मिस तामाङको पहिलो विजेता जेनिशा मोक्तान हुन्, उनी मिस नेपाल समेत भएकी थिइन् ।
त्यसपछि २००९ मा उपाली ग्याबक, २०१० मा समी बज्यु, २०११ मा रोजिना घिसिङ, २०१२ मा सुमी मोक्तान, २०१३ मा लाक्पा तामाङ, २०१४ मा मुनाश्री तामाङ, २०१४ मा लक्ष्मी मोक्तान, २०१६ मा उर्मिला योञ्जन र २०१७ मा पिंकी घिसिङले मिस तामाङको ताज पहिरिसकेका छन् ।
मिस तामाङ २०१८ का विजेताले नगद १ लाख, क्राउन, अवार्ड र पिन, फस्ट रनर अपलाई ५० हजार, क्राउन, अवार्ड, सेकेण्ड रनरअपलाई २५ हजार, क्राउन र अवार्ड, थर्ड रनरअपलाई क्राउन र अवार्ड, फोर्थलाई क्राउन र अवार्ड, फिप्थलाई क्राउन र अवार्ड तथा अरु १३ प्रतिस्पर्धीलाई विभिन्न अवार्डहरु प्रदान गरिनेछ ।
प्रतियोगिताको ग्राण्ड फिनाल भने माघ ६ गते हुने आयोजकले जनाएको छ । आवेदन फारम साधना कला केन्द्र कमलादी, एभरेष्ट फेशन होम पुतलीसडकमा उपलब्ध हुनेछ र www.misstamangnepal.com वेभसाइटबाट अनलाइन भर्न सकिनेछ ।
यस वर्षको पूर्ण व्यवस्थापन भने तामाङ कला संस्कृति केन्द्रले गरिने भएको छ । केन्द्रका अध्यक्ष मिलन मोक्तानको सभाध्यक्षमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा अतिथिहरु कान्तिपुर दैनिकका रंग पत्रकार एवं चलचित्र निर्देशक फुलमान बल, मिस तामाङ २०१६ का योञ्जन, २०१७ का घिसिङ, हिमालयन इन्टरटेन्मेन्ट ग्रुपका अध्यक्ष सुवास पाख्रिन, सैलुङअनलाइनका अध्यक्ष श्याम योञ्जन, अफिसियल फोटोग्राफर सुदिप पोखरेल रहेका उक्त कार्यक्रम संचारकर्मी अर्जुनबहादुर तामाङले संचालन गरेका हुन् ।















प्रतिक्रिया