काठमाडौं, २१ असोज । कमजोर र अपरिपक्व राजनीतिक अवस्थामा विदेशीले खेल्न खोज्नु वा खेल्नु कुनै आश्चर्य होइन । हाम्रो आन्तरिक अवस्था र नेताको शैली हेर्दा त्यो स्वाभाविक पनि हो ।
हाम्रो भूराजनीति अन्तर्राष्ट्रिय ‘चियो’ लाई निम्त्याउने प्रकृतिको छ भने कूटनीतिक संरचना लथालिंग भइसकेको छ । पुरानो जस्तो बलियो र परिपक्व कूटनीतिक संरचना अहिले छैन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
कूटनीतिमा लहड र अल्लारेपन देखिएको वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय ‘चियो’ र ‘चलखेल’ बढ्नु स्वाभाविक हो । मुलुकभित्र शक्ति मुलुकको प्रतिस्पर्धा चलेको कतै छिपेको छैन । कहिले पश्चिमा शक्ति यहाँ हावी हुन्छ भने कहिले छिमेकीहरूबीच नै प्रतिस्पर्धा भइरहन्छ । यहाँको राजनीतिक तरलतामा यतिबेला दुई छिमेकको प्रतिस्पर्धा सतहमा देखिन थालेको छ ।
नेपालमा गोप्य रूपमा भारत, चीन र पश्चिमा मुलुकका नेता तथा निर्देशित व्यक्तिहरूको चर्को आउजाउ र राजनीतिक भेटघाट हुने गरेको छ । उनीहरू कुनै न कुनै अवसर खोजिरहेका हुन्छन् । यो प्रक्रिया लामो समयदेखि जारी छ । अहिलेजस्तो राजनीतिक अवस्थामा यस्तो सक्रियता बढ्नु स्वाभाविक हो । छिमेकीहरू (भारत र चीन) को आन्तरिक प्रगति र विकासले नेपालमा पश्चिमाको उपस्थिति पनि बढदो छ । त्यसलाई निस्तेज पार्न छिमेकीहरू पनि उत्तिकै सक्रिय छन् । दुवै छिमेकी उदाउँदो शक्तिका रूपमा अघि बढेकाले नेपालमा कूटनीतिक चाप बढदै गएको छ ।
नेपालमा राजनीतिक मर्यादा नै नहुने अवस्था केही समयमा आउने आफूले देखेको पनि ती अधिकारीले बताएका थिए । ती वरिष्ठ युरोपेली कूटनीतिज्ञको भनाइ नेपालका हकमा सत्य प्रतीत हुन्छ । सबैको चासो नेपालको राजनीतिमा छ, तर नेपाल किन बनेन भनेर होइन । छिमेकले एकले अर्कालाई पराजित गर्ने र पश्चिमाहरूले ती दुई मुलुकको विकासलाई ‘चियो’ गर्ने सहज स्थान नेपाल हुँदा यहाँ त्यो अवस्था आएको हो । यो विश्व राजनीतिका स्थापित भएका मुलुकले नेपालजस्तो अल्पविकसित मुलुकमा चलखेल गर्नु अस्वाभाविक होइन ।
चीनले अहिले आफ्नो नेसनल कंग्रेस सभाका लागि सीमानाकामा कडाइ गरिरहेको छ र आफ्ना उच्च अधिकारीलाई नेपाल भ्रमणमा समेत पठाएको छैन । यहाँ राजनीतिक हलचल आउने गरी वामपन्थी एकताको सन्देश गएको छ । नेपालमा दैनिक जस्तो चिनियाँ नेता तथा उच्च अधिकारी आइरहेका हुन्थे तर केही समययता त्यो विश्राम लागेको छ । अरुण तेस्रो जलविद्युत् परियोजना उद्घाटन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने निश्चित भइसकेको थियो । त्यो हाललाई टरेको संकेत देखा पर्दैछ ।
