आलोक नेम्वांगहरु परिवारलाई खुशी दिन नसक्दा आत्महत्या गर्छन्, तर हाम्रा नेताहरु मुलुकबासीको खुशी लुटेर विदेशमा उपचार गर्दै आफ्नो आयु लम्वाइरहेका छन् । उनीहरुको दीर्घायु मुलुकको समस्या सम्वोधन गर्नेभन्दा पनि समस्या थप्नेतिर उद्धेलित छ । न आफू सही दिशातिर मुलुक डइभिंग गर्छ्न्, न डइभिंग सिट नै छोड्छन् । यो कस्तो विडम्वना हो ? यसको अर्थ नेताहरुको मृत्युको कामना हैन, न आलोकको मृत्युको समर्थन नै हो । यो दुबै नभए पनि आम नेपालीको लागि एउटा क्रुर नियतिको उजागर भने जरुर हो । आखिर किन यस्तो भैरहेछ यहाँ ? लाखटक्काको प्रश्न हो यो । तर, विडम्वना जसले उत्तर दिनुपर्ने हो, उनीहरु त्यसका लागि तैयार छैनन् ।
केही दिन यता मुलुकमा एकपछि अर्को गरेर खराव समाचारहरु झुत्ती खेल्दै फालिम लागेका छन् । त्यो देख्दा यस्तो लाग्छ, सुखद् समाचार त नेपालीको भागमै छैनन् । यसको अर्थ मुलुकमा सुखद् समाचारहरु नै छैनन् भन्ने हैन । छन् तर भए पनि तिनीहरु खराव समाचारको दाँजोमा लिलिपुट छन् । बेन्जामिन डेको फित्ताले नाप्दा समाचारको मूल्य नै नबोक्ने ती समाचार ए. ब्वायडकै कोणबाट ठीक देखिन्छन् । अथाृत्, ब्याड न्यूज इज गुड न्युज ।
मुलुकको पछिल्लो सबैभन्दा खराब समाचार हो, संविधानलाई लिएर भएको ठाडो राजनीतिक ध्रुवीकरण । यसले फेरि एकपटक मुलुकलाई माओवादी द्वन्दभन्दा ठीक अगाडिको अवस्थामा पुर्याएको छ । एकातिर, २०४७ सालको संविधानलाई संसारकै उत्कृष्ट संविधान मान्ने नेपाली कांग्रेसलाई मियो मानेर त्यसको आलोचनात्मक समर्थन गर्ने नेकपा एमाले सुधारिएको संसदीय व्यवस्थामा दाइँ गर्ने खेताला बन्न आइपुगेको छ । अर्कोतिर, त्यो संविधानलाई निकृष्ट मानेर जंगल पस्ने नेकपा माओवादी र उसको मियोमा दाइँ गर्न आइपुगेका मधेसवादी र संघीयतावादीहरु यसलाई किमार्थ मान्ने पक्षमा छैनन् । बाँकी रहेका राजनीतिक दलहरु मात्र हैन, सिंगो मुलुक नै अब यही आधारमा चिरा पर्ने सम्भावना बढ्दो छ । यो फाटो यस्तो अवस्थामा पुग्नेछ, सम्भवत मुलुकमा जो कोही पनि निरपेक्ष रहने अवस्था नै आउँदैन ।
भनिरहनु पर्दैन, नेपाली समाज अनेकौ तहमा विभेद भएको समाज हो । त्यही विभेदले नै जन्माउने हो विद्रोह । माओवादी विद्रोहको मुहान पनि त्यही विभेद थियो । त्यस विद्रोहले ठूलो जनधनको क्षति मात्र गराएन, मुलुकलाई दशकौं पछाडि पनि धकेल्यो । त्यसले सिकाएको पाठ भनेको विभेदको सही सम्वोधन नभएसम्म द्वन्दको अन्त्य हुँदैन भन्ने नै हो । रुप र मात्रामा केही तलमाथि पर्न सक्छ, सारमा यही सत्य हो । तर, पछिल्लो