राजविराज, १७ असोज । सप्तरी तिलाठीका देव नारायण यादव र उनको छोरा अजयलाई अपहरणको मुद्धाका कारण आफूहरुले पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीचौकि कुनौलीका प्रहरी इन्चार्ज विनोद कुमार यादवले उनीहरुविरुद्ध पहिले नै अपहरणको मुद्धा परेकाले पक्राउ गरिएको जानकारी दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
उनले भने ‘देवनारायण र अजय विरुद्ध गत जेठ २० गते ज्योती कुमारी यादवलाई अपहरण गरेको मुद्धा दर्ता नम्बर २४ मा छ । ज्योतीका दाजु संजित कुमार साहले सो मुद्धा दर्ता गरेका थिए । त्यही आधारमा उहाँहरुलाई भारतमा भेटेपछि हामीले पक्राउ गरेका हौं ।’
दुई देशबीचको सीमाको विषयलाई लिएर देवनारायणको बाबुछोरा पक्राउ गरेको भन्ने हल्ला निराधार भएको इन्चार्ज यादवले बताए । तर, ज्योती कुमारी साहले भने आफू अपहरणमा नपरेको र आफूले अजयसँग विवाह गरेको बताएकी छन् ।अजय र ज्योतीले विवाह गरेको ज्योतिका परिवारले मन पराएका थिएनन् ।
यादव बाबुछोरासँगै अजयका साथी सरोज यादव र राजेश कुमार राम पनि पक्राउ परेका थिए । उनीहरू दुवैलार्इ १०–१० हजार भारतीय रूपियाँ लिएर प्रहरीले छोडेको सरोजको आरोप छ । अजयलाई भने १ लाख भारु तिर्नुपर्ने प्रहरीले बताएपछि बुझ्न गएका बाबु देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको हो ।
यता देवनारायणका परिवारजन भने नेपाल सरकारप्रति आक्रोशित भएका छन् । सरकारले देवनाराण र अजयको विषयमा कुनै चासो नदिएको भन्दै आक्रोशित बनेका हुन् ।













प्रतिक्रिया