काठमाडौं, २७ कात्तिक । काठमाडौं सर्वोच्च अदालत छिटो न्याय सम्पादनका लागि प्रभात र सन्ध्याकालीन अदालत पनि सञ्चालनमा ल्याउने तयारीमा जुटेको छ।
यसै विषयमा छलफल गर्न प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले बिहीबार सर्वोच्च अदालतको फुलकोर्ट बैठक डाकेका छन्।
प्रभात र सन्ध्याकालीन अदालत सञ्चालन गर्न आवश्यक कानुनी प्रक्रिया र अन्य पूर्वाधारका विषयमा बैठकमा छलफल हुने सर्वोच्च अदालतका सहायक प्रवक्ता बाबुराम दाहालले जानकारी दिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको ।
न्याय सम्पादनमा ढिलासुस्ती भएको गुनासो आइरहेका बेला सेवाग्राहीको हितलाई ध्यानमा राखेर यस्तो अवधारणा अघि सारिएको हो।
सरकारी कार्यालयमा सेवाग्राहीका लागि दिउँसोमात्र काम हुने गरेको सन्दर्भमा न्यायपालिकाभित्र लागू गर्न थालिएको प्रभात र सन्ध्याकालीन अदालतको अवधारणा कार्यान्वयनमा आए यो नेपालका लागि नयाँ हुनेछ।
फुलकोर्ट बैठकमा छलफलपछि बिहीबार नै यससम्बन्धी संशोधन गर्नुपर्ने कानुनी प्रावधानबारेमा पनि निर्णय लिने सम्भावना छ। नयाँ अवधारणा लागू गर्न जिल्ला अदालत नियमावली २०५२ मा एघारौं संशोधन गरिनेछ। नियमावलीको नियम ३ (क) पछि ३ ख थप गरी अतिरिक्त समय काम गर्ने अदालत तोक्न सक्नेु व्यवस्था प्रस्ताव गरिएको छ।
यो व्यवस्थाअनुसार प्रधानन्यायाधीशले कुनै अदालतलाई अतिरिक्त काम गर्ने अदालतको रूपमा तोक्न सक्नेछन्।
तोकिएको अदालतले अतिरिक्त समयमा गर्ने काम, अतिरिक्त समय निर्धारण र न्यायाधीशलगायत जनशक्तिको व्यवस्था आफैंले मिलाउनुपर्नेछ।
‘सुरुमा काठमाडौं जिल्ला अदालतबाट नयाँ अवधारणा कार्यान्वयन गर्ने तयारी भइरहेको छु, सर्वोच्चका कायममुकायम रजिस्ट्रार श्रीकान्त पौडेलले भने।
यसबारेमा सर्वोच्चले अध्ययन समितिसमेत गठन गरेको थियो।
समितिले सम्भाव्यता अध्ययन गरी न्यायिक प्रक्रिया छिटो, छरितो र पहुँचयोग्य बनाउने रणनीतिक योजनाको लक्ष्य पूरा गर्न यस्तो अदालत कार्यान्वयनमा ल्याउन उपयुक्त हुने सुझाव दिएको थियो।















प्रतिक्रिया