काठमाडौं, १७ असोज । व्याकुल माइला गोल्ड कपको सातौं संस्करण यही असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाको दिन सुरु हुने भएको छ ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६,हिलेपानी–सोक्माटारस्थित दूधकोसी किनारमा प्रतियोगिता सञ्चालन हुने गोल्ड कप मूल समारोह समितिले जनाएको छ । प्रतियोगिताको समापन आगामी २७गते शुक्रबार हुनेछ ।
समितिकाअनुसार राष्ट्रिय गान रचनाकार व्याकुल माइलाको नामबाट उनकै जन्मथलोमा विकासमुखी सामाजिक अभियान सञ्चालन गरी पिछडिएको गाउँको समुन्नतिमा योगदान पु-याउन २०६८ सालदेखि बर्सेनि फुटबल प्रतियोगिता हुँदै आएको हो । प्रतियोगितामा यसपटक २०–२२ टिम सहभागी हुँदै छन् ।
उपाधि विजेतालाई चाँदीको कप, मेडल र प्रमाणपत्रका साथै नगद पुरस्कार १ लाख, उपविजेतालाई ५० हजार र तेस्रोलाई २५ हजार प्रदान गरिनेछ ।
चाँदीको कप प्रथमलाई १०१ तोला, द्वितीयलाई ८५ र तृतीयलाई ६५ तोलाको छ । सबैभन्दा अनुशासित टिमलाई१० हजार नगद राशिको ‘दिल–कर्ण बेस्ट टिम अवार्ड’ प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्ताले पदक र प्रमाणपत्रसहित ५५ हजार नगद पुरस्कार पाउनेछन् ।
कपको व्यवस्था बेलायत बस्दै आएका भूतपूर्व ब्रिटिस गोर्खा सैनिक अमृतबहादुर राई, डिल्लीबहादुर राई, नवल राई र श्रीमती गौतामाया राई, कर्णबहादुर राई र श्रीमती दिलकुमारी राईले गरिदिएका हुन् ।















प्रतिक्रिया