ध्रवीकरण हेर्दा, हिजो माओवादीलाई विद्रोही बनाउनेहरुले त्यस कुराको हेक्का राखे जस्तो देखिदैन । विभेदको उचित सम्वोधन गर्नेभन्दा पनि त्यसलाई धुलो ठानेर कार्पेट मुनि छोप्ने रहर हो कि जस्तो देखिन्छ । त्यसका लागि अहिले संविधानसभाभित्रको अंकगणितको सहारा लिइएको छ । र, त्यसैका आधारमा अगाडि बढ्ने सोच पालेर मुलुकलाई फेरि अर्को चरणको द्वन्दतिर धकेल्न लागिएको हो कि जस्तो छनक मिलेको छ । हो, एमाओवादीको नेतृत्व खराव होला, उसको नियत सफा नहोला । तर, प्रश्न त्योभन्दा पनि महत्वपूर्ण के हो भने हिजो त्यो विभेदमा पारिएको तप्का थियो, केही सीप नलागेर बन्दुक उठाएको त्यसले केही हदसम्म राज्यलाई गलाएकै हो । र, त्यो विभेदलाई सम्वोधन गर्ने अर्थमा सम्झौता गरेर शान्ति प्रक्रियामा आएको हो । हो, त्यो हस्ताक्षर प्रचण्डको थियो तर त्यो हस्ताक्षर एउटा सशस्त्र द्वन्दलाई शान्तिको मार्गमा डोहोर्याउने हिम्मत गर्ने विद्रोही नेताको पनि थियो । समयक्रममा उनी असफल भए होला, त्यो बेग्लै कुरा हो । तर, यो मुलुकमा के प्रचण्ड मात्र असफल भएका हुन् त ? हैन, यो मुलुकमा हरेक राजनीतिक दलका ठूला नेताहरु एकपछि अर्को गरेर असफल भएका छन् । हरेक दलको वरियतामा तीन चार क्रमसम्म रहेका नेताहरु प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सत्तासिन भएकै छन् र उनीहरु एकपछि अर्को गरेर मुलुक र मुलुकबासीको अपेक्षालाई सम्वोधन गर्न नसकेर असफल भएकै हुन् । तर, कोही पनि त्यो यथार्थ स्वीकार्न तयार छैन । एकले अर्कोतिर चोर औंला ठड्याएरहेको बेला बूढी औला तटस्थ बसे पनि बाँकी चार औंला भने आफूतिरै फर्किरहेका हुन्छन् भन्ने हेक्का राख्न मात्र बिर्सिएको अवस्था हो यो ।
आखिर किन यसरी एकपछि अर्को गरेर असफल भैरहेका छन् त हाम्रा नेताहरु ? यसका लागि अब कुनै प्राथमिक तथ्यांकमा आधारित अनुसन्धान आवश्यक नै छैन, माध्यामिक तथ्यांकमा आधारित भएर सोझै सकिन्छ, अकर्मण्यता, इच्छाशक्तिको अभाव र खराव नियत । यी तीन बुँदालाई अलि लम्ब्याउँदा एउटा यस्तो सूची तयार हुन्छ ।
– राजनीतिक विचारशुन्यता
– प्रजातान्त्रिक संस्कारको अभाव
– पार्टी हैन, कोटरी मात्रै बनेको स्थिति
– सन्तान दरसन्तानसम्मलाई नेतृत्व विरासतमा दिने लोभ
– मुलुकलाई नेतृत्व दिन तैयार नै नभएको अवस्था
– राजनीतिक सुझबुझ र क्षमताको अभाव
– त्याग र समर्पणको खडेरी
– अरौटे भरौटे र खेताला चिन्तन
– राम्रा हैन, हाम्रालाई केन्द्रमा राख्ने सोच
– परिवर्तनको जनचाहनालाई सम्वोधन नगर्ने लिडेढिपी चिन्तन
– नातावाद, कृपावाद र फरियावादको जहाँनिया प्रभृति
