
– बीबी श्रेष्ठ
आफूलाई समाजवादको संवाहक ठान्ने नेपाली काँग्रेस, जुन दल पटक पटक सरकार र सत्तामा वसेर देशको नेतृत्व गरिरहेको छ । एकछत्र नेपालको राजनीतिमा राज गरेको नेपाली काँग्रेस वीपीले प्रतिपादन गरेको समाजवादको वकालत गरिरहेको छ । भलै त्यसको पृष्ठभूमि र त्यसको औचित्य पुष्टि गर्न भन्दा पनि एकतन्त्र राज गर्न मस्त रहेको नेपाली काग्रेस आफ्नै निरन्तरतालाई नै लोकतन्त्रको जननी सम्झिएको पाइन्छ । पटकपटक प्रधानमन्त्री हुनुलाई नै लोकतन्त्रको मुल मन्त्र सम्झने नेपाली काँग्रेस समाजवादतर्फ उन्मुख हुन भन्दा पनि पद, शक्ति र सत्तामा नै लिप्त रहेको देखिन्छ । यही सत्ताको झिनाझुम्टीमा नै रुमल्लिनुनै नेपाली काँग्रेसको समाजवाद वनेको छ ।
राणा शासनको अन्त्य र लोकतन्त्रको उदयपाश्चात नेपालको राजनीतिमा विभिन्न दलिय पसल खुले । त्यसको मुल अन्त्र्य भनेको जसरी पनि सत्ता र सरकारमा जाने र हालीमुहाली गर्ने बनिदियो । राजनैतिक दलको मुख्य अभिभारा के हो भन्ने भन्दा पनि सत्ता केन्द्रित राजनितिले राजनीति नै दुषित बनाइदियो । विभिन्न चरणमा भएका विभिन्न राजनैतिक आन्दोलन र त्यसले जन्माएको परिणामले नेपालको सन्दर्भमा विभिन्न राजनैतिक दलहरुको जन्म भयो । लोकतन्त्रमा लोककल्याणका लागि गरिने क्रियाकलापलाई नै सर्वोपरि ठानिने हुँदा त्यसको भरपुर दुरुपयोग गर्दै गठन गरिएको राजनैतिक पार्टीको क्रियाकलापले राजनीतिको त्यो अभिष्टलाई नै सखाप पारिदियो । नेपाल जस्तो सानो देशमा पनि सयौँ राजनैतिक दलको स्थापना देश र जनताका लागि नभइ व्यक्तिगत स्वार्थका लागि थियो भन्ने सिद्ध गरिदियो । जुन नेपालको सन्दर्भमा अत्यन्त हानिकारक बनिदियो । ०५२ सालको जनआन्दोलनबाट स्थापित भएको समावेशी, समानुपातिक प्रणालीले नेपालको राजनीतिमा सबैको समान सहभागिता को धेरैथोरै प्रतिनिधित्व भएता पनि त्यसको परिणाम सरकार बनाउने र ढाल्ने अवस्थामा मात्र केन्द्रित हुन पुग्यो, जसका कारणले यो एक दशकमा अनगिन्ती सरकार बनाउने र गिराउने खेलको शुरुवात भयो । सरकार र राज्यमा सबैको समान अधिकार सुनिश्चितताका लागि बनाइएको समावेशी र समानुपातिक राज्य व्यवस्था प्रणालीको मुल मन्त्र के हो भन्ने कुरामा कोही पनि जिम्मेवार देखिएनन् । जिम्मेवारी त केवल सत्ता र स्वार्थमा केन्द्रित बनिदियो । यसैको परिणाम नेपालको राजनीति झन् उधोगति र ओरालो लाग्न पुग्यो । जुन नेपालको राजनीतिमा घातकसिद्ध वनिदियो । यही बीचमा देश र जनताका लागि गठन गरिएको दाबी गर्ने राजनैतिक दलहरु ह्वालह्वाल जन्मन थाले । राजनैतिक दस्तावेजमा देश र जनताको मुक्ति हकहित र उत्थानका ठूला ठूला कुरा गर्ने राजनैतिक दलहरु व्यक्ति परिवारवादमा रम्न थाले । अनि त्यसलाई नै समावेशी र लोकतन्त्रको सुन्दर पक्ष दाबी गरियो ।
स्थानीय तहको निर्वाचन सकेर दशैँको समयमा देशमा कम्युनिष्ट पार्टीहरुले एउटै कम्युनिष्ट पार्टी वनाउने उद्घोषका साथ वाम तालमेल गरे । अचानक सतहमा आएको वाम एकताले देशमा मात्र होइन्, अन्तराष्ट्रिय जगतमा समेत हल्लीखल्ली भयो । नेपालका सन्दर्भमा करिब करिब कम्युनिष्टको पैंसठ्ठी प्रतिशत राजनैतिक अवस्था भएको सन्दर्भमा पनि लोकतान्त्रिाक राजनैतिक दलहरुको कठपुतली बन्नुपर्ने यथार्थ बाध्यतालाई मनन गर्दै एकता गरिएको वाम एकताले नेपाली जनतामा मात्र होइन् विदेशमा समेत यसको अपरिहार्यता महसुस गरिएको पाइन्छ । यद्यपी यो वाम एकतालाई लोकतान्त्रिक पार्टी दाबी गर्ने नेपाली काँग्रेस एवं प्रधानमन्त्री शेरबहादुर देउवाको तत्कालिन समयको अधिनायकत्व लाद्नका लागि चालिएको कदमले नै नेपाली काँग्रेस कति सम्म लोकतन्त्रमा विश्वास गर्दछ भन्ने कुरा पुष्टि भएको छ ।
