काठमाडौं । कवि विप्लव प्रतीक आख्यानकारको अवतारमा प्रस्तुत भएका छन् । उनको पहिलो उपन्यास अविजितको राजधानीमा शनिबार विमोचन गरिएको छ । राजनीतिक चिन्तक प्रदीप गिरी, शिक्षाविद् केदारभक्त माथेमा र गीतकार तथा साहित्यकार दुर्गालाल केसीले पुस्तकको विमोचन गरे ।
तीनैजना वक्ताले विप्लव प्रतीकको लेखनशैलीको मुक्तकण्ठले प्रशंसा गरे । राजनीतिक घटनाक्रममध्ये पनि १९९७ देखि २०४६ सालको क्रान्तिलाई उपन्यासको मुल कथाका रुपमा उतारिएको गीतकार दुर्गालाल श्रेष्ठले बताउनुभयो । ‘घटनाक्रम चित्रण गर्न लेखकले मिहेनत गरेका छन् । चलचित्र हेरेजस्तो लाग्ने भाषा छन् । साह्रै सरल र सहज भाषाशैलीले पनि उपन्यासलाई सरस बनाएको छ ।’
उपन्यास घटनाभन्दा पनि पात्रप्रधान भएको शिक्षाविद् माथेमाले बताए । आफैंले भोगेका समयको वर्णन भएकाले पनि पुस्तकले छोएको उनको भनाई थियो । ‘रमाइलो लाग्यो, किनकी यो उपन्यासमा मैले भोगेको समयमात्रै छैन । म हिंडेको गल्ली, चोकहरुको पनि वर्णन छ । नेवारी खानका बारेमा पनि उत्तिकै चर्चा छ ’ माथेमाले भने । एकै बसाईमा पढेर उपन्यासबारे बोल्न कठिन हुने उनको बुझाई थियो ।
राजनीतिक चिन्तक प्रदीप गिरीले एउटा सिंगो कालखण्डको दस्तावेजका रुपमा उपन्यास अविजित आएको प्रतिक्रिया दिए । मरेर पनि नहारेको अविजितको कथामा उपन्यास बुनिएको उनले सुनाए । उनले भने, ‘नेपालमा विभिन्न समयमा भएका क्रान्ति वा आन्दोलनहरुका अन्धविश्वास, मजशुरी, बाध्यताहरु केलाउन विप्लव प्रतीक सफल छन् । पुस्तकमा रहेको समाजशास्त्रीय दृष्टिकोण, इतिहासका दस्तावेजहरुले यसको ओज अझ बढाएको छ ।’
अमेरिकामा बिताएको ६ वर्षको उपलब्धि अविजित भएको लेखक प्रतीकले सुनाए । उपन्यास अविजित बुबालाई समर्पित गरेका उनले भने, ‘बुबाको बारेमा केही लेख्छु भन्दा उपन्यास बन्यो । बाका बारेमा केही सुनेका, केही पढेका र आपूmले भोगेका कुराहरुलाई उतारेको छु ।’
कार्यक्रममा विप्लव प्रतीकका निकटका साथीहरु अभिनेता सुनिल थापा गायक दीप श्रेष्ठ लगायतको शुभकामना दिएका थिए । श्रेष्ठले प्रतीकको शब्द रहेको गीत हर रात सपनीमा ऐठन हुन्छ गाएर सुनाएका थिए ।
पुस्तकलाई बुक–हिलले प्रकाशन गरेको हो ।















प्रतिक्रिया