१५ कार्तिक २०८३, आइतबार

कांग्रेसमा रिसाए सिटौला, लिने भए अप्रिय निर्णय !

7.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूलाई प्रत्यक्षमा उम्मेदवार बनाउन पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । उनलाई पार्टीले समानुपातिक सूचीको १ नम्बरमा राखेको छ । समानुपातिक सूचीमा राखिएकोप्रति सिटौलाले पार्टी नेतृत्वसँग असन्तुष्टिसमेत पोखे । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘म जत्तिको नेता समानुपातिकमा बस्न मिल्दैन । यो मेरो कल्पना बाहिरको विषय हो, मैले सभापतिजीलाई साथीहरूको भावनासहित प्रत्यक्षमा उठ्ने विचार राखेको छु,’ सिटौलाले भने, ‘आइतबारसम्म निर्णय होला ।’

आफू नेपालबाहिर रहेका बेला समानुपातिक सूचीमा आफ्नो नाम राखेको सुन्दा स्तब्ध भएको सिटौलाले बताए । ‘नेपाल फर्कनासाथ मैले सभापतिजीलाई भनें, त्यसपछि जिल्ला गएर साथीहरूको भावना पनि बुझें,’ उनले भने, ‘सबै साथीहरूले चुनाव लड्न सुझाव दिनुभएको छ । साथीहरूको भावनाविपरीत मेरो कुनै स्वार्थ छैन ।’ उम्मेदवार चयन गर्ने कांग्रेसको शक्तिशाली संसदीय समितिमा सिटौला प्रभावशाली सदस्य मानिन्छन् ।

राप्रपासँगको गठबन्धनका कारण सिटौलालाई सभापति देउवाले समानुपातिक सूचीमा राख्ने निर्णय लिएका हुन् । उनी निर्वाचन लडदै आएको झापा–३ राप्रपाको राम्रो प्रभाव भएको क्षेत्रमा पर्छ । सभापति देउवाले चुनावै लडदा सिटौलालाई झापा या अन्य जिल्लाको क्षेत्र रोज्न आग्रह गर्दै आएका छन् । तर, उनी आफू लडदै आएको क्षेत्रबाहेक अन्यत्र जान चाहेका छैनन् । ‘अहिलेसम्म निर्वाचन क्षेत्र बदलेको छैन । अहिले आएर किन बदल्नुपर्‍यो भन्दै आएको छु,’ सिटौलाले भने ।

चुनाव हार्ने भएपछि समानुपातिकमा बसेको भन्दै पार्टीभित्रबाटै टिप्पणी हुन थालेपछि सिटौलाले आफू चुनाव लड्न तयार रहेको धारणा राख्दै आएका हुन्। एक पटक पनि समानुपातिक र प्रत्यक्षबाट सांसद नभएको व्यक्तिलाई समानुपातिकको अवसर दिइनुपर्ने उनको तर्क छ ।

राप्रपासँगको गठबन्धनप्रति पनि सिटौलाले असन्तुष्टि पोखे। एक सिट प्रत्यक्ष जित्न कठिनाइ पर्ने पार्टीलाई ६/७ सिट दिएकोप्रति उनले अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाए । ‘सरकारको गठबन्धन एउटा पक्ष हो। चुनावी तालमेल अर्कै पक्ष हो। प्रधानमन्त्रीलाई गठबन्धनको सरकार जोगाउनका लागि निर्णय गर्ने अधिकार दिएका छौं,’ उनले भने, ‘तर, अन्य कुराको हकमा त सम्बन्धित व्यक्तिको भनाइलाई पनि ख्याल गर्नुपर्छ नि ।’