शान्त स्वभावको कूटनीतिमा विश्वास गर्ने चीन त्यसमा अडिग नै छ । सायद नेपालमा पनि उनीहरूको छाया देखा परेको हुन सक्ने सरकार निकटका अधिकारी बताउँछन् । वाम गठबन्धनमा सद्भाव रहन सक्छ तर पूरै चिनियाँको सक्रियता रहेको हुन सक्ने पुष्टि गर्ने आधार छैन । चीनले नेपाललाई दक्षिण एसिया प्रवेश गर्ने ढोकाका रूपमा व्याख्या गर्दै आएको अवस्थामा ऊ जागेको हुन सक्ने अडकलबाजी पनि हुन थालेको छ । कतिपयले नेपालको राजनीतिमा भारत र चीनबीच गोप्य प्रतिस्पर्धा चल्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरूले दक्षिण अफ्रिकी मुलुकहरू, पाकिस्तान र श्रीलंकाको उदाहरण दिन थालेका छन् । भारत र चीनलाई बंगलादेशले झंै बीचमा नै राखेर नेपाल अघि बढ्न सक्नुपर्ने धारणा विज्ञहरूको छ । त्यसका लागि नेताहरू बढी सक्रिय र संवेदनशील बन्नुपर्ने धारणा उनीहरूको छ ।
चीनको कूटनीतिक पक्ष निकै निष्क्रियझैं देखिने अवस्थामा नेपालको राजनीति सगबगाएको हो । चुनावी तालमेल भनिएको यो परिस्थितिले सत्ता समीकरणसम्मको परिवर्तन नै खोजेको झैं अघि बढेको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसमेत यो सञ्जालमा पसेका छन् । टेक्ने जमिन र समाउने हाँगासमेत नपाउने अवस्थामा सहज अवतरण पाए पनि उनको भारतीयसँगको निकटता र सम्बन्धले अहिलेका समीकरणमा कुन शक्तिले कसरी खेलेको छ भन्ने अन्योल देखा परेको छ । सहमति गराउने नेताहरू नै बाह्य शक्तिबिना यो सहमति असम्भव रहेको तर्क गर्छन् तर कुन शक्तिले कसरी मिलाएको खुलाउँदैनन् । लामो समय टिक्न नसक्ने सम्भावना रहेकै कारण पनि यो विषयमा जस लिने कोही नदेखिएका हुन सक्छन् ।
नेपालको राजनीतिमा दक्षिणी हस्तक्षेप खुलाझैं छ । त्यसमा उत्तरबाट पनि बेलाबेला चिसो हस्तक्षेप हुने गरेको भए पनि त्यो देखिने गरी होइन । फरक यो छ, उत्तरको हस्तक्षेप संकेत नै नदेखिने गरी आएको हुन्छ भने दक्षिणको घोषितझैं । चीनले कुनै पनि मुलुकको आन्तरिक राजनीतिमा कहिल्यै हस्तक्षेप नगर्ने नीति लिइएको भनिरहेको अवस्थामा अहिले एकाएक नेपालको राजनीतिमा चासो देखाउने र छलफल गर्ने गरेको छ । संविधान, निर्वाचन, सबैमा उत्तिकै चासो देखाउने र प्रधानमन्त्री भएपछि घरमै पुगेर शुभकामना व्यक्त गर्नेजस्ता कार्य उनीहरूले देखाएका छन् । नेपालको आन्तरिक विषयमा आफ्नो धारणा राख्ने र अन्त्यमा यो नेपालको आन्तरिक मामिला हो भन्ने गरेको दृष्टान्त देखिन्छ ।
भारतले भने सीधा यो हुन्छ, यो हुँदैनसमेत भन्ने गरेको छ । चिनियाँ टिप्पणी/प्रवेशलाई पश्चिमा र दक्षिणी मित्रले ‘स्लो पोइजन’ समेत भन्ने गरेका छन् । चीनको प्रवेश र सहकार्यले पाकिस्तान र उत्तर कोरिया साथ मिल्ने तर भारतसँगको सहकार्यले विश्वको साथ पाउने भन्दै आएका नेतासमेत वामपन्थी तालमेलमा रहेपछि पछिल्लो गठबन्धनले लोकतान्त्रिक पक्षधरहरू झस्किएका छन् । सत्तामा रहेको दललाई प्रमुख प्रतिपक्षी एमालेसँग मिलाउनेदेखि अस्तित्व हराएको दललाई सहारा दिनेसम्म काम गरेर कुनै न कुनै शक्तिले नेपालमा आफ्नो दरो उपस्थिति जनाएको छ । तर उक्त शक्ति बाहिर देखिन भने चाहँदैन ।