– माथिबाट झर्ला र पाउँला भन्ने आशे दोस्रो पुस्ता
– लालफित्ताशाही प्रशासनको वैशाखी
– फौबञ्जारहरुको पहुँच र प्रभाव
– वादको आधारमा राजनीतिक ध्रवीकरण भएको समाज
– र, पार्टीपिच्छेका मूक अमूक जनता
यी बाहेक अरु पनि कारण गनाउन सकिन्छ तर पनि प्राथमिक कारणहरु यिनै हुन् । दल र नेतृत्वमा हुने व्यक्तिको व्यक्तिगत सोच र क्षमताको आधारमा क्रम तल माथि पर्न सक्छ, पार्न सकिन्छ, यो बेग्लै कुरा हो ।
उपर्युक्त कारणहरुको यथार्थ सम्वोधन नभएसम्म मुलुकमा द्वन्द सकिने हैन, पुरानो शिराको बैठान भए पनि नया शिराबाट उठान हुन्छ नै । यसबाट मुलुक यो या त्यो नाम वा कलेबरमा अन्तहीन द्वन्दमा फसिरहन्छ । केही यथास्थितिवादी सोच राख्नेलाई त्यस्तो नलाग्न सक्छ । तर, समाज विकासको सिद्धान्तलाई स्वीकार्ने हो भने योभन्दा फरक चित्र प्रस्तुत हुनै सक्दैन । रुप परिवर्तन होला तर सारमा द्वन्द समाजको नियम हो र यो भैरहन्छ ।
अब प्रश्न उठ्छ, के वर्तमान नेपालको राजनीतिक नेतृत्वबाट यी समस्याहरुको हल सम्भव छ ? लाखटक्काको प्रश्न हो यो । मुलुकका प्रमुख्य राजनीतिक दल र तिनीहरुका नेताहरुको अहिलेसम्मको नेतृत्व क्षमता र कार्यब्यापारलाई हेर्ने हो भने सिधै भने हुन्छ, सम्भव छैन मात्र हैन असम्भव नै छ । किनकि, मुलुकका तीन मुख्य राजनीतिक दल र मधेसवादी दलहरु एकपटक मात्र हैन, पटक पटक सत्ताको साँचोमा परीक्षण भैसकेको अवस्था हो यो । तिनीहरुका नेता सत्ताको कठघरमा उभिइसकेको परिस्थिति हो यो । तर, तिनीहरुको ट्याक रेकर्ड हेर्ने हो भने नकारात्मक छ । कांग्रेसका वरिष्ठ नेता देउवा धेरैपटक प्रधानमन्त्रीका रुपमा परीक्षण भैसके । उपसभापति रामचन्द्र पनि उपप्रधानमन्त्रीसम्म पटक पटक परीक्षण भैसके । महामन्त्री प्रकाशमान अहिले नै उपप्रधानमन्त्री छन्, अर्का महामन्त्री सिटौला पनि परीक्षण भैसके । परीक्षण हुन बाँकी पार्टी सभापति सुशील कोइराला अहिले सत्ताको बागडोर सम्हालिरहेका छन् । उनको कार्यशैली हेर्दा पनि अब त खुट्टी देखेरै पत्याए भन्ने स्थिति छ । यसरी सबै कांग्रेसी लिटमस टेस्ट देखिसकेका जनता यिनीहरुबाट अब केही हुन्छ भन्ने आशामा नै छैनन् । यो पार्टीको अर्को पुस्ता पनि पराश्रित मानसिकताको छ , माथिबाट झरेर खाउँला भन्ने आशे पुस्ता । अबको २० वर्षसम्म पनि यो पार्टी यही मानसिकताले डोहोरिन्छ । वीपीको सपना र गणेशमानको त्याग त बेचेरै खाइसके । मुलुकमा सबैभन्दा लामो समय सत्तासिन भएर पनि केही गर्न नसकेको यो पार्टीबाट अब के नै पो आशा गर्न सकिन्छ र ?
