११ मंसिर २०८३, शुक्रबार

नवराज सिलवाल एमालेमा ?

11.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १९ असोज । आईजीपी बढुवा प्रकरणपछि डीआईजी पदबाटै राजीनामा घोषणा गरेर बसेका नवराज सिलवाल नेकपा (एमाले)को पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन् ।

नेकपा (एमाले) ललितपुरले बुधबार लगनखेलस्थित प्रयाग पोखरीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सिलवाल सहभागी भएका हुन् । सो कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओली र अतिथिहरूमा रघुजी पन्त, सुशीला नेपाललगायतका नेताहरू थिए ।

एमाले नेता तथा पूर्वमन्त्रीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘नवराज सिलवालले एमालेप्रति शुभेच्छा राख्नु हुन्छ । उहाँ यही जिल्ला निवासी हो । एमालेले निमन्त्रणा गरेपछि कार्यक्रममा आउनु भएको छ । एमालेमा शुभेच्छा राख्न पाइन्छ । सार्वजनिक रुपमा एमालेको सदस्यता नै लिनुपर्छ भन्ने छैन ।’

कार्यक्रममा सहभागी सिलावलले एमालेका कार्यकर्ताहरूले लगाए जस्तै टीका र रातो धजाको माला घाँटीमा लगाएर बसेका थिए ।

कार्यक्रममा सहभागी सिलवालले कालो चश्मा र कालो क्याप लगाएको प्रत्यक्षदर्शी एकजना एमालेका जिल्ला नेताले बताए ।

एमालेका कार्यकर्ताहरूसँगै बीचमा बसेका सिलवाललाई पत्रकारहरूले देखेर तस्बिर लिन थालेपछि आफ्नो अनुहार लुकाउने प्रयास गरेका थिए ।

सो कार्यक्रममा ओलीले झण्डै एक सयभन्दा धेरै स्थानीय एमालेमा प्रवेश गरेका थिए । उनीहरूलाई ओलीले टीका लगाएर स्वागत गरेको एमाले ललितपुरले जनाएको छ ।

आईजीपी बढुवा प्रकरणमा सर्वोच्च अदालतले भदौ २७ गते सिलवालको रिट खारेज गरिदिएको थियो । त्यसपछि सिलवालले पदबाट राजीनामाको घोषणा गरेका थिए । सिलवालको राजीनामा स्वीकृत भएको छ वा छैन केही खुलाइएको छैन ।