काठमाडौं, ८ असोज । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवालाई चुनावपछि बन्ने सरकारको प्रधानमन्त्रीमा उम्मेदवार घोषणा गरी मतदातासमक्ष मत माग्न जाने स्पष्ट पारेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कारमा बोल्दै मन्त्री यादवले भने, ‘हामी अबको चुनावमा आम मतदातासमक्ष पार्टी सभापति शेरबहादुर देउवालाई नै अघि सारेर मत माँग्न जान्छौं, अब फेरि पनि उहाँ नै प्रधानमन्त्रीको उम्मेद्धवार हो, पार्टीभित्र यसबारेमा एकमत छ ।’
‘पार्टी सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेर मतदातासमक्ष जानुपर्छ, राष्ट्रिय स्वाधीनता, समृद्धि, लोकतान्त्रिक आचरण र सुशासनको विषयमा पार्टीले अगाडि सारेका मान्यतालाई अनुमोदन गराउनुपर्छ,’ उनले अगाडि भने ।
यादवले यही असोज २ गते भएको प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीले पाएको मत सन्तोषजनक नभएको गुनासो पोखे । उनले भने, ‘अहिले हामीले ४० सिट जितेका छौं, तर जितको सिट संख्या अझै धेरै बढ्न सक्दथ्यो, पार्टीभित्रको आन्तरिक कारण र व्यवस्थापकीय कमजोरीकाकारण हामीले भनेजस्तो परिणाम ल्याउन सकेनौं ।’ उनले आफूहरुले आशा गरेजस्तो परिणाम नआएपनि २ नम्बर प्रदेशमा पहिलो भएकोले सन्तोष गर्नुपर्ने ठाउँ रहेको सुनाए ।
उनले मधेशी जनताले राष्ट्रियता र लोकतन्त्रको पक्षमाआफ्नो मतजाहेर गरेको भन्दै आफूहरु यो रिजल्टबाट त्यति धेरै असन्तोष भने नरहेको जिकिर गरे । उनले थपे, ‘आदरणीय पार्टी सभापति शेरबहादुर देउवामुलुकको प्रधानमन्त्री हुनुहुन्छ, उहाँले लोकतन्त्र र संविधान कार्यान्वयनको लागि अहम् भूमिका निर्वाह गर्नुभएको छ ।’












प्रतिक्रिया