२८ आश्विन २०८३, बुधबार

आफ्नै महलमा बसी राज्यबाट घरभाडा लिने वरिष्ठ नेता को–को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

corruption_vrastachar-Bhrastachar

काठमाडौं । चुनाव भएको ६ महिना बित्दा पनि सभासद्हरूको ध्यान संविधानलेखन भन्दा बिदेश सयर र सुविधा लिनमै केन्द्रित छ । सुविधा लिनमा सभासद्हरूको कतिसम्म लालचा देखाएका छन् भने राजधानीमा करोडौंका महल भएकाहरूले समेत घरभाडा लिएर पदकै बेइज्जत गरिरहेका छन् ।

संसद सचिवालय स्रोतका अनुसार राप्रपाका अध्यक्ष सूर्यबहादुर थापा बाहेक सबै सभासद्हरूले घरभाडा बुझ्दै आएका छन् । जबकि एक सय भन्दा धेरै सभासद्हरूको काठमाडौंमा ठूला महल छन् । खासगरी घरभाडाका लागि भनेर संसद सचिवालयले सभासद्हरूलाई मासिक ६ हजार पाँच सय रुपैयाँ आवास खर्च दिने गरेको छ । तर घर भएकाहरूले पनि त्यो सुविधा लिइरहेका छन् ।

हुन त कानुनमा घर हुने सभासद्हरूले लिन नपाउने भन्ने व्यवस्था छैन । त्यसैको फाइदा उठाउँदै सभासद्हरूले नैतिकता बिर्सेर आफ्नै घरमा बसेर घरभाडा लिइरहेका छन् । ‘सुविधा कसैलाई दिने कसैलाई नदिने कुरो भएन,’ संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्मा भन्छन्, ‘त्यसकारण घर भएका कतिपय माननियहरूले लिनुहुन्छ, कसैले लिनुहुन्न ।’

अघिल्लो संविधानसभामा धेरै सभासद्हरूले आवास सुविधा लिएका थिएनन् । रामनाथ ढकाल, गगन थापालगायतका सभासद्ले त्यसपटक यस्तो सुविधा लिएनन् । तर आफूलाई निकै ‘स्मार्ट’ नेता ठान्ने थापाले यसपटक भने ६ हजार पाँच रुपैयाँ घरभाडामा र्‍याल काडे । रातो पुलमा उनको चारतले बंगला छ । संसदले सभासद्हरूलाई धारा, पानी तथा टेलिफोनको समेत खर्च बहोर्ने गर्दछ । त्यसकारण घर भएकाहरूलाई आवास खर्च भनेर छुट्टै दिइराख्नु आवश्यक नपर्ने संसद सचिवालयका लेखा शाखाका एक कर्मचारीको भनाइ छ । पीएको सुविधासहित सभासद्हरूले मासिक ७४ हजारसम्म तलब बुझ्ने गरेका छन् ।

कांग्रेस नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेलको ठूला ठूला घर छन् । तर ६५ सय घरभाडा छोडेका छैनन् । मन्त्री भएकाहरूले पनि मन्त्रीपरिषद् कार्यालयबाट तलब भत्ता लिने गर्दछन् । एमाले अध्यक्ष झलनाथ खनाल, नेता माधव नेपालले पनि घर भाडा लिँदै आएका छन् । पुरुष सभासद्ले सुत्केरी खर्च लिने घटनासमेत संसदमा भएका छन् । नक्कली बिलहरू पेश गरी भ्रमण भत्ता लिने प्रचलन त नौलो भएन । तर अझै पनि नेताहरूले पैसाका लागि राष्ट्रिय ढुकुटी लुट्न छाडेका छैनन् ।