३० आश्विन २०८३, शुक्रबार

परमाणु शक्ति सम्पन्न उत्तर कोरिया स्वीकार्य हुँदैनः अमेरिका

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो मुलुकले परमाणु शक्ति सम्पन्न उत्तर कोरिया कहिल्यै स्वीकार नगर्ने बताएका छन्।

सोलमा दक्षिण कोरियाका अधिकारीहरुसँगको भेटवार्तापछि जनरल म्याटिस बोल्दै थिए ।

उनले प्योङपाङका परमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमले उसको सुरक्षालाई बलियो नभई कमजोर तुल्याउने दाबी समेत गरे ।

रक्षामन्त्री म्याटिसले उत्तर कोरियाली संकटको वाशिङटनले कूटनीतिक हल खोजेको दोहोर्‍याए ।

तर राष्ट्रपति डोनल्ड ट्रम्पसँग स्वर मिलाउँदै म्याटिसले अमेरिका वा उसका साझेदार मुलुकविरुद्ध पारमाणु अस्त्रको प्रयोग गरिए त्यसको ‘व्यापक रुपमा’ र ‘कडा’ सैनिक जवाफ दिइने बताए।

एक हप्ताअघि मात्रै एकजना उत्तर कोरियाकी कूटनीतिज्ञ च्वे सन-हीले उत्तर कोरियालाई परमाणु शक्ति सम्पन्न राष्ट्रका रुपमा स्वीकार्न अमेरिका ‘तयार हुनुपर्ने’ बताएकी थिइन्।

प्योङयाङको परमाणु अस्त्र कार्यक्रमबारे वार्ता गर्न नसकिने बताउँदै उनले भनेकी थिइन्, “कोरियाली प्रायद्वीपमा शान्ति सुनिश्चित गर्नका निम्ति यो एकमात्र विकल्प हो।”

उत्तर कोरियाले यसअघि नै अमेरिकाको जुनसुकै स्थान आफ्नो क्षेप्यास्त्रको पहुँचमा रहेको बताइसकेको छ।

उत्तर कोरियाली अधिकारीहरुले “परमाणु अस्त्र उत्तर कोरियाका लागि जीवन र मृत्युको विषय” भएको बताउँदै आएका छन्।

यसै वर्षको शुरुदेखि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणमा तीव्रता दिएपछि प्योङयाङविरुद्धको आर्थिक प्रतिबन्ध पनि बढाइंदै लगिएको छ।

सुरक्षा परिषद् र अमेरिका लगायतका मुलुकको प्रतिबन्धका बावजुद उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ।

हालैका महिनामा उत्तर कोरियाले छैटौं पारमाणविक परीक्षण गरेर र जापानी आकाशमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिका र जापानसहितका मुलुकहरु उत्तर कोरियासँग क्रुद्ध छन्। – बीबीसी