काठमाडौँ । समाजसेवी इन्दिरा रानामगरलाई लन्डनको दार्जिलिङ इनमा शनिबार सम्मान गरिएको छ ।
नेपाल आदिवासी जनजाति महिला महासङ्घ युके समितिले यस वर्षको विश्व बाल पुरस्कार विजेता रानामगरलाई सम्मानपत्र र नगदबाट सम्मान गरेको हो । रानामगरले यही कात्तिक १२ गते स्विडेनमा महारानी सिल्भियाबाट उक्त पुरस्कार ग्रहण गर्नुभएको थियो ।
समाजसेवी रानामगरले नेपालका कारागारभित्र जन्मेका तथा आमाबुबा त्यहाँ परेपछि बिचल्लीमा परेका, समाज र आफन्तबाट बहिष्कृत बालबालिकालाई २४ वर्षदेखि हेरचार गर्दै आउनुभएको छ ।
उदयपुरबाट झापा झरेर कर्मभूमि बनाउनुभएका रानामगरले अपराध आरोपको कारण कारागारमा रहेकाहरूबाट जन्मेका निर्दोष बालबालिका आफ्नो परिवार भएको आफूले उनीहरूसँगै बस्नेखाने बताउनुभयो ।
यस वर्ष पुरस्कृतत्रयमध्ये पाकिस्तानी मलालाले ५० हजार अमेरिकी डलर तथा हङकङका जोन उड्स र नेपालकी रानामगरले जनही २५ हजार अमेरिकी डलर प्राप्त गर्नुभएको थियो ।
रानामगरलाई नेपाल मगर महिला सङ्घ युके र हेल्पिङ यू टिमले पनि सोही अवसरमा सम्मान गरेको पत्रकार एवम् साहित्यकार विश्वासदीप तिगेलाले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ युकेका अध्यक्ष श्रीप्रसाद लिम्बूले रानामगरकोे मानवीय कार्यमा सबैमा सार्थक सहयोग हुनुपर्ने विचार राख्नुभयो । रासस













प्रतिक्रिया