
काठमाडौँ, १६ असोज । आगामी संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ मा रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ । यो निर्वाचन क्षेत्रमा यसपटक काँग्रेस र एमालेका युवा नेताहरु आमनेसामने हुने भएका छन् ।
काँग्रेसका युवा गगन थापाले चुनाव जितेको काठमाडौँ क्षेत्र नम्बर ४ मा यसपटक उनलाई टक्कर दिन एमालेका युवा नेता डा. राजन भट्टराई आइपुगेका छन् । एमालेको क्षेत्रीय कमिटीले मंगलबार सर्वसम्मत रुपमा भट्टराईको नाम प्रतिनिधिसभाको उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
काँग्रेस नेता थापाले यसअघि नै साविकको आफ्नो निर्वाचन क्षेत्रबाटै चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनले आफूलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा समेत प्रचार गरिरहेका छन् । भर्खरै सम्पन्न स्थानीय निकायको चुनावमा एमालेले बुढानिलकण्ठ र काठमाडौँ महानगरको वडा पनि जितेकाले गगनलाई जित्न यसपालि अप्ठेरो पार्ने कतिपयको विश्लेषण छ । सोही विश्लेषण अनुसार गगनलाई जित्न सक्ने उम्मेदवारका रुपमा एमाले क्षेत्रीय कमिटीले डा. भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
को हुन् भट्टराई ?
काठमाडौँ चाहबिलका स्थायी बासिन्दा डा. भट्राई अहिलेका बाहलवाला सांसद हुन् । स्थानीय रुपमा उनी निकै लोकप्रिय मानिन्छन् ।
एमालेभित्र बौद्धिक नेताको छवि बनाएका डा. भट्टराईलाई परराष्ट्र मामिला विज्ञ भएकै कारण पार्टीले समानुपातिकमार्फत सांसद बनाएको थियो ।
काठमाडौँको चाबहिलस्थित पशुपति मित्र माविबाट अध्ययन सुरु गरेका डा. भट्टराईले एसएलसी भने पद्मोदय माविबाट गरेका थिए ।

स्नातकसम्म नेपालमै गरेका भट्टराईले मास्र्टर्स भने बेलायतबाट गरेका हुन् । लण्डन यूनिभर्सिटीको सेवास कलेजबाट स्नातकोत्तर गरेपछि उनले भारतको प्रतिष्ठित जवहरलाल नेहरु विश्वविद्यालय (जेन्यू)बाट सन् २०११ मा पीएचडी गरेका हुन् ।
डा. भट्टराई एसियाका विद्यार्थीहरुको समेत नेता बने । एशियन स्टूडेन्स एशोसियशनको सहमहासचिव निर्वाचित भएर उनी सन् १९९३ देखि चार बर्ष हङकङमा बसेर एशियन विद्यार्थीहरुको राजनीतिमा सक्रिय रहे ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार थिए । अहिले सांसद तथा एमालेका केन्द्रीय सदस्य रहेका भट्टराई प्रबुद्ध समूहको सदस्य पनि हुन् ।
नेपालको सुरक्षा तथा विदेश नीतिका बारेमा उनका पुस्तक प्रकाशित छन् । एमालेभित्र युवा, जुझारु विज्ञका रुपमा उनी चिनिन्छन् । सोहीकारण डा. भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीदेखि शीर्ष नेताहरुको मन जितेका छन् ।











प्रतिक्रिया