मुलुकको दोस्रो ठूलो दल एमालेको हालत पनि योभन्दा खासै भिन्न छैन । नाम कम्युनिष्ट भए पनि यसमा कुनै चरित्र पनि नाम अनुसारको छैन । न यसका नेताहरु अब त्यो मूल्य, मान्यता र आदर्श नै बोक्ने सामर्थ राख्छन् । संसदीय दलदलमा फसेको यो पार्टी अब त पूरै सुधारिएको संसदीय व्यवस्थाको पुच्छर समातेर वैतरणी तर्न खोजिरहेको छ । यस पार्टीमा अहिले एक नम्बरका नेता हुन् केपी ओली । विगत ३० वर्षदेखि पार्टी हाइकमानमा रहेका यी नेता सरकारमा पटक पटक उपप्रधानमन्त्री पनि भैसके । स्वस्थ भएको बेला उनको सत्ता सञ्चालन पनि देखिएकै हो । अहिले त रोगी पनि भएका छन् । पछिल्लो पटक सहानुभूतिको मतसहित पार्टी मुखियामा आएका यिनले अहिलेसम्म न पार्टीको पूर्ण केन्द्रीय समितिको बैठक बसाउन सकेका छन्, न पोलिटब्युरो। स्थायी समिति र विभागजस्ता पार्टी संरचना नै निर्माण गर्न सकेका छन् । गुटका आधारमा पार्टी सञ्चालन गर्ने र जनता र पार्टी पंक्तिले अस्वीकार गरेका महेश प्रभृतिलाई मन्त्री बनाएर मैले चाहे भने जे पनि गर्न सक्छु भनेर जनता र पार्टीपंक्तिलाई चुनौति दिरहेका छन् । दुई नम्बरका झलनाथ र तीन नम्बरका माधव नेपाल पनि प्रधानमन्त्री भैसके । उनीहरुको गति मति पनि देखिएकै हो । चार नम्वरका वामदेवले त उपप्रधानमन्त्रीमा ह्याट्कि नै गरिसके । त्यसपछि १० नम्वर सम्मका नेता पनि सत्तामा छिरिसकेका छन् । एमाले नेतृत्व त अवको ३० वर्ष पनि यो घेराभन्दा बाहिर जाँदैन । नाम कम्युनिष्ट भएर के गर्नु, यसको दक्षिणपन्थी गति हेर्ने हो भने उदेकलाग्दो छ । त्यसैले यसबाट पनि आशा गर्न सकिने छाँट छैन ।
तेस्रो दल एमाओवादी त आफैं परीक्षणमा रहेको पार्टी हो । छोटो समयमै अनेक चिरा र गुट उपगुटमा विभक्त यो पार्टी खै कस्तो पार्टी हो भन्नै सकिने स्थितिथ छैन । पानीको फोका जस्तो छ यो पार्टी । यद्यपि, यसका दुई ठूला नेता प्रचण्ड र बाबुराम प्रधानमन्त्री भएर निधारभरिको असफलताको टीका लगाएर जग हसाइरहेका छन् । यिनीहरुलाई बन्दुक बोक्न आए पनि आम जनताको समृद्धि ल्याउन आउँदैन रहेछ, मिलेर यात्रा गर्न आउँदो रहेनछ । नाम कम्युनिष्ट भए पनि यस पार्टीका नेताहरुको चरित्रमा आउको उग्रस्खलनले यो पार्टी त एमाले जति समय पनि कम्युनिष्टजस्तो नदेखिने स्थिति बनिसकेको छ । यसबाट जनताको ठूलो अपेक्षा थियो, रातारात सोत र भैसक्यो । अब त यो प्रचण्ड पार्टी भने हुन्छ ।
मुलुकमा रहेका मधेसवादी दल त सत्ताका ढडिया हुन् । आफूलाई मधेसी जनताको मसिहा भन्नेहरु कताबाट सत्ताको माछा कुम्ल्याउन पाइन्छ, त्यतैत्यतै ढडिया थाप्दै हिड्छन् । दशगजा पारिसँगको साइनोले फुल्ने यिनीहरु भारतमा मोदी आएपछि आफैं चाउरिन थालेका छन् । त्यस्तै जातिवादी दलहरु पनि बाहिरियाहरुका एजेण्डासेटर जस्ता देखिन्छन् । उनीहरु समाजमा सद्भाव हैन, वैरभावहरुको खेती गरिरहेका छन् । यो विषखेती मुलुकमा धेरै टिक्दैन । त्यसैले यिनीहरुको भविष्य छैन ।
