काठमाडौ, २५ कात्तिक । संविधानका विवादित मुद्दा टुंग्याउन छाडि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पाको राजनीतिक कार्यक्रम गएको भन्दै भट्टराई पक्षले असन्तोष प्रकट गरेको छ ।
पार्टी कार्यक्रमबारे आफूहरु अन्योलमा रहेको र हिंड्नु अघि मात्र बताएको भन्दै नेता बाबुराम भट्टराईले दाहालप्रति गुनासो पोखेका थिए ।
पार्टीकै आन्तरिक समस्या छिनोफानो गर्न केन्द्रीय समिति बैठक समेत छलेको उक्त पक्षको आरोप रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
‘यस्तो बेला रोल्पा, रुकुम हिंड्नुले पार्टीलाई राम्रो गर्दैन् । बाहिर सन्देश पनि राम्रो जाँदैनु, अध्यक्ष दाहाललाई आइतवार साँझ दिइएको सुझाव उद्धृत गर्दै भट्टराई पक्षका एक नेताले भने, ‘बरु केन्द्रीय समिति बैठक बोलाउनुस् । संविधानलगायतका विषयमा त्यहीं छलफल गरौं ।’
संघीयता, शासकीय स्वरुपमा कांग्रेस, एमालेसहितका दलसँग मत बाझिएपछि दाहालले बैठक प्रक्रिया छाडेर रोल्पा यात्रा तय गरेका हुन् । करिब एक हप्तासम्मको राजनीतिक कार्यक्रमबारे आफू बेखबर भएपछि भट्टराई आक्रोसित भएका हुन् ।
भट्टराईले सोमबार नै प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुवास नेम्वाङ्गसँग समेत परामर्श गरी मंगलबार दिउसो संवैधानिक, राजनीतिक संवाद र सहमति समितिको बैठक बोलाएका छन् । कोइरालाले दाहालको अभियानबारे जिज्ञासा राखेको भन्दै यसरी अघि बढे एमाओवादीलाई नै संकट पर्ने चेतावनी समेत दिएका थिए ।
ुतपाई बैठक बोलाउने, तपाईका अध्यक्ष चाहिं क्रान्ति गर्न जाने , प्रधानमन्त्री कोइरालाले व्यंग्य गर्दै भट्टराईलाई भनेका थिए । जवाफमा उनले अध्यक्ष उपत्यका बाहिर गएपनि संविधानका लागि हुने छलफल रोक्न नहुने र पार्टीका अन्य नेताहरु सहभागी हुने जानकारी दिएको स्रोतले जानकारी दियो ।
कोइरालाले संवाद समितिमा एकमत हुन नसकेका विषय प्रक्रियामा अघि बढाउनका लागि संविधानसभाको फुल हाउसमा अघि बढाउन समेत सुझाव दिएका थिए ।
संघीयतामा पहिचानका मुद्दा र प्रदेशको संख्या १० भन्दा नघट्ने अडान राखेपछि एमाओवादीसँग सत्तारुढ दल कांग्रेस, एमालेसहित टाढिएका हुन् ।
पटक पटक आग्रह गर्दा समेत दाहालले नसुनेको भन्दै कांग्रेसका सभापति समेत रहेका कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सहभागी हुन छाडेका थिए ।















प्रतिक्रिया