काठमाडौं, १० असोज । स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा नपुगेपछि उनीहरूको खोजी गर्न सरकारले आइतबार उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा सामान्य प्रशासन मन्त्रालयका उपसचिव र महालेखा नियन्त्रक कार्यालयका उपसचिव सदस्य रहेको अनुगमन टोली गठन गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार सरकारले विभिन्न मन्त्रालय र निकायबाट देशभरका स्थानीय निकायमा १२ हजारभन्दा धेरै कर्मचारी खटाए पनि करिब ५ हजार कर्मचारी मात्र कार्यालयमा पुगेका छन् ।
बाँकी ७ हजार कर्मचारी कहाँ छन् सम्बन्धित सरकारी अधिकारीलाई कुनै जानकारी छैन । खटाइएको कार्यालयमा नपुगेका कर्मचारी खोजी गर्न र अवस्था पत्ता लगाउन अनुगमन टोली गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका संघीयता तथा प्रशासन पुन:संरचना शाखाका उपसचिव प्रेमलाल लामिछानेले स्थानीय तहमा खटाइएकामध्ये आधाभन्दा धेरै कर्मचारी कार्यस्थल नगई बीचबाटै बेपत्ता भएको गुनासो आएपछि उनीहरूको अनुगमन गर्न टोली गठन गरिएको बताए । उनका अनुसार सरकारले कर्मचारी खटाउँदा पनि अनेकौं बहानामा स्थानीय तहमा नगएको पाइए त्यस्ता कर्मचारीमाथि अनुशासनको कारबाही गर्ने तयारी भएको जानकारी दिए ।
अनुगमन टोलीले स्थानीय तहमा खटिएका कर्मचारी सम्बन्धित ठाउँमा हाजिर भए/नभएको र जिम्मेवारी सम्हाले÷नसम्हालेको छानबिन गरी उनीहरूको नामनामेसी अद्यावधिक गरी त्यसको विवरण सरकारलाई बुझाउनेछ ।
टोलीले स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी आदेश २०७४ को अनुसूचीमा उल्लिखित कर्मचारीमध्ये पूर्ति भएका र रिक्त पदको विवरण अद्यावधिक गर्नेछ ।
साथै, रिक्त रहेका पदपूर्तिको सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनेछ । छिटोभन्दा छिटो सबै विवरण बुझाउन टोलीलाई निर्देशन दिइएको उपसचिव लामिछानेले जानकारी दिए ।
टोलीले कार्य विस्तृतीकरण एवं कार्यकारी आदेश २०७४ बमोजिम कार्यक्षेत्र, कर्मचारी, भौतिक सम्पत्ति, बजेट हस्तान्तरण अघि बढाउनसमेत टोलीलाई निर्देशन दिइएको छ ।
सामान्य प्रशासन मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी नमराज घिमिरेले स्थानीय तहमा केन्द्रबाट खटाएको स्थानीय तहमा कर्मचारी नपुगेको बताए । पुगेकाहरू पनि अनेकौं समस्या झेल्नुपरेको भन्दै फर्कन थालेको उनले जानकारी दिए ।












प्रतिक्रिया