काठमाडौं, २० असोज । नेपाली कांग्रेसले एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले लोकतन्त्र र संविधान कार्यान्वयनमा ठूलो चुनौती थपिएको ठहर गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले वामपन्थी गठबन्धनप्रति आक्रामक नीति लिने निष्कर्ष निकालेको हो । वामपन्थी गठबन्धन निर्माण भएपछि कांग्रेसले अब कसरी अगाडि बढ्ने भन्दै केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो ।
बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले एमाले–माओवादी केन्द्र वामपन्थी गठबन्धन मुलुकलाई ध्रुबीकरणतिर लगेको भन्दै कांग्रेसले मात्रै मुलुकलाई सही दिशा दिने बताएका थिए । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको एकतालाई कायम गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखेका थिए ।
उनीहरूले वामपन्थीहरूसँग मुकाविला गर्नका लागि कांग्रेसले आन्तरिक विवादलाई अन्त्य गर्नुपर्ने बताए ।
लोकतन्त्र र संविधान कार्यान्वयनका लागि कांग्रेसको पहलकदमीमा लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
बैठकले स्थानीय तहको उम्मेदवार भइसकेका र समानुपातिक सांसद भएका नेताहरूलाई पुनः समानुपातिक सांसदको उम्मेदवार नबनाउने निर्णयगरेको छ ।
स्थानीय तहको निर्वाचनका बागीका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने निर्णय गरेको केन्द्रीय सदस्य पौडेलले बताए ।
समानुपातिक उम्मेदवारहरूको सूची असोज २५ गतेभित्र फाइनल गर्ने निर्णय पनि कांग्रेसले गरेको छ । प्रत्यक्षतर्फको उम्मेदवार छिटोभन्दा छिटो टुंगो लगाउने निर्णय भएको पौडेलले बताए ।












प्रतिक्रिया