काठमाडौं, १८ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले, माओवादी केन्द्र र नयाँशक्तिवीचको एकतालाई आफूहरुले नौलो विषयको रुपमा नलिएको र उनीहरुसँग आफ्नो पार्टीको एकता हुनै नसक्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘हाम्रो पार्टीले उनीहरुसँग एकता गर्दैन्, चुनावी एकता मात्रै हुन्छ ।’
अध्यक्ष केसीले तीन पार्टीवीच भएको एकता प्रयासलाई आफूले आश्चर्यको रुपमा नलिएको बताए । उनले भने, ‘तीन पार्टीवीच एकता प्रयास हुँदैमा किन यस्तो खैलाबैला र रुवानी छ ।’ संसदमा सँगै हिँडिरहेका दलहरुले चुनावी एकता गर्नु नौलो कुरा नभएको उनको टिप्पणी थियो ।
उनले भने, ‘अहिले अचम्म हुनुपर्ने थिएन, बरु अचम्म त एमाले र माओवादी केन्द्रसँगै हुँदा जसरी माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्यायो त्यो अचम्म थियो, यो त सामान्य नै हो ।’ एमाले, माओवादी केन्द्र र नयाँशक्तिको एउटै पहिरन, एउटै भान्छा भएकोले मिल्नु नौलो कुरा नभएको केसीले बताए ।
उनले मंसिरमा हुने चुनावमा एमाले–माओवादी केन्द्र र नयाँ शक्तिवीचको गठबन्धनसँगै मात्रै नभएर नेपाली कांग्रेससँग पनि तालमेल हुने जनाए । उनले भने, ‘स्थानीय तहको निर्वाचनमा पनि हामीले धेरै ठाउँमा कांग्रेससँग तालमेल गरेका थियौं, फेरि पनि गर्छौं ।’











प्रतिक्रिया