
काठमाडौँ, १४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीदेखि बिभिन्न दलका नेताहरुले दशैंको टीका ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका ग्रहण गरिन् । उनलाई हनुमानढोका दशैंघरका मूल पुजारी देवराज अर्यालले राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका प्रदान गरे ।
राष्ट्रपति भण्डारीले मूल पुजारी अर्याललाई पनि टिका लगाइदिइन्। राष्ट्रपति भण्डारीलाई उनकी आमा मिथिला पाण्डे, काका जयन्त पाण्डेले पनि टीका लगाइदिए।
राष्ट्रपति भण्डारीले छोरी उषाकिरण भण्डारी र निशा कुसुम भण्डारी तथा ज्वाई उमेश थापा र अभिषेक यादव लगायत आफ्ना परिवारका अन्य सदस्य र आफन्तहरुलाई टीका लगाइदिइन्। अब उनले सर्वसाधारणलाई पनि टीका लगाउने कार्यक्रम छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभ साइतमै टीका ग्रहण गरे । उपराष्ट्रपति निवास लैनचौरमा ससुरा बुवा बेलप्रसाद पुनले उनलाई र उपराष्ट्रपति पुन पत्नी हस्तमाली पुनलाई टिका लगाइदिएका थिए । उपराष्ट्रपति पुनले छोरा जितेन्द्र पुन, दिपेश पुन बुहारी, आफन्त तथा नेपाली सेनाको टोलीलाई समेत टिका लगाइदिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गरेका छन्। सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा उनले टीका ग्रहण गरेका हुन् ।

दशैंको टीका ग्रहण गर्दै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यसपालि टीका ग्रहण गरे । उनले परिवारका सदस्यहरुलाई टिका लगाइदिए । प्रचण्डलाई भने श्रीमतीले टीका लगाइदिइन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट टिका लगाए । भाई शिव भट्टराईको घरमा टिका ग्रहण पछि उनले परिवारको सामूहिक तस्बीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना दाजु बन्धुराज पौडेलबाट टीका लगाए । काठमाडौँको कलंकीमा टीकाको शुभसाइतको उनले टीका ग्रहण गरेका हुन् । त्यसपछि वरिष्ठ नेता पौडेलले परिवारजन, इष्टभित्र र पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो निवास बोहोराटारमा दशैँको टीका जमरा लगाइदिए ।











प्रतिक्रिया