३० आश्विन २०८३, शुक्रबार

पार्टी एकता भए ओली, प्रचण्ड र बाबुरामको नाम हजारौं बर्ष सुनौलो अक्षरले लेखिनेछ

10.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– निर्मल भट्टराई

देशका कम्युनिष्ट मिले हुन्थ्यो भन्ने आमजनतामा यो एकताले असीम उत्साह थपेको छ । त्यो उत्साह नै प्रचण्ड बहुमतसहितको वाम विजयको प्रमुख आधार हो । पाँच पूर्व प्रधानमन्त्री भर्सेस एक कामचलाउ प्रधानमन्त्री आगामी चुनाब हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी २०१४ सालदेखि विभाजन हुँदै आएको थियो । कहिले राजालाई हेर्ने दृष्टिकोणको सवालमा कहिले तत्कालीन सोभियत संघलाई हेर्ने सवालमा, कहिले नेपाली काँग्रेसलाई हेर्ने सवालमा, कहिले रणनीति र कार्यनीतिको सवालमा मतान्तर हुँदै निरन्तर विभाजित भइरह्यो, नेपालको वामपन्थी आन्दोलन ।

छ दशकको यो अवधिमा एकले अर्कोलाई उग्रवादी, संशोधनवादी, दक्षिणपन्थी, आत्मसमर्पणवादी, कठमुल्लावादी, पुच्छरवादी, लम्पसारवादी, भारतपरस्त, राष्ट्रघाती जस्ता शब्दावलीले आरोप प्रत्यारोप चलिरह्यो । राजा महेन्द्र शक्तिमा रहेका वेला वाम विभाजनलाई मलजल गरे भने पछिल्लो कालखण्डमा नेपाली काँग्रेस सत्तामा वा शक्तिमा रहँदा आफ्नो स्वार्थसिद्ध गर्न एक वामघटकलाई अर्को वामघटकको विरुद्ध सुर्याइरह्यो ।

चालिसको दशकको उत्तरार्धमा दुई साहसी कम्युनिष्ट युवाले नेपालको कम्युनिष्ट आन्दोलनलाई दुइ भिन्न दिशातर्फ मोडे । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीले आफ्नो पार्टीले अँगाल्दै आएको माओ प्रतिपादित नौलो जनवादी सिद्धान्तलाई नेपालको बस्तुगत वास्तविकतामा टेकेर १४ नवीन विशेषतासहितको जनताको बहुदलीय जनवादी सिद्धान्तले पार्टी पङ्तिको आम समर्थनमा विस्थापन गरिदिए ।

निर्वाचनबाट श्रेष्ठता हासिल गर्ने र जनताको बहुदलीय शासनसत्तामार्फत् समाजवादमा जाने बाटो तय गरेर नेकपा (एमाले) अगाडि बढ्यो । जनताको बहुदलीय जनवादलाई “सामन्तवाद—साम्राज्यवादविरोधी राज्यसत्ता”को रुपमा परिभाषित गरियो । यो सिद्धान्तले नेपाली जनताको ठूलो हिस्सा समेटेर एमालेलाई एक शक्तिशाली पार्टी बनाउन सफल भयो । देश समाजवादमा फड्को नमारेसम्म जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहनेछ ।

ठीक त्यही समयमा अर्का साहसी कम्युनिष्ट युवा प्रचण्डले नेकपा (एकता केन्द्र)को महामन्त्री चुनिए । लगत्तै माओ प्रतिपादित नौलो जनवादलाई हुबहु अंगिकारमात्र गरेनन्, माओद्वारा विकास गरिएको जनयुद्धको सिद्धान्तमा आधारित हुँदै “गाउँबाट शहर घेर्ने रणनीति भएको दीर्घकालीन जनयुद्धको बाटो” अंगिकार गरे ।

बृहत् वाम तालमेलले अब माओवादी जहाज एमालेको फराकिलो “ह्याङ्गर” भित्र प्रवेश गरेको छ । जनताको बहुदलीय जनवादी सिद्धान्तको आलोकमा सो जहाजभित्रका समस्याको समाधान खोज्न समेत सजिलो भएको छ ।

दुई अढाई बर्षको आन्तरिक तयारीपछि प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी) विधिवत् जनयुद्धमन होमियो । शान्तिपूर्ण संघर्षको कार्यनीति लिएको एमाले र सशस्त्र संघर्षको कार्यनीति लिएको माओवादीबीच सौहार्द सम्बन्ध हुने अवस्था रहेन । एक अर्काबीच फौजी, सैद्धान्तिक र राजनीतिक आक्रामणको सिलसिला एक दशक चलिरह्यो । बाह्रबुँदे सहमतिपछि शान्तिकालमा यी दुई दलको सहकार्य र सहमतिको लुकामारी चलिरह्यो ।

जनयुद्ध बोकेर उडेको माओवादी जहाज शान्तिपूर्ण मैदानमा अवतरण गर्दा जहाजमा गम्भीर समस्या देखिएको थियो । सो जहाज ग्राउण्डेड नै होला कि भन्ने अनुमानसम्म गर्न थालिएको थियो । तर बृहत् वाम तालमेलले अब माओवादी जहाज एमालेको फराकिलो “ह्याङ्गर” भित्र प्रवेश गरेको छ । जनताको बहुदलीय जनवादी सिद्धान्तको आलोकमा सो जहाजभित्रका समस्याको समाधान खोज्न समेत सजिलो भएको छ ।

जहाँसम्म आगामी चुनावको सवाल छ, बामपन्थीहरुले सबै तहमा सुविधाजनक बहुमत प्राप्त गर्नेछन् । देशका कम्युनिष्ट मिले हुन्थ्यो भन्ने आमजनतामा यो एकताले असीम उत्साह थपेको छ । त्यो उत्साह नै प्रचण्ड बहुमतसहितको वाम विजयको प्रमुख आधार हो । पाँच पूर्व प्रधानमन्त्री भर्सेस एक कामचलाउ प्रधानमन्त्री आगामी चुनाब हुनेछ ।

यो एकताका केही चुनौती पनि छन् । कम्युनिष्ट एकताका विरोधी देशीविदेशी तत्व यो एकता भाँड्न कम्मर लाग्नेछन्, लागिसकेका छन् । सहमति अनुसारको चुनाबी भागबण्डामा सबै दलका कैयन टिकटका आकाङ्क्षी नेता कार्यकर्ताले सो आकाङ्क्षाको वलिदान दिनुपर्ने हुन्छ । यो महान कार्य सफल हुन सके केपी ओली, पुष्पकमल दाहाल र बाबुराम भट्टराईको नाम सुनौलो अक्षरमा हजारौँ बर्षसम्म लेखिनेछ । अहिलेको पुस्तालाई इतिहासले सम्झनेछ ।

व्यवस्थापनको यो पाटो आफैं चुनौतिपूर्ण कार्य हो । गठबन्धनमा सम्मिलित बाम पार्टीका केही अन्तरविरोधको व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्छ । एकताको संस्कृति बसाउन केही समय निःसन्देह बहुत कठिन हुनेछ । यो प्रस्थान राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभाको निर्वाचनसम्म बेरोकटोक अगाडि बढ्न सक्यो भने समाजवादी छलाङ् मार्न अब नेपाली जनताले धेरै प्रतीक्षा गर्नु पर्ने छैन ।