काठमाडौं, २१ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आवश्यक परे मन्त्रिपरिषदबाट फिर्ता हुन तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बिहान बसेको संसदीय दलको बैठकमा अध्यक्ष दाहालले आवश्यक परे माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता बोलाउन आफू तयार रहेको बताएका हुन् ।
‘हामी कांग्रेसलाई धोका दिने पक्षमा छैनौँ’, दाहालको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता गर्न आग्रह गरेमा सबै मन्त्रीलाई फिर्ता बोलाउन म तयार छु ।’
अध्यक्ष दाहालले मुलुकको राजनीतिक अवस्थामा केही फेरबदल आएको भन्दै माओवादी केन्द्रका मन्त्री र सांसदहरूलाई सबै परिस्थितिको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
संसदीय दलको मुख्य सचेतक रेखा शर्माले अध्यक्ष दाहालले एमाले–माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच भएको गठबन्धनका विषयमा जानकारी दिएको बताउनुभयो ।
‘अध्यक्षज्यूले अहिलेको राजनीतिक अवस्थाका विषयमा जानकारी दिनुभयो’, शर्माले भनिन्, ‘अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको छ ।’
लामो समयपछि बसेको संसदीय दलको बैठकमा अध्यक्ष दाहालले आफ्ना सांसदहरूलाई तत्काल राजधानी नछाड्न निर्देशन पनि दिएका थिए ।











प्रतिक्रिया