दोहा । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च कतारको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष चानक पोखरेलले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
दोहामा भेला भएका मञ्चका सदस्यहरुमाझ उहाँले शुक्रबार उम्मेदवारी घोषणा गर्नुभएको हो । कतारमा अग्रणी नेपाली संस्थाको रुपमा रहेको प्रवासी नेपाली मञ्चलाई अझै उचाइमा पुर्याउन आफूले उम्मेदवारी दिएको उहाँले दैनिक नेपाल डटकमलाई बताउनुभयो ।
मञ्चको उपाध्यक्ष, सचिव र उपसचिवका रुपमा तीन कार्यकाल काम गरिसकेको अनुभव आफूसँग रहेकाले आफ्नो नेतृत्वमा मञ्चलाई अझै जुझारु, व्यवस्थित र अगुवा संस्थाका रुपमा कतारका नेपाली माझ स्थापित गराउने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
२०४८ सालमा खोटाङबाट एमालेको संगठित कार्यकर्ता बनेका पोखरेल अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि नै राजनीतिमा लाग्नुभएको थियो । १६ बर्षदेखि दोहामा रहेका पोखरेललाई मञ्चले गत संविधानसभाको निर्वाचनमा कतारबाट समानुपातिक सभासद्का लागि सिफारिस समेत गरेको थियो ।
आगामी डिसेम्बर १९ तारिख दोहामा हुन लागेको मञ्चको अधिवेशनका लागि चुनावी सरगर्मी सुरु भइसकेको छ । मञ्चका वर्तमान अध्यक्ष दिलकिरण खजुमले आफू नेतृत्व हस्तान्तरणको पक्षमा रहेको बताएकाले पनि सरगर्मी बढेको हो ।
मञ्चलाई एकढिक्का रुपमा अगाडि बढाउन अहिलेदेखि नै सर्वसम्मतिका लागि वातावरण सिर्जना गर्दै आएको अध्यक्ष खजुमले बताउनुभएको छ ।














प्रतिक्रिया