समान विचारधारा र एउटै गन्तव्य भएको पार्टीहरु मिल्नु कहाँबाट अलोकतान्त्रिक भयो ? यसको उचित जवाफ भने कसैबाट आएको पाइदैंन । नेपालका राजनैतिक अवस्थालाई नजिकवाट विश्लेषण गर्ने हो भने यति धेरै राजनीतिक पार्टीहरु के का लागि भन्ने कुराको प्रश्नचिन्ह खडा भइरहेको सन्दर्भमा यो वाम एकताले साँच्चै सकारात्मक सन्देश दिएको छ । यो सगै र संविधानमा नै व्यवस्था गरिदिएको प्रत्यक्ष निर्वाचित भएको पार्टीलाई मात्र राजनैतिक पार्टीको मान्यता दिने नीति नियमसँगै धुव्रीकरण प्रक्रियाले तिव्रता पाएको छ । जसले अब नेपालमा राजनैतिक पार्टीको संख्या मात्र होइन्, विचार र विकासको नारालाई पनि जर्वजस्त स्थापित गरिदिएको छ । संविधानको यो धारासँगै देशका विभिन्न क्षेत्रमा राजनीति गरिदिएको राजनैतिक दलहरुलाई पनि लोकतान्त्रिक तथा वाम पक्षधर भन्नेमा एकीकृत बनाउन वाध्य बनाइदिएको छ । जुन नेपालको सन्दर्भमा अति उत्तम व्यवस्था हो । जुन पद्धतिले नेपाललाई विकासपथमा लैजानेछ । अब नेपालका सन्दर्भमा कम्युनिष्ट पार्टी र लोकतान्त्रिक पार्टी मात्र हुनेछ । जसले विकासमा प्रतिष्पर्धा गर्नेछ, आर्थिक सम्वृद्धि, समानता, न्यायमा समान भूमिका स्थापित गर्दछ । विचारको प्रतिष्पर्धा हुनेछ । नीति र विचारमा केन्द्रीत रहेर बहस हुनेछ । यही प्रतिष्पर्धामा जनताको मन जितेर ठूलो राजनैतिक दल बन्नका लागि गरिने कर्म केवल जनताको पक्षमा हुनेछ । आर्थिक र विकासमा केन्द्रित हुनेछ । जुन नेपालको सन्दर्भमा अनिवार्य आवश्यकता बनिसकेको छ । स्वच्छ प्रतिष्पर्धाबाट नेता र राजनैतिक दल चुनिने भएपछि देश विकासले तीव्रता लिनेछ । अनेकताका बीचमा रहेको र अनेकौं सम्भावना बोकेको नेपाल जस्तो देशमा विचारले प्रधानता पाएमा विकासको मुल फुट्नेमा कुनै शंका छैन । वाहुबल र अस्वस्थ प्रतिस्पर्धावाट गरिने राजनीति सँधैका लागि बन्द भएपछि विचार, क्षमता, कार्यकुशलतामा प्रतिष्पर्धा हुनेछ । योग्य व्यक्ति, विवादमुक्त, भष्ट्राचारको दाग नलागेको व्यक्ति राजनीतिमा आउने भएपछि त्यसले गर्ने कर्म पनि स्वस्थ हुनेछ । जसले गर्दा रोजगारको ढोका खुल्नेछ, स्वास्थ्य, शिक्षा र रोजगारको चरम सन्तुष्टि र उपलव्धताले समुन्नत नेपाल निर्माण गर्नेछ ।
अहिलेको वाम एकतासँगै लोकतान्त्रिक दलहरुको एकताको प्रयासले पनि अव नेपाल समृद्ध र विकासको पथमा लम्कदैछ भन्ने कुरालाई चित्रित गरेको पाइन्छ । अवको वाटो भनेको कम्युनिष्ट भर्सेज लोकतान्त्रिक शक्ति नै हुनुपर्दछ, जुन मार्गचित्र बन्दै गइरहेको छ । जसले जनताको मन, विकास, आर्थिक सम्वृद्धि र समानता, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको ग्यारेन्टी गर्न सक्दछ, उहि राजनैतिक पार्टी स्थापित हुन सक्दछ । नेपालका सन्दर्भमा यो कम्युनिष्ट र लोकतान्त्रिक दुई दलको स्थापनाले नै देशको मुहार फेर्न सक्दछ ।















प्रतिक्रिया