एमाले अध्यक्ष केपी ओली जब मानसरोवर यात्रामा निस्के, त्यतिबेलै उनले वाम गठबन्धनबारे एक प्रकारको बहस र छलफल गरेका थिए । धार्मिक भ्रमण भने पनि उनी राजनीतिक छलफलमै केन्द्रित थिए । ओलीको होस् या उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमण, दुवै समयमा उच्चस्तरमा नै नेपालको राजनीतिको विषयमा छलफल भएको थियो । चीनले पहिलेदेखि नै नेपालका कम्युनिस्ट एक हुनुपर्ने धारणा राख्दै आएको छ । चिनियाँ उपप्रधानमन्त्रीदेखि राजनीतिक तहका नेतृत्वसम्मको नेपाल भ्रमणका क्रममा पनि यस्ता विषयमा छलफल र बहस हुने गरेका थिए । पछिल्लो समय ओली चीनको निकट मित्र बने पनि स्थायी मित्रका रूपमा छन् महरा । ओली र महरा जति चीननिकट बनेका छन्, उत्तिकै निकट रहेका व्यक्ति हुन् नारायणकाजी श्रेष्ठ । यसबाहेक अन्य कैयन् नेताको नेपालको राजनीतिक छवि पनि ‘प्रोचाइनिज’ छ ।
हुन त यस अलावा ‘प्रोभारतीय’ र ‘प्रोपश्चिमा’ को पनि कमी यहाँ छैन । को नेता/व्यक्ति कताबाट चलेका छन्, त्यो जानकारी जनतामा हुँदैन । कसरी कसले यस्तो गर्यो भनेर सोच्छन् तर सम्बोधन गर्दैनन् ।
वामदेव गौतम र नारायणकाजीले कम्युनिस्ट एक बनाउने अभियान नै चलाएका थिए । उनीहरूको अभियानले अहिले आएर साकार रूप लिने वातावरण बनेको हो । ‘कम्युनिस्ट एकढिक्का भएर अघि बढ्न सकेमात्र नेपालको विकास हुन्छ, त्यसैले हामी छरिनतिर नलागौं’ वामदेवको यो भनाइ नयाँ होइन । यो समीकरण निर्माणमा चीनले आफ्नो उपस्थिति देखाएको छैन तर काम भने उतैबाट भएको आम बुझाइ छ । जुन बुझाइमा केही सत्यता देखिने तर्कहरू प्रस्तुत गर्न सकिने स्थान विभिन्न राजनीतिक दलका नेताहरूले नै बनाइदिएका छन् । यो रूपमा नेपालको राजनीति अघि बढ्ने विश्वास भारतीय अधिकारीहरूमा थिएन । कुनै खालको तयारीमा एमाले छ भन्ने भए पनि यो तवरमा अघि बढेको जानकारी पाउँदा उनीहरू अन्योलमा थिए ।
भारतीय रिसर्च विङ ‘रअ’ का अधिकारीहरूसमेत नेताहरूको सम्पर्कमा आएर पछिल्लो अवस्था बुझ्न थालेका छन् । कांग्रेस नेतृत्व सरकार धरापमा परेकाले यो अवस्थामा भारतीय अधिकारीहरूले अहिले अन्योल साध्दै दिल्लीको निर्देशन तथा जवाफ पर्खेका छन् । अब एउटा शक्ति राजपा फुटाउन खोज्नेछ भने अर्को शक्ति कांग्रेसमा ती दलहरूलाई समाहित गर्ने गरी प्रक्रिया अघि बढाउन सक्रिय रहनेछ ।
राप्रपा दुवैलाई र मधेस केन्द्रित दलहरूलाई सत्ता पक्षमा राख्न अर्को शक्तिको जोड रहनेछ । हुन त राजपा नेता महेन्द्र यादवले नेपालको राजनीतिमा कहिले पो बाह्य हस्तक्षेप भएको छैन भन्दै अहिले पनि भएको हुन सक्ने आशय व्यक्त गरिसकेका छन् । उनी मात्र होइन, अन्यले पनि त्यसमा विश्वासिलो आधार रहेको भन्दै हामी विदेशीको इसारामा होइन, आफ्नो चालमा अघि बढ्नुपर्ने सुझाउन थालेका छन् । राजनीतिक पदका लागि शक्ति केन्द्र धाउने नेताहरूलाई यो एक पाठका रूपमा देखा परेको छ । शक्ति एकतर्फी हुँदैन, सन्तुलित कूटनीति नै हाम्रो भूराजनीतिक यथार्थ हो ।












प्रतिक्रिया