पञ्चायतको अपुताली पाएका फुलबुट्टे राप्रपाहरु हलो र गाइ लिएर आएका छन् । हलो जोत्नका लागि गाईको छोरो चाहिन्छ । त्यसैले संजोगले अझै पनि यिनीहरुबीच सहगोत्री साइनो छ । गाईको पुच्छरले बैतरणी तारेर २४ सिटमा पुर्याएको गाइपार्टी तामा र त्रिशूल भएका पैसा र भाइपार्टीमा परिणत भएपछि त्यो भ्रम पनि अब चाँडै सकिने लगभग निश्चित छ । अरु नानाथरि नाममा समानुपातिक च्याँखे थाप्ने दलहरु त वर्षाका च्याउन न हुन् । वर्सा रोकिएपछि तिनीहरुमा टुसा नै पलाउँदैन ।
यसरी मुलुकको मियो राजनीति र त्यसलाई हाँक्ने राजनीतिक दल र तिनीहरुको नेतृत्वको ट्याक रेकर्ड हेर्दा मुलुक निराशा र कुण्ठाको बाटोमा थप अग्रसर हुने देखिन्छ । यसको मूल कारण पार्टी नेतृत्व नै हो । तर, पनि यिनीहरु त्यो यथार्थलाई स्वीकार्दैनन् र सधैभरि सत्ताको बागडोर आफैंमा राखेर आफ्नो नालायकीपनले मुलुकको भविष्य र मुलुकबासीका सपनाहरुको हत्या गरिरहेका छन् । यी सपनाका हत्याराहरु आफ्ना जोजोम्यानहरुको सिन्डिकेट बनाएर मृत्युपर्यन्त शासन गर्न चाहन्छन् । त्यसका लागि यिनीहरुले पार्टीमा त सेटिंग मिलाइसके, संविधानमा पनि त्यही किसिमको सेटिंग खोजिरहेका छन् । अहिले संविधान बन्न नसक्नुको मूलकारण पनि उनीहरुकै स्वार्थहरुको सम्वोधन हुने खालको सेटिंग मिलाउन नसकेरै हो । यिनीहरुको नियतमै खोट छ, सत्ता बिना स्वास पनि फेर्न नसक्ने यी जुकाहरुलाई सामान्यतः कसैगरी पनि हटाउन सकिन्न । प्रतक्ष्य चुनाव गरौं भनौ भने जनताले हराउँछन् भनेर मान्दै मान्दैनन् । दुई तीनवटा सुरक्षित क्षेत्रबाट चुनाव उठ्छन् , वादमा बाँडिएको समाजले उनीहरुलाई एउटा न एउटा ठाउँबाट जिताइहाल्छ । त्यस्तो भएन अर्को पार्टीलाई कमजोर उम्मेद्वार दिन लगाएर पनि जितिहाल्छन् । बूढा भएर या विरामी भएर मर्छन् र बाटो खुल्ला गरिदिन्छन् भन्दा पनि मुलुकको ढुकुटी रित्याएर विदेशमा उपचार गरेर आयु लम्व्याइरहेकै छन् । दूर्घटनामा पलान् भनौ भने पनि पूर्वप्रधानमन्त्री या मन्त्रीका रुपमा प्राडो पजेरोमा प्रहरी पहरासहित यात्रा गर्छन्, त्यस्तो हुने कमै सम्भावना छ । विद्रोह हुने सम्भावना पनि टाढा टाढासम्म देखिदैन । अनि कसरी मुक्त हुन्छ मुलुक यी नालायकहरुको सिन्डिकेटबाट ?
अहिलेको लागि लाखटक्काको प्रश्न हो यो । तर, विडम्वना उत्तर आउने दिशातिर घनघोर कालो बादल मडारिइरहेको छ । टाढा टाढासम्म हेर्दा पनि चादीको घेरा देखिरहेको छैन । कसरी खोज्ने होला चाँदीको घेरा ? कसरी हटाउने होला कालो बादल ? यो सोच्दासोच्दै या त सिंगो मुलुकनै डिप्रेसन गएर आत्महत्या गर्नुपर्ने स्थिति आउँछ या त मुलुक छोडेर बाहिरिनुपर्ने स्थिति सिर्जना हुन्छ । कसरी मुलुक भनेर हरेक दिन हैन, छिन छिनमा मरेर बाँच्न सकिन्छ र ? झ्ट्ट पढ्दा साह्रै निराशावादी सोच जस्तो लाग्न सक्छ तर गम्भीर भएर सोच्नुहोस् त अहिलेका राजनीतिक पार्टी र नेताहरुको आचरण र प्रवृत्ति हेर्दा योभन्दा फरक सोच्नै सकिदैन । खबरदार, तिमीहरुलाई हाम्रा सपनाको हत्या गर्ने अधिकार छैन । आउने पुस्ताको भविष्य चकनाचुर पार्ने अधिकार छैन । या त तिमीहरु आफैं सप्र, हैन समयसँग सबैलाई सपार्ने औषधी छ । आगे तिमीहरु नै जान ।














प्रतिक्रिया