काठमाडौं, २२ असोज । एमालेले तालमेल र एकतालाई सार्थक बनाउन तीन दलबीच तालमेल गरिएका सबै क्षेत्रमा जित्नेगरी सन्तुलित सिट बाँडफाँड हुनुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति बैठकमा सदस्यहरूले ६०/४० को अनुपातका नाममा हार्नेगरी सिट बाँडफाँड गरिए घातक हुने भन्दै औचित्यपूर्ण रूपमा सिट र क्षेत्रको बाँडफाँड हुनुपर्ने सुझाब दिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘तालमेल निरपेक्षभन्दा पनि सापेक्ष ढंगले सबैतिर जित्नेगरी गरिनुपर्छ भन्ने अधिकांशको सुझाबका आधारमा त्यसैअनुसार सिट बाँडफाँड औचित्यपूर्ण हुने बैठकले निष्कर्ष निकालेको छ,’ स्थायी समिति सदस्य किरण गुरुङले भने, ‘जित्ने आधार खोज्दा अनुपात तलमाथि हुने स्थिति भयो भने पनि आपसी समझदारीका आधारमा व्यावहारिक हिसाबले मिलाउँदा उपयुक्त हुन्छ भन्ने सबैको सुझाब छ ।’
अनुपात मिलाउन सबै जिल्लामा दुवै पार्टी निल नहुने गरी सिट बाँडफाँड गर्ने, ०७० को परिणाम र ०७४ वडाध्यक्षको मतलाई आधार मान्ने भनिए पनि ती सबै आधार व्यावहारिक नहुने र पहिले एवं पछिल्लो मत परिणाममा तलमाथि हुने भन्दै पछिल्लो मतलाई नै मुख्य आधार मान्नुपर्ने बैठकमा अधिकांशले सुझाब राखेका छन् । सचिवालय सचिव प्रदीप ज्ञवालीले क्षेत्र र सिट बाँडफाँड जटिल नरहेको दाबी गर्दै एकता संयोजन समितिद्वारा गठित कार्यदलले सहज रूपमा टुंगो लगाउने बताए । ‘तालमेल मात्रै भइदिएको भए जटिल पनि हुन सक्थ्यो, तर हामी एउटै कम्युनिस्ट पार्टी बनाउने उद्देश्यसाथ अघि बढेका कारण सानातिना समस्या पनि सहजै समाधान गर्छौँ,’ ज्ञवालीले भने ।
क्षेत्र र सिट बाँडफाँडका लागि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको संयुक्त कार्यदलले बिहीबारदेखि नै गृहकार्य गरिरहेको छ । जित्ने कुरालाई मुख्य आधार बनाउँदा अनुपातमा केही तलमाथि हुन सक्ने एमाले नेताहरूको भनाइ छ । स्थानीय तहको निर्वाचन परिणामलाई आधार मान्दा माओवादी केन्द्र धेरै जिल्लामा तेस्रो र दोस्रो स्थानमा रहेका कारण त्यसलाई पनि मिलाएर तालमेल गर्नेगरी कार्यदलले गृहकार्य गरिरहेको छ । बैठकमा सिट बाँडफाँड कार्यदलका तर्फबाट महासचिव ईश्वर पोखरेलले मापदण्ड र कार्यप्रगतिबारे बैठकमा ‘ब्रिफिङ’ गरेका थिए ।
कांग्रेसलाई एमालेको जवाफ : अराजनीतिक र हतासको अभिव्यक्ति
एमालेले वाम एकताबारे कांग्रेसले हतास र विचलित अभिव्यक्ति सार्वजनिक गरेको निष्कर्ष निकालेको छ । स्थायी समितिको शनिबारको बैठकमा एकताको घोषणापछिको तरंगबारे समीक्षा गर्दै कांग्रेसका कतिपय नेताका अभिव्यक्तिले बेचैन र अत्यासलाई अभिव्यक्त गरेको भन्दै अराजनीतिक टिप्पणी नगर्न ध्यानाकर्षण पनि गरेको छ ।
‘एकताबाट कोही पनि विचलित हुन जरुरी छैन, तर कांग्रेस र त्यस पार्टीका कतिपय नेताका अभिव्यक्तिले बेचैनी र अत्यासलाई अभिव्यक्त गरिरहेको छ,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘हाम्रो एकता अधिनायकवादतर्फको यात्रा, लोकतन्त्रमाथिकै खतराका रूपमा हचुवा र अराजनीतिक टिप्पणी नगर्न हामी आग्रह गर्दै छौँ, त्यसले उहाँहरूको हतासा र विचलनको अभिव्यक्ति मात्रै प्रकट हुन्छ ।’ शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले वाम एकतालाई अधिनायकवादतर्फको यात्राका रूपमा संज्ञा दिँदै लोकतन्त्रमाथि खतरा देखिएको निष्कर्ष निकालेको थियो ।
