
काठमाडौँ, १८ असोज । नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल मिलेर बाम गठबन्धन बनेपछि काँग्रेसले पनि ६ दलीय प्रजातान्त्रिक गठबन्धन बनाउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको छ दलको बैठकमा बृहत लोकतान्त्रिक गठबन्धन बनाउन सैद्धान्तिक सहमति भएको छ । यसका लागि आवश्यक गृहकार्य गर्न कार्यदल समेत बनाइएको छ ।
काँग्रेसको गठबन्धनमा राष्ट्रिय जनता पार्टी, राप्रपा प्रजातान्त्रिक, मधेशी जनअधिकार फोरम, राप्रपा नेपाल र नेपाल लोकतान्त्रिक फोरम मिसिने भएका छन् । राप्रपा नेपालका सचेतक दिलनाथ गिरीका अनुसार, गठबन्धनलाई औपचारिक रुपमा निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको छ । सिटको बाँडफाँड कसरी गर्ने भनेर सात सदस्यीय कार्यदल समेत बनेको छ । कार्यदलमा कांग्रेसबाट दुई सदस्य र अन्य पाँच दलबाट एकएक सदस्य रहनेछन् ।
मुलुकको सामुन्ने विद्यमान परिस्थितिमा लोकतान्त्रिक शक्ति एकताबद्ध भएर जानु आवश्यक देखिएकाले त्यस सम्बन्धमा गृहकार्य गर्न कार्यदल गठन गरिएको छ, नेता निधिले भने, “कार्यदलका सदस्यको नाम भने बिहीबार बिहान सबै दलले दिने र त्यसपछि आवश्यक गृहकार्य एंव तयारी थालिने छ ।”
कार्यदलले बिहीबार बिहानदेखि नै पार्टीका शीर्ष नेताहरुको निर्देशनमा आवश्यक गृहकार्य र तयारी थाल्ने नेता निधिले बताए । बैठकमा मंगलबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टीबीच निर्वाचनको मुखमा भएको चुनावी गठबन्धन र पार्टी एकताको पहलका सबन्धमा गम्भीर र विस्तृत छलफल भएको थियो ।
निर्वाचन समयमा हुँदैन कि भन्ने आशंका सिर्जना गरेको बारेमा छलफल भएको बताउँदै नेता निधिले भने, “बैठकमा सहभागी शीर्ष नेताले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सामूहिक रुपमा एकताका साथ अगाडि बढ्ने दृढता व्यक्त गर्नुभएको छ ।”
बैठकमा सहभागी छ दलसँग ३०२ जना सांसद रहेको स्पष्ट पार्दै नेता निधिले सरकारसँग पर्याप्त बहुमत रहेको र यही सरकारले निर्वाचन सम्पन्न गराउने बताए । यसअघि बुधबारै बसेको नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको थियो ।
बैठकमा प्रधानमन्त्री देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राजपा नेपालका अध्यक्ष महन्त ठाकुर, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जवरालगायत नेता उपस्थिति थिए ।











प्रतिक्रिया