न्यूयोर्क । तालिवानद्वारा पाँच वर्षसम्म बन्धक बनाइएर हालै रिहा भएका एक क्यानेडेली पुरुषले आफूमाथि अतिवादीले चरम दुर्व्यहार गरेको बताएका छन् ।
पाँच वर्षपछि अतिवादीको पन्जाबाट मुक्त भएपछि क्यानेडेली नागरिक जोसुवा बोइलले सो जानकारी दिएका हुन् ।
पत्नी केइटलन कोलम्यान र तीन सन्तानसँगै पाँच वर्षपछि क्यानडा फर्किएका बोइलले क्यानडाको विमानस्थलमा उत्रेपछि सञ्चारकर्मीमाझ अतिवादीको हिंसात्मक व्यवहारको बेलीविस्तार लगाएका छन् ।
उनले तालिवान लडाकुको आततायी क्रियाकलापको खुलासा गरेका छन् । तालिवानले आफ्नी छोरीको हत्या गरेको र पत्नीको बलात्कार गरेको उनले बताए ।
सन् २०१२ मा अफगानिस्तानको एउटा गाउँमा घुम्ने क्रममा उनीहरू तालिवानको अपहरणमा परेका थिए ।
उनीहरूले असावधानीपूर्व युद्धग्रस्त देशको दुर्गम क्षेत्रको भ्रमण गरेको उनीहरूका अभिभावक र आफन्तले बताएका छन् । खतरनाक मुलुकमा भ्रमण गर्नु असावधानी भएको युवतीका पिता जिम कोलम्यानले बताए ।
बोइल र कोलम्यान हिंसाग्रस्त देशमा पुगेको सुन्दा उनीहरूका अभिभावक चकित परेका थिए । ‘गर्भवती पत्नीलाई लिएर खतरनाक स्थानमा लैजानु लापरवाही हो,’ जिम कोलम्यानले भने, ‘खतरनाक क्षेत्रमा यति ठूलो जोखिम मोल्ने कल्पनासमेत गर्न सकिँदैन ।’
आफूहरूको चौथो सन्तानको रूपमा छोरीको जन्म भएको थियो । तर, जन्मिएको केही महिनामा नै तालिवानले हत्या गरिदिएका थिए । तालिवानआबद्ध हक्वानी सञ्जालले पत्नीको बलात्कार गरेको उनले बताए ।
सञ्जालले गरेको प्रस्ताव अस्वीकार गर्दा बदलास्वरूप पत्नीको बलात्कार भएको उनले बताए । ‘तीर्थयात्रीलाई अपहरण गर्न तालिवानले दिएको निर्देशन नमान्दा पत्नीको बलात्कार र छोरीको हत्या भयो,’ उनी भन्छन् ।
अफगानिस्तान र पाकिस्तानको सीमाबाट पाकिस्तानी सेनाले जोसुवा बोइलको उद्धार गरेको थियो । अफगान सीमामा भएको कारबाहीमा उनी सो क्षेत्रमा रहेको अमेरिकी सेनाले सुइँको पाएको थियो ।
बोइलले पाकिस्तानबाट अमेरिकी सेनाको विमानमा उड्न अस्वीकार गरेका थिए । बोइलले यसअघि मुस्लिम विचारधारा भएकी एक महिलासँग विवाह गरेका थिए र उनका दाजु गुआन्टानामो बेमा कैद रहेका थिए ।
अमेरिकी सेनाले आफूविरुद्ध मुद्दा चलाउन सक्ने भन्दै उनले अमेरिकी विमान चढ्न अस्वीकार गरेका थिए । तर, सुरक्षित ढंगले क्यानडा उत्रिएपछि सो त्रास हटेको उनले बताए ।
टोरन्टोको पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै बोइलले आफूहरू तालिवानप्रभावित क्षेत्रमा स्थानीयलाई सहयोग वितरण गर्ने क्रममा अपहरणमा परेको बताए ।
‘अहिलेसम्म कुनै पनि गैरसरकारी संस्था, दातृ निकायका प्रतिनिधि र सरकार नपुगेको स्थानमा जाँदा अपहरणमा परेका थियौँ,’ उनले भने । अपहरणको समयमा कोलम्यानले पहिलो सन्तानको गर्भधारण गरेकी थिइन् ।
यो साता उनीहरू तीन सन्तानसहित स्वदेश फर्किएका छन् । तीनैजनाको जन्म बन्दक अवस्थामै भएको छ । कान्छो सन्तानको स्वास्थ्य अवस्था कमजोर छ । – एजेन्सी















प्रतिक्रिया