काठमाडौं, १६ असोज । भारतमा पक्राउ परेका सप्तरीको तिलाठीका देवनारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीले अपहरणको मुद्दा चलाएको छ ।
तीन दिनअघि भारतको सुनौली मेला हेर्न गएका बेला प्रहरीले अजयलाई पक्रेको र छोरालाई छुटाउन गएका देवनारायणलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लियो । उनीहरू दुवै जनालाई बिहारको सुपौल जिल्लामा रहेको विरपुर जेलमा राखेर अपहरण मुद्दा चलाइएको हो ।
कसरी लाग्यो अपहरण मुद्दा ?
यादवका छोरा अजयले डेढ महिनाअघि भारतबाट एक नाबालिका भगाएर विवाह गरेका थिए । बालिकाको परिवारले छोरी अपहरण गरेको भन्दै यादव, र उनका छोरासहित ३ जनाविरुद्ध उजुरी दिएका थिए । अपहरणको मुद्दामा जाहेरी परेपछि भारत गएका बेला यादव पक्राउ परेको र उनलाई छुटाउन पहल भइरहेको सप्तरीका एसपी मुकेश सिंहले बताए ।
फर्जी मुद्दा लगाएको स्थानीयको दाबी
गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाध्न आएका भारतीयको प्रतिकार गरेका देवनारायण यादवलाई भारतीयले निगरानीमा राख्दै आएको र अहिले मौका पर्दा फर्जी मुद्दा लगाएर फसाइएको स्थानीयले दाबी गरेका छन् । तिलाठीका बासिन्दाले यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षडयन्त्रको रुपमा लिएका छन् ।












प्रतिक्रिया