असन्तुष्ट खनाल एकता संयोजनमा थपिए
एमाले वरिष्ठ नेता झलनाथ खनाल तीन पार्टीको एकता संयोजन समितिको सदस्यमा थपिने भएका छन् । पार्टी कार्यालय, धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष केपी ओलीले सामान्य त्रुटिका कारण खनालको नाम छुटेको भन्दै संयोजन समितिमा खनालको नाम थपिने प्रस्टीकरण दिएका हुन् ।
‘वरिष्ठ नेता झलनाथ खनाललाई समिति नराखिएको भन्ने कुरा बाहिरी अफवाह मात्रै हो, बैठकमा अनुपस्थित रहेका कारण हस्ताक्षर छुटेको भन्दै अबदेखि समितिमा उहाँ रहने कुरा अध्यक्षले प्रस्ट पार्नुभएको छ,’ स्थायी समिति सदस्य किरण गुरुङले भने, ‘अबदेखि समितिमा उहाँ पनि रहनुहुनेछ ।’ खनाल थपिएसँगै ८ सदस्यीय संयोजन समिति नौ सदस्यीय हुनेछ ।
बैठकमा खनालले समितिमा नराखिनुको कारणबारे जिज्ञासा राख्दै असन्तुष्टि राखेका थिए । यद्यपि, तीन दलबीच समितिमा आठ सदस्य रहने सहमति भएको छ । एमालेबाट अध्यक्ष केपी ओलीसहित माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल चार सदस्यले प्रतिनिधित्व गर्दै आएका छन् । खनालको स्थानमा पोखरेललाई राखिए पनि असन्तुष्टिपछि ओलीले उनीसमेत थपिएको जानकारी गराएका हुन् ।
वाम प्रगतिशील राष्ट्रवादी गठबन्धनको तीन पार्टी एकता संयोजन समितिमा नराखिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल असन्तुष्ट थिए । उनी १७ असोजमा तीन पार्टीको एकता घोषणापछिको संयोजन समिति बैठकमा सहभागी थिएनन् । बैठकमा उनले पार्टीमा छलफल र निर्णय नै नगरी आफूलाई समितिमा नराखिनुको कारण र बाहिर मिडियामा आएको समाचारबारे अध्यक्ष ओलीसमक्ष असन्तुष्टि पोखेका थिए ।
एकता कार्यान्वयन गर्न जिम्मेवार र लचिलो बन्ने
बैठकले तीन दलबीचको एकता तालमेलसम्बन्धी निर्णय पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि व्यवहारमा जिम्मेवार एवं लचिलो ढंगले प्रस्तुत हुने निर्णय गरेको छ । त्यस्तै, एकताको निर्णयलाई स्वागत गर्दै ६ बुँदे सहमति बैठकले अनुमोदन गरेको छ ।
सरकार परिवर्तनको खेलको प्रतिवाद
एमालेले आफ्नो पार्टी चुनावको मुखमा सरकार परिवर्तनको खेलमा नरहेको स्पष्ट पार्दै आचारसंहिताविपरीत मन्त्री हेरफेर गरेर निर्वाचन सार्ने षड्यन्त्र गरिए कडा प्रतिवादमा उत्रिने चेतावनी पनि दिएको छ । ‘हामी निर्वाचनको मुखमा सरकार परिवर्तनको पक्षमा छैनौँ, यही सरकारले चुनाव गराउनुपर्छ भन्ने मान्यतामा छौँ, तर निर्वाचन आचारसंहिताविपरीत मन्त्री हेरफेर र पुनर्गठन गर्दै चुनावलाई अन्योलमा धकेल्ने, पछि सार्ने खेल भयो भने एमालेलाई किमार्थ स्वीकार्य हुनेछैन,’ सचिवालय सचिव ज्ञवालीले भने, ‘तालमेललाई निहुँ बनाएर सरकार परिवर्तन गर्न खोजियो भने हामी कडा प्रतिवादमा उत्रिनेछौँ ।’












प्रतिक्रिया