११ मंसिर २०८३, शुक्रबार

वीरगञ्ज महानगरपालिकामा उपेन्द्र यादवको फोरम विजयी, सरावगी बने मेयर

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ११ असोज । दुई नम्बर प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । यहाँ फोरमका विजयकुमार सरावगी मेयर निर्वाचित भएका हुन् । उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भइन् ।

प्राप्त अन्तिम मतपरिणामअनुसार वीरगञ्जमा १९ हजार ३९३ मतसहित सरावगी मेयर निवाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका द्विवेदीले १९ हजार १९७ मत पाए ।

यस्तै, १९ हजार ६०७ मतका साथ उपमेयरमा कांग्रेसकी कार्की विजयी भइन् । उनकी प्रतिद्वन्द्वी फोरम नेपालकी पिंकी यादवले १८ हजार ५३० मत पाइन् ।

मेयर र उपमेयर दुवैमा राजपा तेस्रो बन्यो । लोकतान्त्रिक फोरमको स्थानमा मेयरमा चौथो र उपमेयरमा पाचौं, एमाले मेयरमा पाचौं र उपमेयरमा चौथो, माओवादी मेयर र उपमेयर दुवैमा छैटौं बन्यो ।

वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि कांग्रेसका अजय द्विवेदी, एमालेका बसरुद्धिन अन्सारी, माओवादी केन्द्रका रहबर अन्सारी, राजपाका राजेशमान सिंह र लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव चुनावी प्रतिस्पर्धामा थिए ।

यस्तै, वीरगञ्ज महानगरका ३२ वडामध्ये संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादी केन्द्रले १ र लोकतान्त्रिक फोरमले १ वडा जितेका छन् ।